पुने, २० साउन । भारतको पुनेमा जारी वाको एसियन किक बक्सिङ च्याम्पियनसिप २०१५ मा मंगलबार राती नेपालकी रिजन थापा मगरले रजत पदक हात पारिन् । उनले ६० केजी तौल समूहमा लाइट किक विधाअन्तर्गत रजतपदक जितेकी हुन् । मगंलबार राती भएको फाइनल खेलमा भने रिजन भारतकी योगिता खाडेसँग १०–६ ले पराजित भइन् ।
सन् २०१७ मा पेरुमा हुने विश्व किक बक्सिङ च्याम्पियनसिपको छनोट चरणसमेत रहेको प्रतियोगिताको अन्य विधाको विभिन्न तौल समूहका स्पर्धा भने नेपालका लागि निरस बन्यो । । पुरुषको स्कोर फाइटिङअन्तर्गत ५७ केजी तौल समूहमा नेपालका विवेक लामा कोरियाका किम जिउङ्गोसँग ४–१० स्कोर र ६३ केजी तौल समूहमा खगेन्द्र पुन मगर कोरियाका किम जुन सियोङसग ६–१० ले पराजित भए ।
लामा र मगरले उत्कृष्ट खेल प्रदर्शन गरेता पनि त्यसलाई निरन्तरता दिन नसकेका कारण पराजित हुन पुगे । नेपालको किक बक्सिङ टोलीले पहिलोपटक स्कोर फाइटिङमा प्रतिस्पर्धा गरेको हो ।
त्यस्तै रिङ फाइटिङतर्पm ५१ केजी तौल समूहमा नेपालका प्रकाश विष्ट तुर्केमिनिस्तानका हुदय गुलकोमेकोभसँग २–० ले पराजित भए । विष्टले नेपालभन्दा शारीरिक रूपमा बलियो प्रतिद्वन्द्वी तुर्केमिनिस्तानका विरुद्ध उत्कृष्ट खेल प्रस्तुत गरेका थिए ।
उनी खेलमा चार माइनस पोइन्ट पाएपछि पराजय हुन पुगेका थिए । ढिलो गरेका कारण उनलाई रिङमा फाइट सुरु हुनुअघि नै कोरियाका निर्णायकले एक माइनस प्वाइन्ट दिएका थिए ।
नेपालले एसियन किक बक्सिङमा अब नौ खेलमा प्रतिस्पर्धा गर्न बाँकी रहेको प्रशिक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनले खेलमा पराजित भए पनि पहिलोपटक सहभागी भएकाले खेलाडीको प्रदर्शनमा सन्तुष्ट रहेको बताए । पूर्व सशस्त्र प्रहरी आइजिपी एवं अफिसियल शैलेन्द्रकुमार श्रेष्ठले बाँकी खेलमा राम्रो रणनीतिका साथ अघि बढ्ने जानकारी दिए ।
नेपाली किक बक्सिङ टोलिका विलबहादुर तामाङले (५४केजी), सन्तोष खड्काले (७५ केजी) र रुद्र लिम्बूले (८१ केजी) तौल समूहमा खेल्नेछन् । सेमीतर्पm भने रामकृष्ण राउत ६५ केजी र विवस दवाडी ७१ केजीमा प्रतिस्पर्धा गर्नेछन् ।
महिला खेलाडीतर्पm भने बिन्दा नेपालीले ४८ केजी र आरती तामाङले ५१ केजीमा प्रतिस्पर्धा गर्दैछन् । पदक विजेता रिजन थापा मगरले ५४ केजी तौल समूहमा एक खेल खेल्न बाँकी छ ।
त्यस्तैगरी, प्रतियोगिताको दौरान नेपालका पाँच निर्णायकले एसियाली किक बक्सिङ रेफ्री सेमिनारमा पहिलोपटक सहभागिता जनाए । उनीहरूलाई विश्व किक बक्सिङ महासंघका उपाध्यक्ष एवं एसियाली किक बक्सिङ महासंघ अध्यक्ष नासर नेसरीले तालिम दिए ।
निर्णायकले एसियन किक बक्सिङ च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । नेपाली रेफ्रीमा राजन भुजेल, तेजबहादुर बस्नेत, राजु सिंह बाजिकों, रमेश नेपाली र कृष्ण रामजाकी छन् । सन् २०१७ मा पेरुमा हुने विश्वच्याम्पियनसिपको छनोट चरणसमेत रहेको यस प्रतियोगितामा ३२ राष्ट्रले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया