काठमाडौं, २१ साउन । नेपाल ओलम्पिक कमिटी (एनओसी)को बिहीबार हुने भनिएको निर्वाचन प्रक्रिया नपुगेको भन्दै एक महिनाभित्र गर्ने गरी सरेको छ । एनओसीले अर्काे निर्वाचनको मिति भने सार्वजनिक गरेको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले आफ्नो संघलाई २१ दिनअगावै सूचना प्राप्त नभएका कारण चुनाव अवैध हुने जिकिर गर्दै स्थगनको माग गरेपछि साधारणसभा स्थगन भएको हो । एसियाली ओलम्पिक काउन्सिल (ओसिए)का प्रतिनिधि हैदर फरमानले समेत थापाको कुरामा साथ दिएपछि यो निर्णय भएको हो ।
बिहीबार एनओसीले चुनावी साधारणसभा गरेर नयाँ नेतृत्व चुन्ने अन्तिम तयारी गरे ओलम्पिक भवन सातदोबाटोको वातावरण नै फरक भएको थियो । बिहानै ओलम्पिक भवनमा प्रहरी तैनाथ थिए । एनओसी अधिकारीको लामो प्रयासपछि तैनाथ प्रहरी हट्दै साधारणसभा
सुरु भएको थियो ।
ओलम्पिक कमिटीमा आबद्ध २६ ओटा खेलकुद संघमध्ये अखिल नेपाल फुटबल संघ (एन्फा)ले विधानमा व्यवस्था गरेअनुसार साधरणसभा हुनेबारे आफूलाई जानकारी नगराइएको बताएपछि निर्वाचन स्थगित गरिएको ओलम्पिक कमिटीका महासचिव तथा अध्यक्षका प्रत्यासी जीवनराम श्रेष्ठले पत्रकार सम्मेलनमाजानकारी गराए ।
पुनरावेदन अदालत पाटनले निर्वाचन रोक्न दिएको आदेशबारे साधारणसभामा कुरा उठे पनि यसले निर्वाचन प्रभावित नपारेको ओलम्पिक कमिटीले स्पष्ट पारेको छ । यसले निर्वाचन स्थगनमा असर नगरे पनि प्रहरी तैनाथका कारण अदालतको स्टे अर्डरका बाबजुद हुन आटेको निर्वाचन नै भएको धेरैको अनुमान छ । महासचिव श्रेष्ठले भने, ‘बिहान एनओसीभित्र प्रवेश गर्न खोज्दा प्रहरी जवानले भित्र छिर्ने आदेश छैन भन्यो चुनावी सभामा छिर्न पाइएन ।’ महासचिव श्रेष्ठले भने, ‘कसले यहाँ तैनाथ गरायो भनेर सोध्दा माथिको आदेश भन्ने आयो ।’ जिम्मेवार निकायहरूमा पनि सोध्दा कसले तैनाथ गरायो भनेर आधिकारिक जवाफ पाउन सकिएन ।’ श्रेष्ठले साढे दुर्इृ घण्टापछि मात्रै एनओसी छिर्न सकिएको र यसरी विनाजानकारी प्रहरी तैनाथ गरिनु नेपाल सरकारको गैरजिम्मेवारपन रहेको र यसले आफूलाई दुःखी तुल्याएको पत्रकार सम्मेलनमार्फत जानकारी गराए । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले विश्वका सबै राष्ट्रको सरकार एवं न्याय प्रणालीलाई सम्मान गर्ने बताउँदै राष्ट्रिय ओलम्पिक कमिटीमा हुने राजनीतिक वा अन्य हस्तक्षेप भने सैह्य नहुने पनि बताए ।
मिलेरै प्रक्रियामा जाने भएकाले बहुमत र अल्पमतमा नगएको पनि महासचिव श्रेष्ठले स्पष्ट पारे । ‘बहुमतीय प्रक्रियामा गएको भए आजै (बिहिबार) निर्वाचन हुने थियो । एक संघ (एन्फा) मात्रै निर्वाचनमा आउन सकेको थिएन । अरु २५ संघ निर्वाचनका लागि तयार थियो ।’ श्रेष्ठले भने, ‘विधानबमोजिम जाँदा एनओसीको निर्वाचनमा यसअघि नियमित सहभागिता जनाइरहेको एन्फा छुट्ने भएकाले हामीले एन्फालाई समय दियौँ ।’
