जसले त्यागे सम्झना उसैको

bridha copyएक वृद्धा कुर्सीमा बसेर टोलाइरहेकी थिइन् । अर्की खाना खाने तयारीमा थिइने, अन्य वृद्धाहरू कोही नुहाउँदै थिए भने कोही आफ्नै सुरमा बोलिरहेका थिए । विद्यार्थीहरूको एक हुल वृद्धाहरूको सेवामा खटिँदै कपडा फेराइदिँदैै थिए । कोही भजन कीर्तन गाउँदै थिए भने केही भुइँमा सुतेर पीडामा कराउँदै थिए । अलि सक्ने वृद्धाहरू आफ्ना अशक्त साथीहरूकोे सेवा गर्दै थिए । उनीहरू बाहिरबाट आएका आगन्तुकसँग हसिलो मुद्रामा कुरा पनि गर्दै थिए ।
पशुपति वृद्धाश्रमका वृद्धवृद्धाको दैनिकी यसरी नै चलेको छ । उनीहरू एकले अर्काको सेवा सुसार गर्छन् र जीवनका अन्तिम दिनहरू कटाउँदै छन् । यहाँ आफन्त नहुनेमात्र होइन, घरानिया परिवारका वृद्धवृद्धाले पनि आश्रय लिएको पाइन्छ ।
दोलखा घर भएकी ८२ वर्षीया सन्तकुमारी उप्रेती विगत सात वर्षदेखि वृद्धाश्रममा बस्दै आएको बताउँछिन् । १३ वर्षको कलिलो उमेरमा बिहे गरेर पनि सन्तान नभएकी सन्तकुमारी भन्छिन्, ‘उमेर छँदा सबै प्यारो, नसक्ने भएपछि आफन्तले बोझ सम्झेर वृद्धाश्रममा पठाए ।’ काठमाडौंमा दिदीको छोरासँग बसेकी सन्तकुमारी बुढो भएपछि परिवारले बोझ मान्न थालेकाले आश्रम एकमात्र साहरा बनेको बताउँछिन् । सुरुमा घरपरिवारको सम्झनाले सताउने गरे पनि अहिले यतै रमाइलो लाग्ने गरेको बताउँदै सन्तकुमारी अहिले कसैसँग केही गुनासो नरहेको बताउँछिन् ।
विगत दुई वर्षदेखि सोही आश्रममा बस्दै आएकी काभ्रेकी ७५ वर्षीया चित्रकुमारी अधिकारी छोराबुहारीले हेला गरेपछि आश्रममा आश्रय लिन आएको र यतिका दिन बित्दासमेत छोराछोरी भेट्न नआएको दुःखेसो सुनाउँछिन् । जति बुढ्यौली लाग्दै जान्छ उति छोराछोरीको माया लाग्ने र चाडबाडको समयमा त झनै धेरै घरपरिवार छोराछोरीको सम्झनाले सताउने गरेको बताउँछिन् । ‘तर के गर्नु, उनीहरूले बोझ ठाने पनि र हेला गरे पनि सानामा गुहुमुत गरेको र दशधारा दूध चुसाएको बिर्सन नसकिँदो रहेछ,’ रसिला आँखा पार्दै भद्रकुमारीले भनिन् ।
नुवाकोटकी ९० वर्षीया रुक्मिणी थापाको श्रवण शक्ति कमजोर छ । हातखुट्टा पनि राम्रो चल्दैनन् । उनलाई हिँड्डुल गर्न पनि अर्काको साहरा चाहिन्छ । दुई सन्तानकी आमा बताउने उनलाई आश्रममा आएको समयसमेत सम्झना छैन । तर, नातिले ल्याएर छोडेको सम्झना भने ताजै छ । छोराछोरी कुरा गर्दा परेला निथ्रुक्कै भएर गालासम्म आँसु चुहिएको होस् पाउँदिनन् । उनी भन्छिन्, ‘कोही भेट्न आएका छैनन्, मरे बाँचेको थाहा पनि छैन ।’
बानेश्वर घर बताउने ८३ वर्षीया लक्ष्मीदेवी थापा बिहानको खाना खाँदै थिइन् । अविवाहित रहेकी लक्ष्मी काम गर्न सक्ने समयसम्म आफ्नै मिहिनेतले जीवन चलाएको र बुसढेसकाल लागेपछि आफन्त कोही नभएकाले आश्रमको साहार लिएको बताउँछिन् । उनी बेला–बेलामा विभिन्न संघसंस्था खानेकुरा, लत्ताकपडालगायतका सामान लिएर भेट्न आउँदा खुसी लाग्ने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘बत्ती कातेर र भजन कीर्तन गरेर दिन बितेको छ । बाँकी जीवन आश्रममै यसरी नै त बित्छ होला ।’
यो वृद्धाश्रममा दुई सय २५ जना वृद्धवृद्धाले आश्रय लिएका छन् । उनीहरू आपसमै दुःखसुख साटासाट गर्ने, सेवासुसार आदानप्रदान गर्ने र चाडपर्वमा पनि आपसमै खुसी साट्ने गरेका सो आश्रमका लेखापाल श्रीबिन्द खनालले बताए ।

प्रतिक्रिया