‘चार पार्टीको नाटकमा हामी सहभागी हुँदैनौं’

BICCकाठमाडौं, १३ साउन । संविधानको प्रराम्भीक मस्यौदाप्रति असन्तुष्ट मधेसवादी दलले संविधान सभाको बैठक बहिष्कार गरेका छन् ।

संविधानसभा भवन नयाँ वानेश्वरमा आज बैठक प्रारम्भ हुनासाथ मधेसवादी सभासद्ले आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएपछि संविधासभा अध्यक्ष सुवास नेम्वाङले सदभावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्णलाई बोल्न समय दिएका थिए ।

सभासद् कर्णले संविधानसभामा १६ बुँदेदेखि अहिलेसम्म के भइरहेको छ आफूले नबुझेको बताए । उनले मधेसी महिला, दलितले मस्यौदाका विषयमा विरोध गरिरहेका भन्दै संविधान निर्माणमा केबल चार पार्टीका नेताको नाटक मञ्चन भइरहेको बताए । उनले यस्तो नाटक मञ्चनबाट संविधान नबन्ने बताए ।

सभासद् कर्णले एक/दुई दिनको नागरिक सुझावबाट राज्यको दुई अर्बको ढुकुटी सकेको आरोप लगाए । उनले भने, ‘पर्सा जिल्लाको केही भागमा मैले हेर्दा त्यहाँ जनतालाई प्रवेश गर्न दिइएन । सेना र प्रहरीलाई मात्र राखेर कसरी जनमत सङ्कलन हुन्छ ।’

‘संविधान बनाउने हो भने १६ बुँदे मस्यौदा खारेज हुनुपर्छ, सर्वोच्च अदालतको आदेशलाई मान्नुपर्छ । अन्यथा यो संविधान निर्माण प्रक्रियामा हामीहरूले भाग लिँदैनौं,’ कर्णले भने ।

कर्णले धारणा राखीसकेपछि उनीसहित तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, संघीय समाजवादी फोरम नेपाल र तराई मधेस सभद्भावना पार्टीका १२ सभासद् बैठक कक्षबाट बाहिरिएका थिए । ती चार दलमा ३४ सभासद् छन् ।

प्रतिक्रिया