सस्तोमा औषधि

काठमाडौं, २९ असार । सरकारले सर्वसाधारणको हितमा औषधिको मूल्य निर्धारण गरेको छ । औषधि बिक्री वितरणमा व्यापक अनियमिता भई चर्को मूल्य लिएको गुनासोपछि मूल्य निर्धारण गरिएको हो ।

औषधि व्यापारी तथा उत्पादक कम्पनीले आफूखुसी मूल्य निर्धारण गरी उपभोक्तालाई सास्ती दिएपछि ९६ प्रकारका औषधिको मूल्य निर्धारण गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागले बढी प्रचलनमा रहेका औषधिको खुद्रा मूल्य निर्धारण गर्दा २० प्रतिशतसम्म कम मूल्य कायम गरी नयाँ मूल्य निर्धारण भएको छ । विभागले एन्टिबायोटिक, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मिर्गौला, मानसिक रोगलगायतका बिरामीले प्रयोग गर्ने औषधिको खुद्रा मूल्य तोकेको छ ।
विभागले सेफोडक्सिम २०० एमजीको २५ रुपैयाँ, एमोक्सिसिलिन २५० एमजीको ५ रुपैयाँ, एमोक्सिसिलिन ५०० एमजीको ८ रुपैयाँ, सिफिक्सिम २०० एमजीको २० रुपैयाँ, लिभोनोरजेस्ट्रोल १५० एमसीजी चक्की ८०, निमुसुलाइड १०० एमजी ३, सेफट्रयाजोन १ ग्राम इन्जेक्सन ९०, एजिथ्रोमाइसिन २५० एमजीको १७.४५ रुपैयाँ तोकेको छ ।
यसैगरी, सेफट्रयाजोन ५०० एमजी इन्जेक्सनको ६० रुपैयाँ, सिप्रोफ्लोक्सासिन ५०० एमजीको ८, फ्लुकोनाजोल १५० एमजीको २४, टिनिडाजोल ५०० एमजीको ५, लिभोफ्लोक्सासिन ७५० एमजीको १५, एन्टी कोल्ड चक्कीको ३, ओफ्लोक्सासिन ४०० एमजीको ८, ओमिप्राजोल २० एमजीको ४ र पेन्टाप्राजोल ४० एमजीको ८ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
औषधिको नयाँ मूल्य सरकारले राजपत्रमा सूचना प्रकाशित भएपछि तत्काल कार्यान्वयनमा आउने स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीले बताए । उनका अनुसार तोकिएको मूल्यभन्दा बढी मूल्यमा औषधि बिक्री वितरण गरे कारबाही हुनेछ ।

प्रतिक्रिया