बार्सिलोनाको लगातार दोस्रो हार

मेरिल्यान्ड, १४ साउन । सत्रको तीन उपाधि विजेता स्पेनिस बार्सिलोना प्रि–सिजनको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपको मैत्रीपूर्ण खेलमा लगातार दोस्रो हार बेहोरेको छ ।

बुधबार बिहान अमेरिकाको मेरिल्यान्ड सहरमा भएको खेलमा प्रिमियर लिग च्याम्पियन चेल्सीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएसँगै बार्सिलोनाले लगातार दोस्रो हार बेहोरेको हो । बार्सिलोना यसअघि अर्काे प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग ३–१ ले पराजित भएको थियो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा बार्सिलोनाका दुई खेलाडीको प्रहार बाहिरिएपछि चेल्सीले लगातार दोस्रो जित निकाल्न सक्यो । चेल्सीका राडामेल फल्काओ, भिक्टर मोसेस र रामिरेस लोइक रेमीले विजयी गोल गरे । बार्सिलोनाका आन्द्रेस इनिस्टा, सान्द्रो रामिरेजले मात्र गोल गर्न सके । हालिलोभिकको प्रहार क्रसबारमा लागेर फर्कियो भने जेरार्ड पिकेको प्रहार गोलरक्षक थिवाउट कोर्टियसले
बचाएका थिए ।
आफ्नो मुख्य खेलाडी लियोनेल मेसी र नेयमारविना मैदान उत्रिएको बार्सिलोना १०औँ मिनेटमा नै पछि परेको थियो । चेल्सीका लागि बेल्जियन मिडफिल्डर इडेन हाजार्डले दुई डिफेन्डरलाई छलाउँदै उत्कृष्ट गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफमै चेल्सीको अग्रता दोब्बर बनाउने मौका गुमायो । ओस्कारको सशक्त प्रहार क्रसबारमा लागेर फर्कदा चेल्सीले अग्रता दोब्बर बनाउन सकेन । ३१औँ मिनेटमा लुइस सुवारेजको प्रहार चेल्सीका गोलरक्षक थिवाउट कोर्टियस मुस्किलले बचाउँदै बराबरी टारेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको चेल्सीले दोस्रो हाफमा त्यो अग्रतालाई जोगाउन सकेन । ५२औँ मिनेटमा लुइस सुवारेजले गोल गर्दे बार्सिलोनालाई खेलमा फर्काएको थियो ।
६६औँ मिनेटमा २० वर्षीय स्ट्राइकर सान्द्रो रामिरेजले गोल गर्दै बार्सिलोनालाई जिततर्पm अग्रसर गराएको थियो । तर, बार्सिलोना अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा निर्धारित समयमा जित हात पार्नबाट चुक्यो । ८५औँ मिनेटमा ग्यारी काहिलको उत्कृष्ट हेड गोल भएपछि खेल दुई–दुई गोलको बराबरीमा पुगेको थियो । गोल गरेको खुसीयाली मनाउने क्रममा काहिल घाइते भएका थिए ।

प्रतिक्रिया