एक वर्षमा छ हजार बढी मुद्दा फछयौट

judges-Kanunबुटवल, १ साउन । लुम्बिनी अञ्चलका छ जिल्लामा एक वर्षको अवधिमा नौ हजार ३१५ थान मुद्दा परेका छन् ।

अञ्चलका छवटै जिल्लाका जिल्ला अदालत र एउटा पुनरावेदन अदालतले लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्न सफल भएका छन् ।

यी सात वटा अदालतले एक वर्षमा छ हजार ३५४ थान मुद्दा फछ्यौट गरी लक्ष्यभन्दा बढी सफलता हासिल गर्न सफल भएका छन् ।

लुम्बिनी अञ्चलका छ जिल्लामध्ये यो एक वर्षको अवधिमा सबैभन्दा धेरै रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भए ।

यो एक वर्षमा रुपन्देहीमा तीन हजार ६२० थान मुद्दा दर्ता भएकामध्ये दुई हजार २९२ थान मुद्दा फछ्र्योट भएका छन् ।

यसमा गत वर्ष जिम्मेवारीसरी आएका केही मुद्दा पनि छन् ।

रुपन्देहीमा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या पाँच रहेको छ भने डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या १२ रहेको र यो अदालतको रणनीतिक योजनाअनुसार सफल हुन नसकेका मानिन्छन् ।

यसैगरी नवलपरासीमा दुई हजार ६१२ थान मुद्दा दर्ता भएकामा एक हजार ७७९ फछ्र्योट भएका छन् ।

गुल्मीमा ३८४ मा २९७ थान, अर्घाखाँचीमा २९० थान मुद्दामा २३५ थान, पाल्पामा ३३७ थानमा २७२ र कपिलवस्तु जिल्ला अदालतमा दुई हजार १०८ थान मुद्दामा एक हजार ४७९ थान मुद्दा फछ्र्योट भएको पुनरावेदन अदालत बुटवलका रजिस्ट्रार भीमप्रसाद श्रेष्ठले जानकारी दिए।

यसैगरी लुम्बिनी अञ्चलका जिल्ला अदालतको माथिल्लो अपिल अदालत पुनरावेदन अदालत बुटवलमा आव ०७१/०७२ मा दुई हजार ८५६ थान मुद्दा दर्ता भएकामा दुई हजार ७६ थान मुद्दाको फछ्र्योट भएको रजिस्ट्रार श्रेष्ठले जानकारी दिए ।

पुनरावेदनमा डेढ वर्ष नाघेका पाँच थान र एक वर्ष पुगेका दुई थान मुद्दा छन् ।

यी अदालतमा दर्ता भएका मुद्दामध्ये अंश र सम्बन्धबिच्छेदका मुद्दा धेरै रहेको पाइएको छ । रुपन्देही जिल्ला अदालतमा सबैभन्दा धेरै ८७७ अंशका मुद्दा परेका छन् ।

नवलपरासी जिल्ला अदालतमा पनि अंशसम्बन्धी नै धेरै मुद्दा दर्ता भएका छन् ।

त्यहाँ ५९७ थान मुद्दा दर्ता भए । त्यहाँ सम्बन्धबिच्छेदका ११५ थान मुद्दा दर्ता भए । त्यसपछि अंश दाबी गर्दै दर्ता भएकामा धेरै मुद्दा कपिलवस्तुमा छन् ।

त्यहाँ ४१५ थान मुद्दा दर्ता भए । सम्बन्धबिच्छेदमा कपिलवस्तुमा ७३, पाल्पामा ५९, गुल्मीमा ८२ मुद्दा दर्ता भए ।

पुनरावेदन अदालतमा अंशका २३० र सम्बन्धबिच्छेदका ३० थान मुद्दा दर्ता भएको रजिस्ट्रार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया