डब्लुएफपीको दाल गोदाममै सिल

चितवन, १८ असार । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का लागि परवानीपुरबाट पठाइएको १८० मेट्रिक टन दाल चितवनको रत्ननगरमा प्रहरीले गोदाममै सिल गरेको छ । विश्व खाद्य कार्यक्रमका लागि बाराको परवानीपुरस्थित धनलक्ष्मी दाल मिलले पठाएको उक्त दाल प्रहरीले रत्ननगरस्थित दन्तकाली खाद्य स्टोर्समा सिल गरेको चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले बताए ।

खाद्य कार्यक्रमका लागि भनेर ल्याइएको उक्त दालमा कीरा लागेको पाइएपछि सिल गरी अनुसन्धान सुरु गरिएको थापाले जानकारी दिए । रत्ननगरमा रहेको दन्तकाली स्टोर्सका सञ्चालक कन्हैयालाल राठीलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘राठीले खाद्य कार्यक्रमका लागि भनेर ल्याइएको र कीरा परेको पाइएपछि फिर्ता गरेकाले ठाउँ नभएर टाँडीको गोदाममा राखिएको बयान दिएका छन्’, प्रहरी प्रमुख थापाले भने, ‘फिर्ता गर्नुपर्ने दाल टाँडीमा राखिएकाले यहाँबाट बिक्री हुन सक्ने आशंकामा सिल गरेका छौँ ।’ अनुसन्धानपछि मात्रै सबै कुरा बाहिर आउने थापाले सरकारी समाचार संस्था राससलाई बताएका छन् ।
इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक मुकुन्द रिजालले डब्लुएफपीको नाममा बिल काटिएको भए पनि छाप भने नरहेकाले आशंका रहेको बताए । पक्राउ परेका उनलाई अहिले इलाका प्रहरी कार्यालय रत्ननगरमा राखेर अनुसन्धान थालिएको छ ।
डब्लुएफपीको खाद्यान्न कुहिएको र बिग्रिएको पाइएको भन्ने समाचारमाथि बुधबार मात्र राष्ट्रसंघको मानवीय मामिला संयोजन तथा सम्बोधन विभागका निर्देशक जोन जिङले ‘ननसेन्स’ भन्दै सञ्चारमाध्यमको आलोचना गरेका थिए । उनले नेपालमा आएको सहयोग अन्यत्र लैजाने धम्कीसम्म दिएका थिए ।
राष्ट्रसंघीय भवन पुल्चोकमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिङले सहयोगको माग अन्यत्रबाट पनि आइरहेको र नेपालमा आवश्यक नभए फर्काउन सकिने बताएका थिए । जिङको धम्की आएको भोलिपल्टै चितवनमा दाल प्रहरीले नियन्त्रणमा लिएर सिल गरेको छ ।

प्रतिक्रिया