पर्यटन क्षेत्रमा व्यावसायिकताको खाँचो

काठमाडौं, १४ साउन । पर्यटन क्षेत्रमा व्यावसायिकताको खाँचो देखिएको छ । व्यावसायिकताको अभाव देखिएपछि पछिल्लोसमय यसको खाँचो बढेको छ ।

पर्यटन व्यवसायीको साझा संगठन सोटो नेपालको आठाँै वार्षिक उत्सवको उपलक्ष्यमा सहभागीहरूले त्यस्तो धारणा राखेका हुन् । कार्यक्रममा अधिकांश वक्ताले पर्यटन व्यवसायलाई वैशाख १२ को अवस्थामा पु¥याउनु चुनौतिपूर्ण रहेको बताए ।
सो अवसरमा उद्योगमन्त्री महेश बस्नेतले बन्द, हडताल, हत्या, हिंसामा ऊर्जा खपत भएको कारण पर्यटन क्षेत्रको व्यावसायिक संस्कृतिमा विकास हुन नसकेको बताए । ‘अहिलेको आवश्यकता डिजिटल नेपाल’ रहेको भनाइ मन्त्री बस्नेतको थियो । उनले सबै गतिबिधिहरू कम्प्युटर प्रणालीमा नलाँदासम्म भष्ट्राचार र अनियमितता नरोकिने दाबी गरे । अदालत र अख्तियार विकास निर्माणमा साधक बन्नुपर्नेमा बाधक रहेको उनको जिकिर थियो ।
सो अवसरमा पर्यटनसचिव सुरेशमान श्रेष्ठले नेपाल जस्तो सुन्दर देश संसारमा कही नरहेको भन्दै यसको बारेमा अरूलाई जानकारी गराउन नसक्नु ठूलो कमजोरी रहेको स्वीकारे ।
पर्यटन व्यवसायी पनि कोकोहोलो नगरी एकबद्ध भएर लाग्नुपर्ने उनको भनाइ थियो । पर्यटन क्षेत्रको विकासका लागि नेपाललाई अन्तर्राष्ट्रिय तहमा ब्रान्डिङ् गर्नुपर्ने बायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए । त्यसका लागि निजी क्षेत्र एक्लैले नसक्ने उनको भनाइ थियो । सरकार नै लागी पर्नुपर्छ । प्रसारप्रसारको लागि वार्षिक ४०÷५० करोड रकम छुट्टाएर काम अगाडि बढाएमा यो संभव हुने उनको दाबी थियो । नेपाल एसियाको महँगो पर्यटकीय गन्तव्यमा परेको भन्दै त्यसलाई सुधार्न हवाइटिकटको मूल्य घट्नुपर्ने, खरिद प्रक्रियामा सहजीकरण हुनुपर्ने र नयाँ विमान खरिद गर्नुपर्ने उनको माग थियो । उनले वायुसेवाको विरोध मात्रै नगरेर रचनात्मक आलोचना गर्न संचारमाध्यमलाई आग्रह गरे ।
पर्यटन व्यवसाय छुट्टै व्यवसाय नभएर धेरै कुराको समष्टि भएको भन्दै प्याकेजमा यसलाई एकसाथ लैजाने परिपाठीको विकास गर्न जरुरी रहेको पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठले जानकारी दिए । अहिले नेपालप्रति सबैको सहानुभूति रहेको छ ।
यसैलाई पुँजीकरण गर्न सकेमा पनि पर्यटन व्यवसाय अगाडि बढ्न सक्ने उनले बताए । भूकम्पले नेपालका चार सय ७१ सम्पदामा क्षति पुगेको छ । सम्पदालाई पुनर्जीवन नदिई पर्यटन व्यवसाय जीवित हुन सक्दैन ।

प्रतिक्रिया