माल्दिभ्सविरुद्व नेपालको सानदार जित

nepalसिलिएट, २५ साउन । बंगलादेशमा जारी तेस्रो साफ यु–१६ फुटबल प्रतियोगितामा नेपाली यु–१६ टोलीले विजयी सुरूआत गरेको छ । सिलएटस्थित जिल्ला स्टेडियममा भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ५–० ले पराजित गर्दै प्रतियोगितामा सानदार सुरूआत गरेको हो । नेपालको जितमा प्रिजन तामाङ र सुमन अर्यालले समान दुई–दुई तथा लक्ष्मण परियारले एक गोल गरे ।
खेलको सुरूआतबाट नै आक्रामक रणनीति अपनाएको नेपालले सुरूआतबाट नै माल्दिभ्सको पोस्टमा आक्रमण बुनेको थियो । अभिषेक रिजालको कर्नर बलमा माल्दिभ्सका गोलरक्षकले बललाई नियन्त्रणमा लिन नसकेको अवस्थामा लक्ष्मण परियारले वान टच गोल गर्दै नेपाललाई अग्रता दिलाए । अभिषेक रिजालको ब्याक पासमा प्रिजन तामाङले गोल गर्दै नेपालको अग्रता दोब्बर पा¥यो ।
सुमन अर्यालले गोल गर्दै अग्रता तेब्बर पा¥यो । क्षितिज राज जिटीको पासमा उनले सहज गोल गर्दा नेपालले पहिलो हाफमा नै ३–० को अग्रता बनायो । पहिलो हाफमा तीन गोल गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल ग¥यो । प्रिजन तामाङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । खेलको अन्तिम समयमा सुमन अर्यालले अभिषेक रिजालको कर्नर बलमा हेड गोल गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।
माल्दिभ्सले कुनै पनि समय नेपालको पोस्टमा आक्रमण बुन्न सकेन । खेलपछि नेपाली टोलीका प्रशिक्षक उपेन्द्रमान सिंहले माल्दिभ्सविरूद्व नेपाली टोलीले उत्कृष्ट खेलेको बताए । ‘सुरूबाट नै आक्रामक रणनीतिमा उत्रँदा माल्दिभ्सविरूद्व खेल्न सजिलो भयो ।’
प्रशिक्षक सिंहले भने, ‘माल्दिभ्सविरुद्ध अनपेक्षित नतिजा निकाल्न सक्यौँ । हामीले दुई÷एकको नतिजा सोचेका थियौँ । दोस्रो खेलमा बलियो अफगानिस्तानविरूद्व पनि उत्कृष्ट खेल्नेछाँै ।’ माल्दिभ्सका प्रशिक्षक मोहम्मद सहिदले नेपाली टोलीले उत्कृष्ट खेलेकोमा बधाइसमेत दिए । नेपाल उपाधिको दाबेदार र शारीरिकरुपमा पनि बलियो रहेकाले हाम्रो टोलीले नेपालविरुद्ध खुलेर खेल्न नसकेको सहिदले बताए । अब नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार अफगानिस्तानसँग खेल्दै छ ।
प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता छ । पाकिस्तान र भुटानले प्रतियोगितामा सहभागिता जनाएका छैनन् । यस्तै समूह ‘ए’ मा आयोजक बंगलादेश, डिफेन्डिङ च्याम्पियन भारत र श्रीलंका रहेका छन् । प्रतियोगिताको सधैँको दाबेदार नेपाली यु–१६ टोली सन् २०११ मा तेस्रो तथा सन् २०१३ मा दोस्रो भएको थियो । अन्य प्रतियोगिताको तुलनामा यु–१६ स्पर्धामा नेपाली फुटबल उत्कृष्ट रहँदै आएको छ ।

