रोल नं. १ मा असफल प्रेम

Natakकाठमाडौं । भूकम्पपछि केही समय सुस्ताएको रंगमञ्च अहिले बिस्तारै तात्दै गएको छ । राजधानीमा रहेका विभिन्न नाटकघरले दर्शकका लागि नयाँ नाटक मञ्चनको कामलाई शुरुआत गरेका छन् । यसैक्रममा सर्वनाम नाटकघरमा नयाँ नाटक ‘रोल नं. १’ को मञ्चन भएको छ । सर्वनामले नियमित सञ्चालन गरिरहेको रंग प्रशिक्षणमा सहभागी भएर स्वयं प्रशिक्षार्थीहरूले यो नाटक तयार पारेका हुन् ।

नाटकमा रहेको पात्र प्रकाश सानैदेखि पढाइमा अब्बल हुन्छ र उसको चाहना डाक्टर बन्ने हुन्छ । रोगले थलिएर बाल्यकालमै आमा गुमाउनु परेपछि उसको मस्तिष्कमा, डाक्टर बन्ने र गरिब बिरामीको सेवा गर्ने सोच आउँछ । विद्यालयको नमुना विद्यार्थीसमेत रहेको प्रकाश गाउँको असल ठिटो पनि हो । त्यसैकारण ऊ एकाएक युवतीको प्रेममा पर्छ र प्रेमिकाको परिवारले ब्रिटिस लाहुरेसँग मात्र बिहे गरिदिने भएपछि प्रेमिका पाउने उसको आशा सपनामा मोडिन्छ ।
प्रेमिका गुमाउनुपर्ने डरले भित्रभित्रै उसलाई उकुसमुकुस बनाएपछि डाक्टर पढ्ने रहरलाई तिलाञ्जलि दिएर ब्रिटिस लाहुरे बन्ने उसमा भूत चढ्छ । किशोर अवस्थामा प्रेममा परेपछि प्रकाशले गरेको अपरिपक्क निर्णय आखिरमा असफल हुन्छ र मानसिक रोगी बन्छ । फिजिकल थिएटरलाई पनि प्रयोगमा ल्याइएको यो नाटकका बीचबीचमा राखिएका विम्बात्मक प्रस्तुतिले दर्शकलाई बाँध्छ ।
प्रशिक्षार्थी समूहकै लेखन तथा निर्देशन भएको नाटकमा आभा नेपाल, अर्पण बस्नेत, विवेक आचार्य, वसन्त पोखरेल, डिलाराम भागवत सापकोटा, दीपेन्द्र कडरिया, नवराज खड्का, प्रवेश पौडेल, प्रणव आकाश, परीक्षित विक्रम राणा, राजेश घिमिरे, रेशम पुन, रामकृष्ण तिमिल्सिना, रूपेन्द्र सिवाकोटी, सुजल श्रेष्ठलगायतको अभिनय रहेको छ । साउन २ गतेसम्म चल्ने नाटक हरेक दिन साँझ ५ बजेर १५ मिनेटमा सर्वनाम थिएटरमा मञ्चन हुन्छ । (सौस)

प्रतिक्रिया