यस्तै श्रेष्ठले भलिबलमा आफ्नो आन्तरिक कारणले नै विवाद सिर्जना भएको बताए । भलिबलको प्रतिनिधित्व गर्दै साधारणसभाका सदस्य भएका गंगा थापा संघको स्वीकृतिमा नभएको दाबी संघ अध्यक्ष दानबहादुर तामाङको छ ।
अध्यक्ष तामाङ पनि निर्वाचनका लागि प्रतिनिधि पठाउन तयार भएको जनाइएको छ । एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधानले राष्ट्रिय मान्यता प्राप्त एनओसीसँगको सहमतिमा नै निर्वाचन प्रक्रिया अघि बढेको जानकारी गराए ।
यसअघि, साधारणसभाको उद्घाटन सत्रमा बोल्दै ओलम्पिक काउन्सिल अफ एसियाका प्रतिनिधि हैदर फरम्यानले राष्ट्रिय ओलम्पिक कमिटीको विषयमा सबैभन्दा शक्तिशाली निकाय साधारणसभा भएकाले उसैको निर्णय सर्वमान्य हुने भएकाले मिलेरै अघि बढ्न आग्रह गरे ।
बुधबारमात्रै पुनरावेदन अदालत पाटनले पनि ओलम्पिक कमिटिविरुद्ध परेको उजुरीमा अन्तरिम आदेश पनि जारी गरेको थियो । कराते संघ, कुस्ती संघ ¥याफ्टिङ एन्ड क्यानोनिङ संघले दायर गरेको रिटमा पुनरावेदन अदालत पाटनले तीनवटै संघका प्रतिनिधि समावेश गरेर मात्र निर्वाचन गर्न ओलम्पिक कमिटीलाई आदेश दिएको थियो । अदालतले निर्वाचनमा तीनवटा संघलाई समावेश नगराउनुको कारण १५ दिनभित्र पेस्न कमिटीका नाममा बुधबार आदेश दिएको थियो । ओलम्पिक कमिटीले भने तीनवटै संघ आफ्नो सदस्य नरहेको जिकिर गर्दै आएको छ ।
एनओसीमा २६ संघले निर्वाचनमा मतदान गर्न पाउने प्रावधान छ । बिहीबार चुनावी साधारण सभा स्थगनका लागि ठूलो शक्ति सक्रिय रहेको थियो । ओलम्पक कमिटी सदस्य पुरेन्द्र विक्रम लाखेको नेतृत्वमा रहेको कराते महासंघ तत्कालीन राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव युवराज लामाबाट विघटन भएपछि दाबा गुरुङ अध्यक्ष भएका थिए । गुरुङ सहित ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष मनबहादुर न्यौपाने र केही दिन अघि परिषद्बाटै गराइएको निर्वाचनबाट निर्वाचित कुस्ती संघका अध्यक्ष नारायणदेव राणाले पुनरावेदन अदालतमा निर्वाचन रोक्न रिट दायर गरेको थियो ।
बिहीबारको साधारणसभामा अध्यक्षमा जीवनराम श्रेष्ठबाहेक कसैको दाबेदारी थिएन भने महासचिवमा तेक्वान्दोका दीपराज गुरुङ, बास्केटबलका लामा टेन्डी शेर्पा, हक्कीका उमेशलाल श्रेष्ठ र साइक्लिङका छिम्मी उर्केन गुरुङको दाबेदारी थियो । तथापि अन्त्यमा गुरुङबाहेक अन्य तीन जनाबीच प्रतिस्पर्धाको तयारी भएको थियो । यसैगरी, सहसचिवमा बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठ र टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द वैद्यबीच चुनाव हुने सम्भवना प्रबल रहेको थियो ।
प्रतिक्रिया