काठमाडौं, २ साउन । पछिल्लो समय राज्यबाट अत्यन्त प्राथमिकता पाएको नेपाली क्रिकेट टोलीको कमजोर प्रदर्शन भने यथावत छ । लगातार तेस्रो हारपछि नेपालले आगामी वर्ष भारतमा हुने टि–२० विश्वकपमा सहभागिताको अवसर पाउने सम्भावना कम भएको छ । स्कटल्यान्ड र आयरल्यान्डमा जारी आइसिसी टि–२० विश्वकप छनोट चरणको शुक्रबारको खेलमा नेपाल पपुवान्युगिनीसँग ८ विकेटले पराजित भयो । यसअघि नेपाल आयरल्यान्डसँग ८ तथा हङकङसँग ५ विकेटले पराजित भएको थियो ।
अर्को चरणमा छनोट हुन नेपालले शनिबार जर्सीसँगको जित हात पारेर मात्र पुग्ने छैन, समूहका अन्य खेलको नतिजा पनि नेपालको अनुकूल हुन आवश्यक छ । जर्सीसँगको खेलमा जित हात पारे नेपाल समूहमा तेस्रो हुने सम्भावना गणितीय रूपमा बाँकी रहे पनि लभगभ असम्भव देखिन्छ । चौथो हुने सम्भावना हङकङ र नामिबियाका बाँकी खेलमा निर्भर हुनेछ ।
नेपालले प्रस्तुत गरेको ९४ रनको झिनो पछ्याएको पपुवान्युगिनीले ३५ बलअगावै २ विकेट गुमाएर ९९ रन जोड्यो । पपुवान्युुगिनीको जितमा आसाद भालाले ३४ तथा किला पालाले २२ रनको अविजित पारी खेले । यस्तै, टोनी उराले ३२ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी तथा वसन्त रेग्मीले एक–एक विकेट लिनुबाहेक अन्य बलरले कुनै प्रभाव देखाउन सकेनन् ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खेलमा १९.४ ओभरमा सबै विकेट गुमाएर ९३ रनमा सीमित भयो । नेपालको इनिङमा प्रदीप ऐरीले सर्वाधिक २९ रन तथा सागर पुनले १५ रन जोडे । शरद भेसवाकर ११, राजेश पुलामी ७, पारस खड्का ५, विनोद भण्डारी र सोमपाल कामीले समान चार तथा ज्ञानेन्द्र मल्ल दुई रनमा आउट भए ।
वसन्त रेग्मी एक रनमा पभेलियन फर्किए । शक्ति गौचन ६ रनमा अविजित रहेको पारीमा करण केसीले खातासमेत खोल्न सकेनन् ।
पपुवान्युगिनीका जोन रेभा, आसाद भाला र माहुरु दाइले समान दुई–दुई विकेट लिए । नर्मन भानुवाले एक विकेट आफ्ना नाममा लेखाए ।
शनिबार भएको खेलमा सबै क्षेत्रमा पपुवान्युगिनीभन्दा कमजोर देखिएको नेपालले अमेरिकासँगको पहिलो खेलमा जित हात पारेको थियो । नामिबियासँगको खेलमा वर्षाका कारण अंक बाँडेको नेपाल त्यसपछिका खेलमा लगातार कमजोर देखिएको हो ।
प्रतिक्रिया