आपराधिक गतिविधिमा वृद्धि

police-of-jnkprजनकपुर, १३ साउन । जनकपुर अञ्चलमा अपराधको घटनामा ह्वात्तै वृद्धि भएको छ । अञ्चलमा एक वर्षमा एक हजार आठ सयभन्दा बढी अपराधका घटना भएको एक तथ्यांकले देखाएको छ । जनकपुर अञ्चल प्रहरी कार्यालयले आर्थिक वर्ष ०७१÷७२ को समीक्षा कार्यक्रममा सार्वजनिक गरेको तथ्यांकमा यस वर्षमा एक हजार आठ सय १८ अपराधको घटना सार्वजनिक भएको थियो ।

तथ्यांकमा समेटिएको अपराधका घटनामा खुनडाका, कर्तव्यज्यान, ज्यानमार्ने उद्योग, अपहरण, अंगभंग, कुटपिट, महिला हिंसालगायतका अपराधहरूलाई सामेल गरिएको जनकपुर अञ्चलका एसएसपी सुरेशविक्रम शाहले जानकारी दिएका छन् ।
सार्वजनिक गरिएको तथ्यांकमा जनकपुर अञ्चलका ६ वटा जिल्लाहरू धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप र दोलखामा भएका घटनाहरू समेटिएको छ । तथ्यांकमा धनुषामा सबैभन्दा बढी ६ सय ५६, सर्लाहीमा तीन सय ५७, महोत्तरीमा तीन सय ४८, सिन्धुलीमा दुई सय १०, दोलखामा एक सय ६४ र रामेछापमा ८३ वटा अपराधका घटना भएको तथ्यांकमा उल्लेख छ ।
जनकपुर अञ्चलभित्र जघन्य अपराधको तीन सय सात वटा घटना भएको जनाइएको छ । सबै अपराधका घटनाको मुद्दा दर्ता भई कानुनी कारबाही एवं अनुसन्धानको क्रममा रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यसैगरी सो आर्थिक वर्षमा ५५ व्यक्ति हातहतियारसहित विभिन्न जिल्लाबाट पक्राउ परेको तथ्यांकमा जनाइएको छ । उनीहरूको साथबाट पेस्तोल सात थान, भरुवा बन्दुक १० थान, गोली ५५ राउन्ड बरामद गरेको उल्लेख छ । त्यस्तै लागुऔषधसहित एक सय ७१ जना पक्राउ परेको अञ्चल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया