घरघरमै भेटिए डेङ्गु सार्ने लामखुट्टे

Musquitoचितवन, २४ असार । चितवनको भरतपुरस्थित बजार क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे, त्यसका लार्भा र प्युपा प्रशस्तै भेटिएका छन् ।

डेङ्गु रोग नियन्त्रणका लागि जिल्लामा भएको लामखुट्टेका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने अभियानका क्रममा यस्तो फेला परेको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले आज दिएको जानकारीअनुसार होटल, घर, कवाड दोकान, गाडी ग्यारेज तथा स्कुलमा समेत लामखुट्टे भेटिएको छ ।

वर्षासँगै डेङ्गु रोग फैलन सक्ने भन्दै उनले सचेत हुन र भाँडामा पानी जम्न नदिन स्थानीयलाई आग्रह गरे । एक हप्तासम्म भाँडोमा जमेको पानीमा डेङ्गु सार्ने लामखुट्टे हुर्कने चिकित्सकले बताएका छन् ।

यही २२ गतेदेखि सुरु भएको ‘खोज र नष्ट गर’ अभियान आज पनि जारी छ ।

भरतपुर क्षेत्रमा बिहानैदेखि ७५ जना महिला स्वयम्सेविका यो अभियानमा परिचालित छन् ।

अभियान सकिएपछि केही दिनमा अन्तिम प्रतिवेदन आउने कार्यालयले जनाएको छ ।

महिला स्वास्थ्य स्वयम्सेविका सपना तामाङले आफू पुगेका आधाजसो घरमा लामखुट्टे फेला पारेको बताइन् ।

हरेक वर्ष अभियान चलाइएको र पहिलो वर्ष भेटिएका घरमा समेत अहिले पनि पुनः भेटिएको भन्दै उहाँले स्थानीयवासी सचेत नभएको पाइएको बताए ।

चितवनमा यो आर्थिक वर्षको अहिलेसम्म ११९ जनामा डेङ्गु लागेको पुष्टि भएको छ ।

कुल एक हजार ६७८ जनाको नमुना परीक्षणमा ११९ जनालाई डेङ्गु रोग लागेको जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरीक्षक केसीले जानकारी दिए ।

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्छ ।

उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा बस्ने र उसका लार्भा त्यसैमा हुर्कने गर्छ ।

प्रतिक्रिया