दूधबाट तीन अर्ब आम्दानी

milkनवलपरसासी, ९ साउन । नवलपरासीमा वार्षिक ६३ हजार मेट्रिक टन दूध उत्पादनबाट जिल्लाले तीन अर्ब भन्दा बढी रकम आर्जन गर्ने गरेका छन् । यसबाट वार्षिक चार हजार तीन सय १५ जनालाई रोजगारी सिर्जना भएको छ ।

पशु फार्मले घाँस उत्पादनदेखि, दूध उत्पादन, डेरी सञ्चालन र मासुमा समेत काम गर्ने अवसर सिर्जना गरी रोजगारी प्रदान गर्दै आएको छ । यी नै फार्ममा आधारित भई करिब एक सय ५० मासु पसल सञ्चालनमा रहेका छन् । एक पसलमा कम्तीमा दुई जनाले रोजगार पाएका छन् । मासु पसलले तीन सय जनालाई रोजगार दिएको वरिष्ठ पशु विकास अधिकृत शंकर साहले बताए ।
‘घाँस, बीउ उत्पादनमा पनि किसान लागेका छन् । यसले पनि सयौँ व्यक्तिले रोजगार पाएका छन्’ उनले भने । दूध उत्पादनमै आधारित दूध डेरीमा पनि एक सय २५ जना कर्मचारीले काम गर्दै आएका छन् । सञ्चालनमा आएका दुग्ध सहकारीमा पनि ५० भन्दा बढी कर्मचारीले काम गर्दै आएका छन् । कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका पाँच सयभन्दा बढी पशु फार्म रहेको साहले बताए ।
कम्तीमा १० लाखदेखि तीन करोड रुपैयाँ लगानी भएका फार्म जिल्लामा रहेका छन् । यसमा अर्बाैं रुपैयाँको लगानी भएको छ । ‘बैंक तथा वित्तीय संस्थाले पशु फार्ममा लगानी गर्दै गए रोजगारी सिर्जना हुन्छ’ साहले भने । जिल्लामा फस्टाउँदै गएको पशु फार्मले पाँच हजार युवालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया