एक्काइस सहकारी खारेजीको सूचीमा

चितवन, १ साउन । चितवनमा यो वर्ष पाँच सहकारी संस्था गाभिएका छन् । रत्ननगरका तीनवटा जडीबुटीसम्बन्धीका सहकारी तथा शारदानगरको दुई वटा बचत तथा ऋण सहकारी गाभिएका छन् । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्रशिक्षण एवं सूचना अधिकारी श्रीकृष्ण नेपालले रत्ननगरमा रहेको गोदावरी, उन्मुक्ति तथा दीर्घायु जडीबुटी उत्पादक सहकारी संस्था गाभिएर दीर्घायु जडीबुटी उत्पादक सहकारी संस्था बनाइएको छ । यस्तै आर्थिक सुधार बचत र पवित्र बचत सहकारी मिलेर पवित्र आर्थिक सुधार बचत तथा ऋण सहकारी संस्था बनेको छ ।

यसैगरी खारेजीको सूचीमा परेका जिल्लाका २९ वटा सहकारीमध्ये २१ सहकारी खारेज हुने भएका छन् । आठ वटा सहकारी संस्था ३५ दिने सूचनाभित्रमा सम्पर्कमा आएको तर २१ वटा नआएकाले खारेज हुने भएका हुन् । ती आठवटा सम्पर्कमा आए पनि नियमसम्मत नदेखिएमा खारेज हुने प्रशिक्षक नेपालले बताए ।
‘आठ वटा सम्पर्कमा आएका छन्, उनीहरूको हकमा छानबिन हुन्छ, सम्पर्कमा नआउने २१ वटालाई खारेज गरिन्छ’ नेपालले भने । जसमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी खारेजीको सूचीमा छन् । यसअघि दुई वर्षदेखि कारोबारमा निस्क्रिय रहेका र नियमबमोजिम विवरण नबुझाएका २९ सहकारी खारेजीको सूचीमा परेकाले ३५ दिनको सूचना प्रकाशित गरी सम्पर्कमा आउन
भनिएको थियो ।
सहकारी ऐन २०४८ को दफा ३४ अनुसार गतिविधि बुझाउनुपर्ने, लेखा प्रतिवेदन, साधारणसभाको बैठक प्रतिवेदन तथा तोकिएका अन्य विवरण पेस गर्नुपर्ने प्रावधान छ । उक्त प्रावधान पूरा नगर्ने र ०६९ सालदेखि निष्क्रिय रहेका सहकारी खारेजीको सूचीमा थिए । तेह्रवटा बचत सहकारी, कृषि र दुग्ध गरी नौवटा, पाँच वटा कृषि सहकारी र दुई वटा बहुउद्देश्यीय सहकारीलगायत खारेजीको सूचीमा रिहेका छन् । जसमा प्रज्वल बचत, विक्रमबाबा, पाण्डव महिला, बघौडा महिला, पटिहानी सञ्जाल महिला, तुलसी, भीमसेन, त्रिशूली, हर्नरी, पुञ्ज, अनमोल बचत तथा ऋण सहकारीलगायत थिए ।
त्यस्तै दुईवटा बहुउदेश्ययीय सहकारीमा लवकुश र भोजबाबा रहेका छन् । शारदा, वनगाई, पञ्चकन्या, शीतल, बेलहट्टा र शिवनारायण दुग्ध उत्पादक सहकारी पनि खारेजीको सूचीमा रहेको छ । कृषितर्फ लोथर, हितकारी, जागरण, उत्साह, प्राङ्गारिक र देवचम्पा कृषि सहकारी खारेजीको लाइनमा छन् । पारिजात स्वास्थ्य सहकारी र जुगेडी ग्रामीण विद्युत् वितरण सहकारी थिए । जसमा सात वटा बचत र एउटा दुग्ध सहकारी सम्पर्कमा आएका छन् । जिल्लामा अहिलेसम्म कुल ६ सय ७६ सहकारी दर्ता भएका छन् । यहाँ नौवटा विषयगत सहकारी छन् । अघिल्लो वर्ष २२ सहकारी खारेज भएका थिए । यो वर्ष २६ सहकारी थपिएका छन् ।

प्रतिक्रिया