काठमाडौंलाई नाकाबन्दी गर्ने राजेन्द्र महतोको चेतावनी

Rajendra-Mahati-Indian-Dhotकाठमाडौं, २० असार । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानको अन्तिम मस्यौदामा समेत मधेसको माग नसमेटिए दानापानी रोक्ने गरी काठमाडौंलाई नाकाबन्दी गर्ने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले आफूहरुले संविधानसभा र काठमाडौं छाड्ने निर्णय गरेर अरु दलहरुलाई पनि प्रस्ताव राखिसकेको जानकारी दिँदै अब हुने मधेस आन्दोलन नेपालको ईतिहासमा कहिल्यै नभएको आन्दोलन हुने ठोकुवा गरे ।

महताले भने, ‘अन्तिम मस्यौदासम्म कुछौँं । त्यसमा पनि हाम्रो भावना संबोधन भएन भने संविधानसभा त्यागेर काठमाडौंको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी काठमाडौंलाई दानापानी बन्द हुने गरी नाकाबन्दी गर्छौ ।’

उनले आफूहरुको आन्दोलनमा भारतलगायत सारा दुनीयाँको समर्थन रहने दावी गरे । भारत विगतका सहमति र सम्झौताअनुसार संविधान बन्नुपर्छ भन्नेमा स्पष्ट रहेको महतोले बताए ।

‘भारतले मधेस आन्दोलनलाई सम्झौतामा टुङग्याउन मध्यस्थ गरेकोले सो सहमतिअनुसार नभएपछि सम्झाउन भारतीय दुतावास गएका हौं’, महतोले भने ।

एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले दलहरुवीचको सैद्धान्तिक आधार फरक भएकोले आन्दोलनको मुलभुत कुरा कायम राखेर न्यूनतम सहमति गरिएको भन्दै यसले सबै पार्टीमा विरोध रहेको बताए ।

उनले संविधान तत्काल नदिने हो भने जनतामा बढ्दो असन्तुष्टीले मुलुकलाई प्रतिगमन तिर लैजाने स्थिति बन्दै गएकोले आन्दोलनका आधारभुत कुराहरुलाई कायम राखेर सहमति गरिएकोले सबैको स्थिति विन विनको भएको दावी गर्दै भने, ‘मुलुक २०१७ सालको अवस्थामा जाने देखेर हामीले सहमति गरेका हौ । सबै पार्टीमा यसका विरोध देखिएकोले पनि सहमति सन्तुलित छ भन्ने कुरा पुष्टि गरेको छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले प्रमुख दलहरुले सहमति गरेर ल्याएको संविधानको पहिलो मस्यौदा उट जस्तो अनौठो जन्तु बनेको भन्दै धर्म निरपेक्षतालाई जनमत संग्रहको माध्यमबाट टुङग्याउने प्रावधान नराखे आन्दोलनमा जाने चेतावनी दिए ।

उनले अहिले आफूहरुले लिखित मतभिन्नता राखेको जानकार दिदै २ वर्षसम्म ५१ प्रतिसत बहुमतले संविधान संसोधन गर्ने ब्यवस्था गर्नु पर्ने माग गरे ।

राणाले भने–८१ प्रतिसत जनता हिन्दु भएको मुलुकमा धर्म निरपेक्ष लेखिनु राम्रो काम नभएको भन्दै यसलाई तत्काल सच्याएर अघि बढ्नु पर्ने धारणा राखे ।

प्रतिक्रिया