विश्व–११ सँग नेपाल पराजित

bat for nepalक्वालालम्पुर, २४ साउन । भूकम्पपीडितको सहयोगका लागि ‘ब्याट फर नेपाल’ च्यारिटी खेलमा नेपाल पराजित भएको छ ।
मलेसियाको किन्नरा ओभलमा आइतबार भएको खेलमा नेपाल विश्व–११ सँग नेपाल ३७ रनले पराजित भएको हो । विश्व–११ ले दिएको १३६ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव दुई ओभरमा अलआउट हुँदै ९८ रन मात्र जोड्न सक्यो ।
नेपालका अनिल मण्डल र राजु रिजालले समान १७ रन जोडे । यस्तै नरेश बुढाएर र सिद्वान्त लोहनीले समान १३ रन जोड्दै पभेलियन फर्किए । शरद भेषवाकर र महबुब आलमले पनि समान ११ रन जोड्दै आउट हुँदा अन्य चार ब्याट्सम्यानले दोहोरो अंकको रनको योगफल छुन सकेनन् । कप्तान पारस खड्का दुई रनमा तथा राजेश पुलामी मगर शून्य रनमा आउट भए । नेपाललाई सस्तैमा समेट्ने क्रममा विश्व–११ का सुरेश नभारत्नले तीन विकेट लिए । यस्तै अब्दुर रज्जाक र सनथ जयसूर्याले समान दुई–दुई विकेट लिए ।
यसअघि किन्नरा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विश्व ११ ले १९ दशमलव चार ओभरमा अलआउट हुँदै १३५ रनको मध्यम योगफल तयार पारेको थियो । विश्व–११ का लागि मार्कस स्टोइनसले सर्वाधिक ४८ रन जोड्दै आउट भए । वेणुगोपाल रावले २३ रनमा तथा अहमद पैmजले १८ रनमा पभेलियन फर्किए । अब्दुर रज्जाकले १६ रनमा आउट भए ।
नेपालका अभिनाश कर्ण, सिद्धान्त लोहनी, राजेश पुलामी मगर र शरद भेषवाकरले समान दुई–दुई विकेट लिए । नेपाली टोली पारस खड्काको कप्तानीमा तथा विश्व–११ श्रीलंकाका चर्चित लेजेन्ड खेलाडी सनथ जयसूर्याको कप्तानीमा मैदानमा उत्रिएका थिए ।
‘ब्याट फर नेपाल’ अभियानबाट उठेको ७० प्रतिशत रकम भूकम्पपीडितका लागि तथा ३० प्रतिशत रकम नेपाली क्रिकेटकै विकासमा खर्च गरिने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

प्रतिक्रिया