चाड बोलाउँदै साउन महिना

Lekhanath-Dahal‘माघे संक्रान्तिले चाड धपाउँछ भने साउने संक्रान्तिले चाड बोलाउँछ’ भन्ने लोकोक्तिले नै श्रावण महिनाको आरम्भसँगै विभिन्न चाडपर्वको ओइरो लाग्ने कुरा स्पष्ट पार्दछ । हुन पनि हिन्दू संस्कारअनुसार मनाइने विविध पर्वमध्ये साउने संक्रान्ति, जनैपूर्णिमा, गाईजात्रा, कृष्णाष्टमी, पितृऔँशी÷कुशेऔँशी, तीज, गौरा पर्व, इन्द्रजात्रा, दसैँ, तिहार यसै मौसममा पर्ने महत्वपूर्ण पर्व हुन् । यस्तै, विविध चाडपर्वकै कारण नेपाली जनजीवन सुन्दर, सरस एवं जीवन्त बन्दै आएको छ । सनातन रूपमा मनाइँदै आएका यस्ता चाडपर्व विशेषतः चन्द्रमासअनुसारका तिथिमितिमा मनाउने गरिन्छ । हाम्रा पूर्वज, ऋषिमुनि, आचार्यहरूद्वारा आरम्भ गरिएका यी पर्वमा हाम्रो नेपाली समाज, सामाजिक व्यवहार, आचारविचार, भोजन, मनोरञ्जन, कर्म, रहनसहन, विश्वास आदि प्रतिविम्बित हुन्छन् । धार्मिक–सांस्कृतिक सहिष्णुता तथा सामाजिक समन्वय एवं सौहार्दता प्रकट गर्ने हाम्रा यी पर्व नेपालीका साझा राष्ट्रिय संस्कृतिका जीवन्त उदाहरण पनि हुन् ।
सौर्यमानअनुसार मनाइने साउने संक्रान्तिलाई कर्कट संक्रान्ति पनि भनिन्छ । यसै दिनदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने र कर्कट रेखाबाट दक्षिणतिर लाग्ने भएकाले दक्षिणायन सुरु हुने धार्मिक मान्यता रहँदै आएको छ । दक्षिणायनको आरम्भसँगै दिन छोटिँदै जाने, रात लम्बिँदै जाने र गर्मी क्रमशः कम हुँदै जान्छ । यस दिन नुहाइधुवाई गरेर इष्टदेवता, कुलदेवतालगायत आप्mना आराध्यदेवको पूजाअर्चना गर्ने परम्परा छ । यस्तै, यस दिन विभिन्न नदीका संगमस्थल, तीर्थस्थल तथा देवस्थलमा मेला लाग्ने गर्छ । गुरूपुरोहितबाट संक्रान्तिको फल सुन्नुका साथै सत्यनारायणको पूजा लगाउने चलन नेपाली समाजमा अद्यापि छ ।
साउन महिनाका आराध्यदेव शिव हुन् । हिन्दू धर्मावलम्बीहरू साउन महिनालाई विशेष पर्वको रूपमा मनाउने गर्दछन् । यस महिना आपूm र आप्mनो परिवारको सुस्वास्थ्य र दीर्घायुका लागि सोमबार विशेष व्रत बस्ने र शिवजीको पूजाआजा गर्ने चलन छ । यस क्रममा पुरुषभन्दा महिलाहरुले विशेष अभिरुचि लिएको देखिन्छ । साउनभर शिवमन्दिरमा भक्तजनहरुको घुइँचो लाग्नुका साथै मेला लाग्ने गर्दछ । शिव पुराणलगायत धर्मशास्त्रमा विशेषतः साउनको सोमबारको महिमा उल्लेख गरेको पाइन्छ । यसै महिनामा बोलबम भन्दै पवित्र नदीको जल ल्याएर शिव मन्दिरमा चढाउने चलन छ, जसलाई बोलबम मेलाका रूपमा चिनिन्छ । नेपालका विभिन्न स्थानमा बोलबम मेला लाग्ने गरे पनि मुख्य रूपमा सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथलाई स्नान गराइन्छ । यसमा सहभागी हुनेहरू बोलबम लेखिएको गेरुवस्त्र धारण गरेर जुत्ताचप्पल नलगाई हिँडेरै काठमाडौंको पूर्वोत्तरस्थित सुन्दरीजलबाट चोखो जल ल्याएर चढाइन्छ ।
साउन महिना र हरियो रङलाई जोडेर हेर्ने गरिन्छ । यस महिनाभर विवाहित महिलाहरू हातमा मेहन्दी, हरियो रङको पहिरन र हरियै चुरा लगाउने गर्दछन् । यसबाट विवाहित महिला आप्mनो मनोकांक्षा पूरा हुने तथा सिंगो परिवारको सुरक्षा हुने विश्वास गर्दछन् । अविवाहित युवतीहरू भने आपूmले चाहेजस्तो राम्रो, माया गर्ने र व्यवहार बुझ्ने श्रीमान् पाइयोस् भन्ने मनसायका साथ यस्तो पहिरनमा सजिने गर्दछन् ।
साउने संक्रान्तिलाई लुतो फाल्ने संक्रान्तिका रूपमा पनि चिनिन्छ । यसै दिन बेलुका छालाजन्य रोगहरू हटून् भन्ने उद्देश्यका साथ राँको बालेर त्यसमा तीतेपातीका मुन्टा, कुकुर डाइनो, कुरिलो, जनैलहरो आदि डढाउने अनि राँको तथा फलपूmल प्mयाँकेर धुरी कटाउने गरिन्छ । राँको प्mयाँक्ने बेलामा ‘तल्ला गाउँले, माथ्ला गाउँले लुतो–खटिरा लैजाओ है’ भन्दै फलाक्ने चलन छ । यस दिन बेलुकी विभिन्न जडीबुटीबाट बनाइएको विशेष किसिमको मलम लगाएर सुत्ने गरिन्छ । नेपाल कृषिप्रधान देश भएकाले असारमा धान रोपाइँ गरिसकेपछि रोपाइँ गर्दाको हिलोमहिलो पखाल्ने र हिलोका कारण छालामा हुने संक्रमण र घाउखटिरा हटाउन गरिने उपचारले नै कालान्तरमा संस्कारको रूप धारण गरेको हुन सक्छ । यसरी हेर्दा कतिपय हाम्रा संस्कार र संस्कृतिहरू व्यावहारिक र वैज्ञानिक पनि देखिन्छन् । यस्तै, श्रावण शुक्लपञ्चमीमा मनाइने नाग पञ्चमी र श्रावण पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा वा ऋषितर्पणी पूर्णिमा अनि कृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पनि यसै समयका महत्वपूर्ण पर्व हुन् । चाहे खेतीपातीको काम सिध्याएर हिलोमैलो फाल्ने क्रममा मनाइने साउने संक्रान्ति होस् अथवा सनातन हिन्दू संस्कृतिअनुसार यज्ञोपवित धारण गरिने जनैपूर्णिमा अथवा जीवन रक्षाको कामना गर्दै बाँधिने रक्षाबन्धन नै किन नहोस्, यसले नेपाली जनजीवनमा गहिरो छाप छोडेको छ । वर्षाको पानी र हिलोमैलोसँग लुछाचुडी गर्दै खेतबारीमा अन्न लगाइसकेपछि जनैपूर्णिमाका दिन खाइने क्वाँटीको पनि आप्mनै महत्व रहेको छ । यसै दिन काठमाडौँवरपरका नेवार सम्प्रदायका कृषकहरूले देवतालाई क्वाँटी चढाएपछि भ्यागुतालाई क्वाँटी खुवाउने प्रचलनले पनि नेपाली संस्कृतिको सहिष्णुपनको झलक दिन्छ ।
यसै मौसममा पर्ने अर्को पर्व नागपञ्चमी हो । यस दिन नागलाई विधिपूर्वक पूजाआजा गरेर घरको मूलद्वारमा नागको तस्बिर टाँस्नाले सर्प तथा विषजन्य पदार्थको भय हुँदैन भन्ने धार्मिक मान्यताको द्योतकका रूपमा यस पर्वलाई लिएको पाइन्छ । हिलोमा बस्ने भ्यागुतो होस् वा दूध खाएर विष उत्पादन गर्ने नाग नै किन नहोस्, सबैलाई उचित सम्मान दिने नेपालीहरूको धार्मिक मान्यता वास्तवमै उदाहरणीय र सहिष्णुतापूर्ण लाग्छ ।
परम्परागत रूपमा मान्दै आएका यी चाडपर्वले हाम्रो समाजलाई प्रतिविम्बित गरेका छन्, नेपालीहरूको धार्मिक मान्यता र विश्वास झल्काएका छन्, सबै प्राणीप्रति सद्भाव राख्नुपर्छ भन्ने पाठ पढाएका छन् । आप्mनो भलाइ गर्ने जीवजन्तुप्रति उचित व्यवहार गर्नुपर्छ, शत्रुलाई पनि उचित स्थान दिनुपर्छ भन्ने सोचबाट अभिप्रेरित हाम्रो परम्परा र मान्यतालाई हामी सबैले जोगाउँदै जीवन्त राख्नुपर्छ । यो हामी सबैको दायित्व पनि हो । यसै संस्कृति र संस्कारबाट हाम्रो समाज अघि बढेको छ । यो नै चोखो नेपालीपन हो ।

प्रतिक्रिया