शिक्षा कार्यालयको बेरुजु सात करोड बढी

ताप्लेजुङ, १७ असार । जिल्ला शिक्षा कार्यालय ताप्लेजुङको बेरुजु रकम सात करोड रुपैयाँ बढी देखिएको छ । जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर दर्जीले कार्यालयको हालसम्मको बेरुजु रकम सात करोड छ लाख ६१ हजार आठ सय ७७ रुपैयाँ रहेको जानकारी दिए ।

विद्यालय भवन निर्माण, शौचालय निर्माण, भवन मर्मतसम्भारलगायत योजना समयमै सम्पन्न नगरेका कारण बर्सेनी रकम बेरुजु हुने गरेको जिशिअ दर्जी बताउँछन् । सो बेरुजु रकम आर्थिक वर्ष ०६७/०६८ देखिको भएको कार्यालयले जनाएको छ ।
शिक्षा कार्यालयको कुल बेरुजु रकम १२ करोड ४४ लाख ४० हजार छ सय ९६ मध्ये चालु आर्थिक वर्ष ०७१/०७२ को असारसम्म पाँच करोड ३७ लाख ८७ हजार आठ सय १८ रुपैयाँँको फस्र्यौट भएको जिशिअ दर्जीले जानकारी दिए । बेरुजु फस्र्यौटलाई प्राथमिकतामा राखेर काम गरेको भए पनि अझै सात करोड रुपैयाँभन्दा बढी रकम बाँकी रहेको उनले बताए ।
बेरुजु रकम बढ्न नदिन समयभित्रै योजना सम्पन्न गर्नका साथै फस्र्यौट गर्न सम्बन्धित विद्यालयलाई कडाइ गर्दै आएको बताइएको छ । कडाइ गरिँदै आएकै कारण अहिले झन्डै आधा बेरुजु रकमको फस्र्यौट गर्न सफल भएको पनि जिशिअ दर्जी बताउँछन् ।
बजेटको दुरुपयोग हुन नदिन योजनाको नियमित अनुगमनका साथै निरीक्षण गरिँदै आएको कार्यालयले जनाएको छ । समयमै योजना सम्पन्न नगर्ने जिल्लाका चार दर्जन बढी विद्यालयको खाता रोक्का गरिएको छ ।
यस्तै अटेर गर्ने विद्यालयको बैंक खाता नै रोक्का गर्न थालेपछि ती विद्यालयले योजना कार्यान्वयनमा सक्रियता देखाएको बुझिएको छ । पाठ्यपुस्तक र छात्रावृत्तिबाहेकको रकम कारोबार गर्न नपाउने गरी विद्यालयको खाता रोक्का गरिएको शिक्षा कार्यालयले जनाएको छ ।
बेरुजु रकम बढी भएपछि शिक्षा क्षेत्रका धेरै योजना कार्यान्वयन गर्न समस्या भएको पनि कार्यालयले जनाएको छ । बेरुजुकै कारण धेरै योजनाको बजेट घटेको कार्यालयका उपसचिव नीलमणि खनालले जानकारी दिए ।

प्रतिक्रिया