नेता नेपाल सहभागी कार्यक्रममा मधेसी नेताहरूद्वारा आक्रमण

Dimpal-Jhaरौतहट, ४ साउन । संविधानको मस्यौदामाथि सुझाव सङ्कलन गर्न रौतहट जिल्लाको सदरमुकाम गौरमा आयोजित कार्यक्रममा नेपाल संघीय सदभावना पार्टीका कार्यकर्ताको समूहले आज बिहान ढुङ्गामुढा प्रहार गर्दा दुई जना सर्वसाधारण घाइते भएका छन् ।

रौतहट क्षेत्र नं १ अन्र्तगत गौर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बाहिर भेला भएका सर्वसाधारणले समेत सहभागी हुन पाउनुपर्ने माग राख्दै गरेका बेला आक्रोशित समूहले ढुङ्गामुढा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सभासहल भित्र पुगेका संघीय सदभावनाका कार्यकर्ताले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालमाथि कुर्सीसमेत प्रहार गरेका छन् ।

प्रहारबाट नेता नेपाललाई लागेको छैन । नेपाल सुरक्षित छन् ।

गौर नगरपालिकाको सभाहलमा बाहिर भीड बढ्दै गएपछि नेपाललगायत सभासद्हरू वंशिधर मिश्र, रामकुमार भट्टराई, सत्यानारायण भगत, मोहम्मद मुस्ताक आलमलाई प्रहरीले सुरक्षा घेराभित्र राखेको छ ।

बिहानैबाट तनाव सुरु भएपछि सुझाव सङ्कलन कार्यक्रम प्रभावित भएको छ ।

सुझाव संकलन स्थल बिथोल्न भन्दै संघीय सदभावनाका अध्यक्ष अनिलकुमार झा र उनकी सभासद पत्नी डिम्पल झा सभासहलमा पुगेका थिए ।

कार्यक्रम बिथोल्न पुगेका उनीहरूलाई प्रहरीले प्रवेशमा रोक लगाएपछि स्थिति तनावपूर्ण बनेको थियो ।

यसैबीच नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथिको राय सुझाव सङ्कलन गर्ने कार्यमा हुनसक्ने सम्भावित घटनालाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार जिल्लाभर कायम रहेका संविधानको मस्यौदामाथि छलफल र राय सुझाव सङ्कलन गर्ने स्थलमा भरपर्दाे सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया