दाङ, ८ साउन । दाङ जिल्लाको घोराही नगरपालिका– ४ चौघेरास्थित भावरेटोलमा मानसिक सन्तुलन ठीक नभएको व्यक्तिले अर्की मानसिक सन्तुलन ठीक नभएकी महिलालाई हत्या गरेका छन् । हत्यापछि उनले टाउको, मुटू र कलेजो आफैसँग लिएर जंगल पसेका छन् ।
अन्दाजी ३७ वर्षीय ‘हाँडे’ भनिने स्थानीय रमेश विकले आज बिहान भाँवरेटोलस्थित बहिनीको घरमा सुतेकी ५६ वर्षीया देवकी विकको हत्या गरेका हुन् । रमेशले हत्यापछि देवकीको टाउको, मुटू र कलेजो झोलामा हालेर जंगलतर्फ फरार भएको स्थानीयको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रजीतसिंह राठोरले दिएको जानकारीअनुसार चौघेरामा बस्ने आफ्नै बहिनी विमला विश्वकर्माको घरमा देवकी वस्दै आएकी थिइन् । देवकीको स्थायी ठेगाना भने हालको त्रिपुर नगरपालिका–४ (नारायणपुर)मा पर्छ ।
स्थानीय र आफन्तले आज बिहान ९ बजे देवकीको टाउको नभएको शव फेला पारेपछि प्रहरीमा खबर गरेका थिए । रमेशले हत्यापछि देवकीको बायाँ कोखमा प्वाल पारेर मुटू र कलेजो बाहिर निकालेको बताइएको छ ।
उनले देवकीको हत्यापछि कुकुर र बाख्रा पनि मारेका थिए । देवकीको टाउको, मुटू र कलेजोका साथै रमेशले कुकुर र बाख्राको मुटू र कलेजो पनि लगेर जंगल प्रवेश गरेका छन् ।
हत्यास्थलको वर्णन यसरी गर्छन् स्थानीय शिक्षक बसन्त शर्मा
गाउँमा ‘हाँडे’ भनेर चिनिने अन्दाजी ३७ वर्षीय रमेश विकले आज (शुक्रबार) बिहान चौघेराको भावरे टोलमा आफन्ती पर्ने करिव ५६ वर्षीया देवकी विकको धारिलो हतियार प्रहार गरेर हत्या गरेको पाइएको छ । रमेश विक लामो समयदेखि मानसिक रोगी हुन् । उनी घरमै बस्दै आएका थिए ।
देवकी विक पनि मानसिक रोगी हुन् । दुवै जना गाउँमा बरबराएर हिँड्ने गर्थे । रमेशले यसअघि कुनै पनि अपराधिक कार्य गरेको पाइएको थिएन । आज कसरी यस्तो जघन्य अपराध गर्यो । हामी सबै स्तब्ध छौँ । देवकी विक पनि गाउँमा हिँड्ने गर्थिन् ।
बरबराउने, गाली गर्ने गरे पनि कसैलाई हानीनोक्सानी गरेकी थिइनन् । मागेर खाने गर्थिन् । रमेशले आज बिहान हत्या गरेछ ।
हत्यापछि रमेशले देवकीको टाउको, मुटू र कलेजो लगेर जंगलतर्फ गएको पाइएको छ । प्रहरीले पक्राउ गर्नका लागि खोजतलास जारी राखेको पाएका छौं । रमेश डाँडागाउँको जंगलतर्फ गएको बाटोमा देख्नेहरूले बताएका छन् ।
देवकीको हत्या गरेपछि रमेशले एउटा कुकुर र एउटा बाख्रालाई पनि मारेको छ । कुकुर र बाख्राको पनि मुटू र कलेजो लगेर भागेको पाइएको छ । देवकीको हत्या भएको स्थानमा रमेशले उनको आन्द्रा निकालेर बाहिर राखेको थियो । शव क्षतविक्षत अवस्थामा पाइएको थियो ।
प्रतिक्रिया