काठमाडौं, ८ साउन । मानिसलाई गायन क्षेत्रको चमकदमकले लठ्याउँछ । ‘सेलिब्रेटी’ प्रति आममानिसको आकर्षण र तिनले पाएको सामाजिक प्रतिष्ठा देख्दा लाग्छ, यो क्षेत्र नाम, दाम र सम्मानको संगम हो ।
तर, यो सुन्दा धेरैलाई आश्चर्य लाग्ला कि गायनमा राष्ट्रिय चर्चा हासिल गरेका एकजना गायक ‘आर्थिक असुरक्षा’ का लागि दोेहोरी साँझ चलाएर बस्न बाध्य छन् । करिब एक दशकअघि को बहुचर्चित लोकगीत ‘सिमसिम पानी रै’छौ बेइमानी…’ का गायक राजन ठकुरी हाल नयाँ बसपार्क क्षेत्रको एक दोहोरी साँझ सञ्चालक हुन् ।
जीविकोपार्जनकै लागि दोहोरी साँझ चलाउनुपरेको स्वीकार्ने ठकुरी आर्थिक कारणको अलावा लोक क्षेत्रमा केही नजिर स्थापित गर्न आफूले यस्तो कदम उठाएको बताउँछन् । ‘शिखरमा पुगेपछि आपूm उक्लिएको धरातललाई चटक्क भुलेर आकाशमै टाँसिरहने मान्छेको प्रवृत्ति हुन्छ,’ उनी भन्छन्, ‘राष्ट्रिय कला संस्कृति संरक्षणको खाँचो रहेको यो समय नेपाली संस्कृति संरक्षणका लागि जस्तोसुकै भूमिका निभाउन तयार छु ।’
बागलुङमा जन्मिएका ठकुरीको परिवारकै लोकगीतप्रति झुकाव छ । त्यसैले हरेक पाइलामा परिवारको साथ र सद्भाव रहेको उनी बताउँछन् । गाउँघरका मेलापात र विवाह–बटुलोमा गाउँदाकै बखत सबैका प्रिय बनेका ठकुरीले आफ्नो पहिलो लोकगीत ‘सिमसिम पानी रै’छौ बेइमानी…’ बाटै मनग्ये चर्चा कमाए ।
यो गीत रेकर्ड गर्दा उनी एक्काइस वर्षका थिए । पढाइमा समेत अब्बल उनलाई एसएलसीपछि साइन्स पढ्न परिवार र समाजले दबाब दियो । तर, लोकगीत गायनलाई आफ्नो सपना–जपना बनाएका ठकुरीले अमृत साइन्स क्याम्पसबाट आइएस्सी सकेपछि परिवारसँग विद्रोह गरेरै संगीत अध्ययन गर्न थाले ।
लोकगायकलाई ‘लोके’ भनेर हेय र अपमानको दृष्टिले हेर्नेसँग पैंठजोरी खेलेरै तयार छन् उनी । लोक संस्कृतिको क्षेत्र नेपाली माटोको मौलिकता प्रतिविम्बित हुने सुनौलो ठाउँ भएको उल्लेख गर्दै यसको प्रतिष्ठा स्थापित गर्नमा आपूm सधैँ कटिबद्ध रहेको बताउँछन् उनी । ‘तथाकथित आधुनिक हौँ भन्नेहरूले म यस क्षेत्रमा आउँदाका बखत हामीलाई अवमूल्यनसमेत गर्थे,’ उनी सम्झन्छन्, ‘लोकगीत मन नपराउने सीमित संख्या थियो । तर, गाउँघरका नब्बे प्रतिशत हाराहारीले हाम्रा गीत सुनिदिनुहुन्थ्यो ।’
लोकगीत संस्कृति भएकाले यो समयअनुकुल परिमार्जन हुन सक्ने तर परिवर्तन हुन नसक्ने तर्क गर्ने ठकुरी नेपाली संगीतको ७५ प्रतिशत बजार लोकगीतले ओगटेको दाबी गर्छन् । उनी हाल लोकगीत रहरले टिकेको ठान्छन् । लोकगीत संगीत क्षेत्रमा देखिएका हालका विचलन चाँडै हल भएर यो क्षेत्र सुरक्षित र आकर्षणको केन्द्र बन्नेमा उनी विश्वस्त छन् ।
लोकगीत सबैले निःशुल्क सुन्न पाउने भएकाले यसका स्रष्टा र कलाकार मारमा परेको उनको गुनासो छ । ‘स्रष्टाको अस्तित्व र जीवनयापनसँग जोडिन्छ उसको सिर्जना,’ उनी भन्छन्, ‘सिर्जना किमार्थ मूल्यविहीन हुन सक्दैन भन्ने सत्यलाई सरकार र श्रोताले बुझिदिए लोकक्षेत्रका सर्जकका धेरै समस्या समाधान हुने थिए ।’
लोकगीत संगीतकै क्षेत्रमा लागेर आफ्नो आर्थिक स्थिति मजबुत बनाउँछु भन्ने अवस्था नरहेको बताउने ठकुरी मिडियामा समेत लोकक्षेत्र उपेक्षित बनेको गुनासो गर्छन् । सिआरबिटी, पिआरबिटीले लोकक्षेत्रलाई अझ विकृत र धरासायी बनाएको उनको ठम्याइ छ ।
‘लाखौँ लगानी गरेर गीत निर्माण गरिएको हुन्छ, गीतको आफ्नै पृष्ठभूमि र भाव हुन्छ,’ उनी भन्छन्, ‘चवालीस सेकेन्डको सिआरबिटी पिआरबिटीले गीतको भावको सिलसिलामै प्रहार गरेको छ ।’ सिर्जनात्मक हिसाबले अघिल्लो पुस्ताका गायकमा नारायण रायमाझी मनपराउने ठकुरी स्वरको हिसाबले राजु परियारको ‘बिग फ्यान’ भएको बताउँछन् । राजु परियारको स्तरको स्वर अबको ४०/५० वर्षमा पनि नेपाली लोकगीत क्षेत्रले नपाउने उनको ठहर छ ।
प्रतिक्रिया