पोखरा । नेपाल भलिबल संघको व्यवस्थापन, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको संयोजन तथा कास्की जिल्ला भलिबल संघको आयोजनामा मंगलबारदेखि पोखरामा पाँच दिने क्षेत्रीय भलिबल रेफ्री तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै नेपाल भलिबल संघका निवर्तमान अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष गंगाबहादुर थापामगरले तालिम लाइसेन्सको लागि मात्र नभइ व्यवहारिकमै उतार्ने हुनुपर्ने बताए । उनले आयोजकले दर्शक र खेलाडीको व्यवस्था मात्र गरिदिने तर रेफ्रीले सम्पूर्ण गेमलाई ह्यान्डलिङ गरेर खेलाउनुपर्ने तथा प्रतियोगिता सफलता र असफलताको जस पनि रेफ्रीले नै पाउने हुनाले यसमा रेफ्री धेरै सचेत बन्नुपर्ने आवश्यकता औँल्याए ।
नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले एकपटक तालिम लिएर लाइसेन्स प्राप्त गरेपछि सधैँभरिलाई हुन्छ भन्ने सोच नपाल्न आग्रह गर्दै प्रत्येक वर्ष उसको कार्यक्षमताको मूल्यांकनको आधारमा नवीकरण गराउनुपर्ने नियम बनेको बताए। उनले पुराना रेफ्रीहरूलाई पनि लाइसेन्स नवीकरण गराउन आग्रह गरे । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष एवं कास्की जिल्ला भलिबल संघका सल्लाहकार प्रेमनारायण न्यौपानेले विगतमा तालिम धेरैले लिए पनि प्रतियोगितामा रेफ्रीको अभाव भइरहने गरेको प्रसंग निकाल्दै यो तालिमले पश्चिमाञ्चल क्षेत्रका कुनै पनि प्रतियोगितामा रेफ्रीको अभाव महसुस हुन नदिने विश्वास व्यक्त गरे । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख डेमबहादुर बस्नेतले भलिबल खेलको विकास र विस्तारका लागि क्षेत्रले जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै तालिमको सफलताको कामना गरे । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका सचिव डिबी नेपालीले तालिमको आयोजना गरेर जिल्ला भलिबल संघले राम्रो काम गरेको भन्दै प्रशिक्षार्थीले अनुशासनपूर्वक सिक्ने विश्वास व्यक्त गरे ।
कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जिल्ला तथा क्षेत्रमा भलिबल खेलको विस्तार गर्ने उद्देश्यले क्षेत्रीय तालिम आयोजना गरिएको र राम्रो सहभागिता रहेको बताए । (सौस)
प्रतिक्रिया