फिफामा स्वतन्त्र निकाय गठन गर्न आवश्यक : अली हुसेन

aliजुरिच, २६ साउन । जोर्डनका राजकुमार अली हुसेन यसअघि भएको फिफको अध्यक्ष पदका लागि निवर्तमान फिफा अध्यक्ष सेप ब्लाटरका निकट प्रतिद्वन्द्वी थिए । एसिया र अफ्रिकाको साथ नपाएपछि उनी ब्लाटरसँग सहजै पराजित भएका थिए । ब्लाटरले पनि फिफामा भएको भ्रष्टाचार चरम रूपमा बाहिर आउन थालेपछि पाँच दिनमा नै राजीनामा दिएका थिए ।
जसका कारण फिफामा रहेको अध्यक्ष पदका लागि फेरि निर्वाचन हुँदै छ । आगामी फेब्रुअरी २६ मा फिफाको नयाँ नेतृत्व चयनका लागि चुनाव हुँदै छ । ब्लाटरको राजीनामा आए पनि फिफामा बेलाबेलामा टीकाटिप्पणी गर्नेको भने कमी छैन । तथापि यसपल्ट भने अरूले मात्र नभई अध्यक्ष पदकै प्रत्यासी अलीले नै अभिव्यक्ति दिए ।
विश्व फुटबल महासंघ (फिफा)को अध्यक्ष पदका उम्मेदवार जोर्डनका राजकुमार अली हुसेनले फिफामा सुधारका लागि स्वतन्त्र निकाय गठन गर्न माग गरेका छन् । एएफपीसँग कुरा गर्दै राजकुमार अलीले सेप ब्लाटरको पूर्णवहिर्गमन र स्वतन्त्र छानबिन निकाय गठन नभएसम्म फिफामा सुधार हुनै नसक्ने जिकिर गरे । उनले यसका लागि राम्रो निकाय नै लाग्नुपर्ने बताए । आर्थिक अनियमितता, सम्पत्ति शुद्धीकरण एवं अपारदर्शी निर्णय प्रक्रियाका कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफा अहिले इतिहासकै सबैभन्दा आलोचित अवस्थामा छ ।
अलिको यो भनाइले उनी आफैँ पनि फिफाको अध्यक्ष पदमा सशंकित भएको विभिन्न व्यक्तिको बुझाइ छ । ब्लाटरले पद त्याग गरेर नयाँ नेतृत्व चयन गर्ने घोषणा गरेसँगै उनका समकक्षी भने अझै पनि सशंकित छन् । ब्लाटरले आगामी चुनाव नभएसम्म आफू अध्यक्ष पदमा नै बसेर काम गर्ने बताइरहेका छन् । तैपनि चुनाव हुनुअघि नै ब्लाटर पूर्णरूपमा फिफाबाट हट्नुपर्ने अध्यक्षका दाबेदारको माग छ ।
यसअघि पनि ब्लाटरविरुद्ध फिफाको अध्यक्षका प्रत्यासी राजकुमार अली हुसेनसँग आगामी चुनावमा युरोपेली फुटबल महासंघ (युएफा)का अध्यक्ष मिचेल प्लाटिनी पनि उम्मेदवार छन् । प्लाटिनीलाई सबैले चुनाव जित्नसक्ने अनुमान गरिरहेका छन् ।

प्रतिक्रिया