ओखलढुंगा, २२ असार । ओखलढुंगाको खिजीकाती गाविसमा कार्यरत हुँदा गाविस सचिव गणेश बाँस्तोलाले एक थान ल्यापटप र एक लाख १५ हजार हिनामिना गरेको खुलेको छ । सरुवा हुँदा गाविसको ल्यापटप र विभिन्न योजनाको विकास बजेट कटौती गरेर अनियमितता गरेको पाइएको वर्तमान गाविस सचिव वीरकुमार सुनुवारले जानकारी दिए । बाँस्तोला ल्यापटप र बजेट हिनामिना गरेपछि अन्यत्रै सरुवा भइसकेका छन् ।
खिजिकाती गाविसको अघिल्लो आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता २० हजारमध्ये पाँच हजार, स्वास्थ्यचौकीको ६७ हजारमध्येको सात हजार, स्थानीय शान्ति समितिलगायत विभिन्न शीर्षकबाट गाविसमा जाने रकम कटौती गरेर एक लाख १५ हजार अनियमितता गरेको वर्तमान सचिव सुनुवारको भनाइ छ । बाँस्तोला सरुवा भएर गए पनि ल्यापटपलगायत सामानसमेत नबुझाएकाले भूकम्पपछिको समयमा तथ्यांक अपडेट र सुरक्षित राख्न समस्या भएको छ ।
बाँस्तोलाको सरुवा भएपछि खिजीकाती गएका गाविस सचिव लालबहादुर सुनुवारले गाउँ परिषद्मा गाविसको बजेट तथा ल्यापटप हिनामिना भएकाले खोजी गर्न स्थानीयसँग अनुरोध गरेका थिए । ‘बाँस्तोलाले गाविसको लेटरप्याड र छाप मात्रै बरबुझारथ गरे’ सुनुवारले भने । गत वर्ष स्थानीय शान्ति समितिलाई प्राप्त रकम पनि गाउँमा नपु-याई आफँ योजना बनाएर फरफारक गरी रकम हिनामिना गरेको शान्ति समितिका सदस्यले आरोप लगाएका छन् ।
सचिवले गाविसको बजेट र ल्यापटप हिनामिना गरेको विषयमा एलडिओ शत्रुध्नप्रसाद पुडासैनीले आफूलाई जानकारी नभएको बताए । अनियमितता गरेको पाइएमा कारबाही हुने पुडासैनी बताउँछन् । सचिव बाँस्तोला अन्य गाविसमा काम गर्दासमेत विवादित बनेका थिए । सामाजिक सुरक्षा भत्ताबापत राज्यले दिएको रकमसमेत कटाएर खाने सचिवलाई कारबाही नगरे आन्दोलन गर्नुको विकल्प नहुने स्थानीय कमलबहादुर सुनुवारले बताए । गाविसको बजेट र ल्यापटप हिनामिना गरेको विषयमा प्रतिक्रिया लिन खोज्दा सचिव बाँस्तोलाले गाविसको सम्बन्धित व्यक्तिसँग भेट नभएकाले ल्यापटप नफर्काएको र रकमका विषयमा बुझ्न खोज्दा आपू व्यस्त रहेको भन्दै फोन कटाएका छन् ।
गाविस सचिव हकहित संरक्षण मञ्चका केन्द्रीय सदस्य ईश्वर ढुंगानाले खिजीकातीका स्थानीयले लगाएको आरोप सत्य हो या होइन भन्नेबारे बसेर छलफल गर्नु आवश्यक रहेको बताए । सरोकारवाला र आरोपी दुवै पक्ष बसेर छलफल गर्दा चित्त बुझ्दो उत्तर र प्रमाण दिन नसके बाँस्तोलाले कारबाही भोग्न बाध्य हुनुपर्ने बताए ।
त्यस्तै एलडिओ पुडासैनीले यस विषयमा आफूलाई जानकारी नभएको भन्दै हिनामिना गरेको पाइएमा कारबाही हुने बताएका छन् ।
प्रतिक्रिया