किक बक्सिङमा नेपालको निरन्तर सफलता

kick bixingकाठमाडौं, २५ साउन । स्थापना भएको केही समयमै उत्कृष्ट प्रदर्शन गरेको नेपाली किक बक्सिङले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । यसैक्रममा भारतमा सम्पन्न वाको एसियाली किक बक्सिङ च्याम्पियनसिपमा नेपालले चार स्वर्ण, पाँच रजत र नौ कांस्यसहित १८ पदक जितेको छ ।
पुनेमा ३१ जुलाईदेखि ९ अगस्टसम्म भएको उक्त च्याम्पियनसिपमा सन्तोष खड्का, विन्दा नेपाली, रिजन थापा मगर र आरती तामाङले नेपाललाई स्वर्ण दिलाए । विन्दाले थप दुई रजत, रिजनले थप एक रजत र कांस्य तथा आरती र सन्तोषले थप १–१ कांस्य पनि प्राप्त गरेको नेपाल किक बक्सिङ संघले जनाएको छ । रजत जित्ने अन्य खेलाडीमा रुद्रबहादुर लिम्बू र प्रकाश विष्ट रहे । रजत विजेता रुद्रले थप एक कांस्य पनि जिते ।
त्यस्तै कांस्य जित्ने अन्य खेलाडीमा विवस दवाडी (दोहोरो), विलबहादुर तामाङ, रामकृष्ण राउत र विवेक लामा रहेका छन् ।
टिम व्यवस्थापकमा सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ र प्रशिक्षकमा दीपक श्रेष्ठ रहेका थिए । प्रशिक्षक श्रेष्ठका अनुसार एक खेलाडीले चार स्पर्धामा सहभागिता जनाउन पाउने प्रावधान रहेको थियो ।
यो प्रतियोगितासँगै नेपाली टोली उत्साहित भएको र यसले थप दिनमा महत्वपूर्ण उपलब्ध प्राप्त गर्ने विश्वास रहेको संघ महासचिव दीपक श्रेष्ठको छ । नेपालमा सक्रिय रहेको छोटो समयमा नै किक बक्सिङले रुसमा भएको विश्व च्याम्पियनसिपमा समेत पदक जितेको थियो । च्याम्पियनसिपका दौरान भएको रेफ्री सेमिनारमा राजन भुजेल, रमेश नेपाली, तेजबहादुर बस्नेत, राजुसिंह बजोकी र कृष्णज्याकीले भाग लिएका थिए । टोली सोमबार स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा ३२ राष्ट्रको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया