काठमाडौं । नेक्स्ट मोडल नेपालले ‘मिस सुपर ट्यालेन्ट वल्र्ड २०१५’ मा नेपालको प्रतिनिधित्व गराउन अन्तर्राष्ट्रिस्तरको सौन्दर्य प्रतियोगिता ‘मिस सुपर ट्यालेन्ट नेपाल २०१५’ को आयोजना गर्ने भएको छ । भूकम्पले मुलुकको पर्यटन व्यवसायमा असर पुर्याइरहेको अवस्थामा भएको विश्वभर यहाँका सम्पदा र धरोहर सुरक्षित जस्ताको तस्तै रहेको सन्देश प्रवाह गर्न तथा नेपाली कलासंस्कृतिलाई विश्वमा चिनाउन कार्यक्रम आयोजना गरिन लागिएको आयोजकले जनाएको छ ।
संस्थाका अध्यक्ष रवि धमलाका अनुसार नेपालमा अन्तर्राट्रियस्तरको सौन्दर्य प्रतियोगिता गरेर नेपाली युवतीको क्षमता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय मोडलिङ र फेसन जगतमा नेपालको उपस्थिति दरिलो देखाउने रहेको छ । प्रतियोगिताको विजेताले अमेरिकाको लसभेगासमा आगामी डिसेम्बर १० मा आयोजना गरिने ‘मिस सुपर ट्यालेन्ट वल्र्डमा २०१५’ मा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।
‘मिस सुपर ट्यालेन्ट वल्र्ड’ यसअघि ‘मिस एसिया प्यासिफिक’को नामबाट हुने गरेको थियो । यो प्रतियोगितामा ‘मिस नेपाल २०१०’ की विजेता सदीक्षा श्रेष्ठले सहभागिता जनाएकी थिइन् । ‘मिस सुपर ट्यालेन्ट नेपाल’का लागि आयोजकले आवेदन खुला गरेका छन् । प्रतियोगिताका लागि पहिलो चरणको अडिसन आगामी साउन ९ र १६ गते राजधानीमा हँदै छ । पहिलो र दोस्रो अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागि एक महिने प्रशिक्षण दिइनेछ । प्रशिक्षणका क्रममा उनीहरूलाई अन्तर्राष्ट्रिय रनवे, व्यक्तित्व विकास, ग्रुमिङ, अन्तर्राष्ट्रिय फोटोग्राफी तथा फोटोसुटलगायतका विविध विषयमा प्रशिक्षण दिइनेछ ।
प्रतियोगिताको शीर्ष विजेताले उपाधिका साथमा नगद एक लाख रुपैयाँ, व्यक्तिगत व्यावसायिक वेबसाइट, विभिन्न अन्तर्राष्ट्रिय उत्पादनको ब्रान्ड एम्बेसडर, विज्ञापन अभिनय अवसरका साथै विभिन्न उपहार जित्न सक्नेछन् । प्रतियोगिताको अन्तिम स्पर्धा भदौको अन्तिम सातामा आयोजना हुनेछ । (सौस)
प्रतिक्रिया