काठमाडौं, १२ साउन । संसारका हरेक सामान्य व्यक्ति कठोर मिहेनत र व्यवस्थित प्रशिक्षणले स्टार बन्न सक्छ भन्ने खेलकुदले बारम्बार पुष्टि गरिसकेको छ । नेपाली खेलकुदमा पनि त्यस्ता धेरै कथा लेखिएका छन् । यसरी सामान्य व्यक्ति एकाएक स्टार बनेको इतिहास सायद मार्सल आर्टमा नै धेरै छ । अझ जुडो यसक्रममा धेरै अघि नै छ । यसैगरी सामान्य व्यक्तिलाई स्टार बनाउने सपनामा वर्षौदेखि सक्रिय जुडो प्रशिक्षक धर्मकुमार श्रेष्ठ दुई खेलाडी मनिता प्रधान श्रेष्ठ र किरण गडेलको नेतृत्व गर्दै स्विटजरल्यान्डबाट काठमाडां फर्केका छन् ।
स्विटजरल्यान्डको फिसमा भएको आइजेएफ युथ जुडो ट्रेनिङ क्याम्पमा सहभागी भई फर्किएका नेपाली जुडो टोली महत्वपूर्ण अन्तर्राष्ट्रिय अनुभवका कारण उत्साहित भएका छन् । खासमा अन्तर्राष्ट्रिय प्रशिक्षणको अनुभव बोकेको कारण उत्साहित भएकोे प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री श्रेष्ठ बताउँछन् । १९ देखि २५ जुलाइसम्म भएको क्याम्पमा १८ वर्षमुनिका १–१ पुरुष र महिला खेलाडी सहभागी थिए । पुरुषमा किरण तथा महिलामा मनिताले भाग लिएका थिए । प्रशिक्षकमा र श्रेष्ठले सहभागिता जनाएका थिए ।
क्याम्पमा विभिन्न ३० राष्ट्रका दुई सय ६० खेलाडीको सहभागिता रहेको प्रशिक्षक श्रेष्ठ बताउँछन् । प्रशिक्षण नेपाली खेलाडीका लागि उपलब्धि भएको र यसलाई सही उपयोग गर्नसके नेपाली जुडोले लामो फड्को मार्न सक्ने ठहर श्रेष्ठको छ । ओलम्पिक पदकधारीबाट प्रशिक्षण लिनु त धर्म गौरवको क्षण नै छान्छन् । ‘मलाई लाग्छ यो प्रशिक्षणलाई सही सदुपयोग गर्नसके हामीले लामो फड्को मार्नेछौँ ।’ प्रशिक्षक श्रेष्ठ बताउँछन् ।
‘नयाँ खाले प्रशिक्षणको अवसर पायौँ । ओलम्पिकसम्मको यात्रा गर्नेहरूले कसरी प्रशिक्षण गर्छन्, त्यो हेर्ने राम्रो अवसर पाएका छौँ ।’ प्रशिक्षक श्रेष्ठ बताउँछन् ।
स्विटजरल्यान्ड भ्रमणबाट फर्केको नेपाली जुडो टोलीमा एउटा अचम्मको संयोग देखिएको थियो । जुडो संघका सचिवसमेत रहेका श्रेष्ठ नेपाली जुडोमा परिचित सिडब्लु सिएनका प्रशिक्षक हुन् । सिडब्लु सिएन अनाथ बालबालिकाहरूका लागि काम गर्ने संस्था हो । अनाथलाई सामाजिक क्षेत्रमा परिचय दिलाउने र खेलकुदको माध्यमबाट स्टार बनाउने अभियानमा धर्म लामो समयदेखि सक्रिय रहेका छन् । त्यसो त प्रशिक्षणमा सहभागी खेलाडी मनिता प्रधान बाल्यकालदेखि संघर्षशील व्यक्तित्व हुन् । अन्य नेपाली भैmँ सामान्य परिवारका किरण मिहेनती र परिश्रमी व्यक्तित्वको रूपमा रहेका छन् । क्याम्पले खेलाडीमा समेत उत्साह थपिएको छ । क्याम्प उपलब्धि र उत्साहमूलक भएको किरणको पनि ठहर छ ।
काभ्रेका स्थायी बासिन्दा धर्म जुडो खेलका प्रशिक्षक, प्राविधिक र प्रशासनिक काममा उत्तिकै सक्रिय भएका थिए । लामो समयदेखि उनको सक्रियता यथावत रह्यो । प्रशिक्षकका रूपमा नेपाली जुडोका परिचित नाम सुनिता थापा, प्रमिला रोका, सीता शाक्य, रमेश मयर र उपेन्द्र थापाको आजको स्तरीयतामा कतै न कतै धर्मको प्रशिक्षण शैलीको योगदान छ नै । त्यसो त रेफ्रीको रूपमा धर्म नेपालका सफल जुडो रेफ्रीका रूपमा परिचित छन् । सन् २००९ मा बी ग्रेडका अन्तर्राष्ट्रिय रेफ्री भए यता उनले पारा एसियन गेम, एसियाड, युथ एसियन च्याम्पियन र दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा निर्णायक ‘म्याच कन्डक्ट’ क्षमता देखाइसकेका छन् । सायद उनले सञ्चालन गरेका यी खेल विवादरहित भएर नै होला जुडोको अन्तर्राष्ट्रिय निकायले बारम्बार उनलाई पत्याइरहेको छ । एसियाडका मंगोलिया र कोरियाबीचको एक सेमिफाइनल बाउट उनले खेलाएको सायद सबैभन्दा महत्वपूर्ण खेल थियो ।
जुडोमा उनको परिचय नै बनेको छ । जीवन बाँच्न संघर्ष गर्नेहरूलाई समाजमा स्थाीपत गराएर छाड्ने । यो अभियानको सुरुआत अनाथबालिकालाई जुडो सिकाएर उनले सुरु गरेका थिए । अहिले बहिरा र दृष्टिविहीनको उज्ज्वल भविष्यमा उनी लागिपरेका छन् । नेपाल बहिरा तथा दृष्टिविहीन तथा पारा जुडो संघमा उनी महासचिव छन् । यसमा मुख्य प्रशिक्षक पनि आपैmँ छन् । उनलाई साथ मिलेको छ, मोहन सुनुवार, विमल केसी र रमेश थापा मगरको । ३० जना प्रशिक्षार्थी छन् । यो संस्थाले नै अगस्टमा दृष्टिविहीन जुडोका लागि दक्षिण एसियाली सेमिनारको आयोजना गर्दै छ । कसरी प्रशिक्षण गराउने भन्नेमा उनी आपू पनि पोख्त हुनेछन् ।
अनाथ, असाहय र विपन्नलाई स्थापित गराउन सक्रिय यी व्यक्ति फरक शारिरिक क्षमता भएकालाई पन स्थापित गराउनेमा सफल हुने अपेक्षा धेरैको छ । सबै सामान्य व्यक्तिलाई सामाजिक स्टार बनाउन सकिन्छ भन्ने उनको यो अभियानमा स्विटजरल्यान्डको क्याम्प पनि सायद उपयोगी हुन सक्छ । मनिता र किरणको हकमा कम उमेरमा प्राप्त यो अनुभवले ओलम्पिकको यात्रा कसरी गर्ने भन्ने एउटा बाटो कोर्न उपयोगी पनि सावित हुनेछ ।
प्रतिक्रिया