भूकम्पपछि सडकमै अस्पताल

दोलखा, २२ असार । भूकम्पलगत्तै अस्थायी रूपमा सडकबाट सञ्चालन हुँदै आएका अस्पतालहरू नहट्दा सवारीसाधन सञ्चालन र सर्वसाधारणलाई हिँडडुल गर्न समस्या भएको छ । भूकम्पपछि सदरमुकाम चरिकोटको सातदोबाटो चोकस्थित सडकबाट सञ्चालन हुँदै आएका च्छोरोल्पा जनरल अस्पताल र गौरीशंकर जनरल अस्पताल हालसम्म हटेका छैनन् ।

सदरमुकामको व्यस्त सडकमा अस्पताल सञ्चालन हुँदा सर्वसाधारणलाई हिँडडुल गर्नदेखि यातायात सञ्चालनमा समेत समस्या भएको छ । सर्वसाधारणलाई सास्ती हुने गरी अस्पताल सञ्चालन भइरहे पनि समस्या समाधानका लागि स्थानीय प्रशासनले चासो नदेखाएको सर्वसाधारणको गुनासो छ । सडकमा अस्पताल सञ्चालन हँुदा सर्वसाधारणलाई केही हदसम्म फाइदा भए पनि धेरै बेफाइदा हुने गरेको छ । होहल्लादेखि धुलो र पानीले उपचारमा आएका बिरामीलाई समेत समस्या हुने गरेको ।
सेवामूलक भावनाले भन्दा पनि नाफा कमाउने उद्देश्यले अस्ततालहरूले सडकमै टेन्ट राखेर औषधी पसलसमेत सञ्चालन गर्दै आएका छन् । च्छोरोल्पा अस्पताल सञ्चालन हुँदै आएको भीमेश्वर नगरपालिकाको व्यावसायिक भवन भूकम्पका कारण बस्नै नहुने गरी ध्वस्त भएपछि च्छोरोल्पा अस्पताल १२ वैशाखदेखि व्यस्त चोकमा टेन्ट र पालमुनि सञ्चालन भइरहेको छ । अस्पतालका सञ्चालक किरण दहाल अझै पनि भूकम्पका पराकम्पन नरोकिएकाले सडकमै अस्पताल सञ्चालन गर्न बाध्य भएको बताउँछन् । ‘उपयुक्त स्थानको खोजीमा छौँ । ठाउँ पाए तत्काल सार्नेछौँ । व्यवसायभन्दा पनि नागरिकलाई सेवा होस् भनेर संकटको अवस्थामा पनि अस्पताल सञ्चालन गरेको दहालले बताए ।
दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले स्थानीयको गुनासोपछि सडकमा सञ्चालित अस्पताल हटाउन जिल्ला स्वास्थ्य कार्यालय दोलखालाई निर्देशन दिइसकेको बताए । ‘तरकारी व्यापारीदेखि औषधी व्यापारी सबैलाई समान कानुन लाग्ने भन्दै सडक अस्पताल हटाउन जिल्ला स्वास्थ्य कार्यालयलाई निवेदन दिएको छु,’ लामिछानेले भने ।
नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्केले विपत्का वेला अस्थायी रूपमा सडकमा अस्पताल सञ्चालन गरे पनि अहिले अवस्था सामान्य भइसकेकाले सधैँ सडकमा सञ्चालन गर्नु अन्याय भएको बताए । सडकमा पालमुनि राखेर बिरामीको उपचार गराउँदा उल्टै बिरामीलाई विभिन्न संक्रमण हुनसक्ने मास्केले बताए । उनी सडकमा अस्पताल सञ्चालन हुँदा यातायात सञ्चालनदेखि सर्वसाधारणलाई हिँड्डुल गर्नसमेत समस्या भएकाले तत्काल अस्पताल हटाएर सुरक्षित स्थानमा सञ्चालन गरिनुुपर्ने बताउँछन् ।

प्रतिक्रिया