नेपाल सजिलो समूहमा

आगामी भदौमा काठमाडौंमा हुने पहिलो यु–१९ साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रूपमा सजिलो समूहमा परेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले सातदोबाटोस्थित एन्फा कम्पेल्क्समा सोमबार सार्वजनिक गरेको च्याम्पियनसिपको ‘ड्र’ मा नेपाल सजिलो मानिएको समूह ‘ए’ मा परेको हो ।
आयोजक नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र भुटान परेको छ । त्यस्तै समूह ‘बी’ मा डिफेन्डिङ च्याम्पियन भारतसँगै माल्दिभ्स र अफगानिस्तान परेको छ । प्रतियोगितामा पाकिस्तान र श्रीलंकाले सहभागिता जनाएका छैनन् । आगामी ३ भदौबाट सुरू हुने च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहेको छ ।
एन्फाले एसियाली फुटबल महासंघ (एएफसी)को वरीयताक्रमका आधारमा बंगलादेश, भारत, माल्दिभ्स र नेपाललाई पोट ‘ए’ तथा अफगानिस्तान र भुटानलाई पोट ‘बी’ मा राख्दै च्याम्पियनसिपको ‘ड्र’ निकालेको थियो । च्याम्पियनसिपको ड्र पूर्वराष्ट्रिय टिमका कप्तानद्वय राजुकाजी शाक्य र हरि खड्काले गरेका थिए । सोमबार सार्वजनिक गरिएको ‘ड्र’ मा एएफसीको पदाधिकारी तथा सहभागी टिमका प्रतिनिधि भने उपस्थित भएनन् । च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक कार्यक्रममा आफ्नै खर्चमा आउनुपर्ने भएकोले सहभागी टिमका प्रतिनिधि आउन नसकिने जानकारी आएको एन्फाले बताएको छ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक नेपालले ३ भदौमा भुटानसँग खेल्नेछ । त्यस्तै नेपालले आफ्नो ७ भदौमा बंगलादेशको सामना गर्नेछ । भदौ १० गते फाइनल हुने च्याम्पियनसिप लिगकम नकआउटका आधारमा हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछ । फाइनल प्रवेशका लागि समूहको विजेता टोलीले अर्को समूहको उपविजेता टोलीसँग खेल्नेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा रहेको मैदानमा भौतिक पूर्वाधार निर्माणको कार्य भइरहेकाले प्रतियोगिता हुने समयसम्म निर्माण सम्पन्न भए सातदोबाटोमा नै प्रतियोगिताका सबै खेल सञ्चालन गरिने एन्फाले जनाएको छ । प्रतियोगिताकै लागि एन्फाले अहिले एन्फा कम्प्लेक्स सातदोबाटोमा रहेको आर्टिफिसियल मैदानलाई मर्मतसंहार कार्यलाई तीव्रता दिएको छ । यदि, पूर्वाधार निर्माण कार्य नसकिएमा प्रतियोगिताका सबै खेल लगनखेलमा रहेको नेपाल आर्मीको खेल मैदानमा गराउने एन्फाले बताएको छ । एन्फाले च्याम्पियनसिपमा सहभागी टोली बस्ने होटल तथा अभ्यासका लागि मैदानसमेत तयार गरेको जनाएको छ । एन्फाले दुई टिम गोदावरीस्थित भ्यू गोदावरी होटलमा र अन्य चार टिम ठमेलको मनाङ होटलमा बस्ने व्यवस्था गरिएको एन्फाले बताएको छ ।
नेपाली टिमलाई मुख्यप्रशिक्षक बालगोपाल महर्जनले प्रशिक्षण दिँदै आएका छन् । च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक कार्यक्रमम पछि बोल्दै नेपाली यु–१९ टिमका मुख्यप्रशिक्षक महर्जनले आफ्नो टोलीले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने बताए । ‘नेपाल सधैँको जहिले दाबेदार टिम हो । हामीले राम्रो अभ्यास गरेका छौँ । प्रशिक्षक महर्जनले भने, ‘हाम्रो योजना फाइनल यात्रा तय गर्नु नै हो ।’ साथै उनले नेपाली टिमको प्रशिक्षणमा भूकम्प तथा एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको असमायिक निधनले केही समय असर गरे पनि टोली पूर्ण फिट रहेको बताए ।

प्रतिक्रिया