काठमाडौं, ९ साउन । अस्तित्वमा रहेको दुई ओलम्पिक कमिटी (एनओसी)ले आठ वर्षको विवादलाई साम्य पारेपछि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले प्रतिबद्धता ब्यक्त गर्दै एक भएरअघि बढ्ने बताएका छन् ।
ध्रुवबहादुर प्रधानको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटी र सर्वाेच्च अदालतले मान्यता दिएको रुक्मशमशेर राणा नेतृत्वको नेपाल ओलम्पिक कमिटीबीच विगत आठ वर्षदेखि छुट्टै गुट बनाउँदै विवादमा उत्रिएका थिए । बुधबार रुक्मशमशेर राणा लचिलो हुँदै नेपाली खेल र खेलकुदको हितका लागि आफूहरू सहमतिमा आएको दुवै कमिटीका पदाधिकारीले बताएका छन् ।
आठ वर्षदेखिको विवाद अन्त्य गर्दै दुई ओलम्पिक कमिटी (एनओसी)बीच बुधबार सहमति भएको छ । खेल र खेलाडीको हितका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान र रुक्मशमशेर राणाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । प्रधानको पक्षबाट महासचिव जीवनराम श्रेष्ठले पनि हस्ताक्षर गरेका थिए ।
‘प्रयास धेरैअघिदेखि भए पनि सरकारको हस्तक्षेपबाट हामीले सँगै काम गर्न सकिरहेका थिएनौँ ।’ प्रधानले भने, ‘अहिले भएको सहमति ओलम्पिक विवादको अन्त्यको सुरुवात भएको छ । थप छलफल गरेर छिट्टै संयुक्त अधिवेशन गर्ने तयारी पनि गरेको छु ।’ ‘हामीबीच भएको सहमति ओलम्पिक विवाद अन्त्यको सुरुआती प्रक्रिया भएको भन्दै प्रधानले सहमतिअनुसार काम भए नेपाली खेलकुदले फड्को मार्ने बताए । ‘जुन हुनुपर्ने थियो त्यो भएको छ । हरेक कुराहरूमा स्पष्ट हुनुपर्छ ।’ प्रधानले भने, स्पष्ट रूपमा कुरा राख्दा मिल्न सक्छ भन्ने देखियो । एनओसी जस्तो सम्मानित ठाउँमा विवाद छ भन्ने नकारात्मक सन्देश गएको थियो । अब त्यस्तो हुने छैन । नेपाली खेलकुद पनि निरन्तर अघि बढ्नेछ ।’ सहमति पत्रमा हस्ताक्षर भएअनुसार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) सँगको सहमति र स्वीकृतिका लागि जवाफदेहिता आपूmले लिएको बताए ।
‘पक्कै पनि अस्तित्वमा रहेको भनिएको दुई ओलम्पिक कमिटी एक भएको छ । अब नेपाली खेलकुदलाई कसरी विकास गर्ने भन्ने बारे सोच्ने बेला भएको भन्दै खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सहकार्य गरी अघि बढ्नेछौँ,’ प्रधानले भने ।
०६८ मा सर्वोच्च अदालतले राणा अध्यक्ष रहेको कमिटीलाई ब्युँताएपछि दुई ओलम्पिक कमिटी अस्तित्वमा थिए । दुई कमिटीबीच त्यतिबेलैदेखि चर्को विवाद सुरु भएको हो । ‘दुवै कमिटी विवादित बनिरहँदा ओलम्पिक गतिविधि र खेलाडीको भविष्यसमेत अन्योलमा परिरहेको थियो । दुई ओलम्पिक कमिटीका कारण ग्वान्झाउ एसियाड, ११औँ दक्षिण एसियाली खेलकुद, लन्डन ओलम्पिक र इन्चोन एसियाडजस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताबारे विवाद भएको थियो ।
यसैबीच, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष प्रधानले आसान्न १२औँ सागमा नराखिने भनिएको महिला इभेन्ट पनि समावेश हुने बताए । दिल्लीमा एक्जुकेटिभ कमिटीको बोर्ड बैठकमा महिलाका खेलहरू सहभागिता नगराउने प्रस्ताव राखिएको रहेछ ।
त्यो थाहा हुनेबित्तिकै हामीले बैठक गरेर जति पुरुषका खेलहरू समावेश भएका छन् त्यसमा महिला समावेशका लागि अनुरोध गरेका छौँ । महिला इभेन्ट पक्कै समावेश हुनेछ ।
‘भारतजस्तो ठूलो राष्ट्रले धेरै खेलहरूको आयोजना गर्नसक्छ । सकभर खेललाई पनि घटाउनेछैन ।’ सागमा कति खेल समावेश हुने भनेर लिस्ट आउन बाँकी रहेको र त्यसमा महिलो इभेन्ट पनि समावेश भएर आउनेछ । प्रधानले भने ।
प्रतिक्रिया