‘ऐतिहासिक दस्ताबेज’

रौतहट, ३ साउन । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान संविधानको प्रारम्भिक मस्यौदा देश विकास गर्ने, जनताको आधारभूत अधिकार स्थापित गर्ने र सबैखाले विभेदको अन्त्य गर्ने दस्ताबेज भएको बताएका छन् ।

संविधानको प्रारम्भिक मस्यौदा सुझाव संकलनका लागि आफ्नो गृहजिल्ला रौतहटमा शनिबार नेपालले केही मधेसी दलले संविधानको मस्यौदा जलाएको तर्फ इगिंत गर्दै भने, ‘कागले कान लग्यो भनेर कागको पछाडि दौड्नुभन्दा पहिला आफ्नो कान छाम्नुहोस् ।’
संविधानमा के लेखेको छ भन्ने कुरा अध्ययन नै नगरी मस्यौदा जलाउनु उचित नभएको भन्दै मस्यौदा जलाउनेहरूलाई पहिला मस्यौदा राम्रोसँग अध्ययन गर्नसमेत उनले आग्रह गरे । विगत आठ वर्षदेखि अधुरो रहेको संविधान निर्माणको प्रक्रिया अगाडि बढिसकेकाले अब कुनै पनि शक्तिले संविधान जारी गर्न रोक्न नसक्ने नेता नेपालले बताए ।
अदालतले राजनीतिमा प्रवेश गर्ने अधिकार नभएको भन्दै नेता नेपालले राजनीति गर्ने दलहरूले गर्ने भएकाले अदालतले न्यायिक अधिकार मात्र प्रयोग गर्न आग्रह गरे । नेपालको अन्तरिम संविधानले संविधान निर्माण गर्ने विशेषाधिकार संविधानसभालाई मात्र दिएको बताउँदै उनले कसरी, कुन प्रक्रियाबाट संविधान बनाउने भन्ने कुरा संविधानसभाको अधिकार भएको दाबी गरे । अहिले जारी हुन लागेको संविधानमा यसअघि प्राप्त उपलब्धिहरू गणतन्त्र, संघीयता, समावेशी सिद्धान्त, आर्थिक रूपान्तरणका विषयहरू संस्थागत गर्ने कार्य भएको भन्दै यसको विरोध गर्नु भनेको ती उपलब्धिहरूलाई संस्थागत हनु नदिने षड्यन्त्र भएको नेता नेपालले बताए । संविधान जारी भएपछि स्थानीय निर्वाचन हुने र त्यसपछि सामथ्र्य र पहिचानका आधारमा संघहरूको सीमांकन र नामांकन हुने भएकाले अहिले नै त्यो सबै हुनपर्छ भन्नु उचित नभएको उनले बताए ।
संविधानको प्रारम्भिक मस्यौदा माथिको छलफल कार्यक्रममा भाग लिन नेता नेपालसहित जिल्लाका ९ जना संविधानसभा सदस्य जिल्लामा आइपुगेका छन् । सभासद्हरूले साउन ४ र ५ गते ६ वटै क्षेत्रका जनतासँग सुझाव संकलन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया