‘पूर्वाञ्चलको पूर्वाधार आयोजनाका लागि सक्षम’

keshab-bista1काठमाडौं, १३ साउन । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले पूर्वाञ्चलका भौतिक संरचना सातौँ राष्ट्रिय खेलकुदका लागि पर्याप्त भएको बताएका छन् । मंसिर महिनामा हुने राष्ट्रिय खेलकुदको तयारीका लागि केही दिनअघि पूर्वाञ्चल भ्रमण सकेर काठमाडौं फर्केका विष्टले भने, ‘अहिले तत्काल कुनै पनि संरचना तयार गर्न सम्भव छैन । भएको संरचनाका खेल गर्न सकिने अवस्था छ ।’

सदस्यसचिव विष्टले नै जनाएअनुसार राष्ट्रिय खेलकुदमा ३५ देखि ४० खेल समावेश गरिने छ । अहिले विवादमा रहेको तेक्वान्दो र करातेको विवाद अन्त्य हुने विश्वास रहेको उनले बताए । यसअघि पनि उनले एक खेल एक संस्थाको मान्यतामा आफू रहेको बताउँदै आएका छन् । यसैगरी, पाँच विकास क्षेत्रसहित आर्मी, पुलिस र एपिएफको सहभागिता रहने छ भने विश्वविद्यालय टोलीको उपस्थिति कसरी हुने भन्ने पनि स्थान पनि छलफल हुनेछ । स्थानीयस्तरमा सबै खेल निकाय सञ्चालनमा ल्याउन उनले बुधबारसम्म अवधि पूरा भएका जिल्ला र क्षेत्रीय संघ गठन भइसक्ने बताएका छन् । भदौमा जिल्ला छनोट र असोजमा क्षेत्रीय छनोट आयोजना हुने निश्चत भइसकेको छ ।
२०६८ पछि हुन लागेको राष्ट्रिय खेलकुदको तयारी पनि तत्काल सुरु हुने जनाइएको छ । राष्ट्रिय खेलकुदमा अधीक खेल, सुनसरी, मोरङ ,झापा र सप्तरीमा हुनेछन् । अन्य जिल्लामा भने केही खेल हुने छन् । छैटाँ राष्ट्रिय खेलकुदमा केही खेल सुदूरपश्चिमभन्दा बाहेक भए पनि सातौँ राष्ट्रिय खेलकुदमा सम्पूर्ण खेल पूर्वाञ्चलमा नै हुनेछ । कमै ठाउँमा पूर्वाधार रहने गरेको पौडी, सुटिङ, टेनिस र साइक्लिङको आयोजनाको अवसर पनि यसपटक पूर्वाञ्चलले नै पाउने श्रोत जनाउँछ ।

प्रतिक्रिया