राजा रोबर्ट क्रुजले १२ चोटी युद्ध गरे । तर, १२ चोटी नै युद्धमा हार बेहोर्नुपर्यो । उनी फेरि १३ औँ चोटी युद्धको मैदानमा होमिए । त्यो बेला पनि युद्धमा हार नै बेहोर्नुपर्यो र अन्त्यमा उनी एउटा गुफामा लुक्न बाध्य भए ।
गुफामा लुक्दा उनले देखे– एउटा माकुराले जालो बुन्दै जान्थ्यो र जालोको धागो पनि चुडिँदै गइरहेको थियो । तर, माकुराले हिम्मत हारेन र लगातार जालो बनाउँदै गयो । अन्त्यमा माकुराले पूरा जालो बनाएरै छोड्यो । यो सब राजा क्रुजले हेरिरहेका थिए । उनले माकुराले जालो बुनेको बारे धेरै सोचे र फेरि उनी युद्धका लागि तयार भएर पछिल्लोपटक युद्धको मैदानमा होमिए । त्यो युद्धमा उनले विजय प्राप्त गरेरै छाडे ।
हरेक कुराका दुईवटा पाटा हुन्छन् । एउटा सकारात्मक र अर्को नकारात्मक । हामीले जीवनमा जति पनि काम गर्छौं त्यसको परिणाम पनि कहिले सकारात्मक आउँछ भने कहिले त्यही नै कामको परिणाम नकारात्मक आउन सक्छ । तर, नकारात्मक आयो भन्दैमा फेरि त्यो काम नगर्ने भन्ने हुँदैन । हो, कहिले काहीँ कुनै कामको परिणाम हामीले सोचेअनुरूप नआउन पनि सक्छ । तर, यस्तो बेलामा हरेस खानु भनेको जीवनमा असफल हुनु हो । कुनै काम सजिलै हुन्छ भने कुनै कामका लागि बढी नै मिहिनेत गर्नुपर्ने हुन्छ । मिहिनेत गर्ने मान्छेमा धैर्यता हुन अति आवश्यक हुन्छ ।
प्रायः समाजमा दुईथरी मान्छे देखिन्छन् । एउटा सफल व्यक्ति र अर्को असफल व्यक्ति । यी दुईलाई दाँजेर हेरियो भने यी दुईमा धेरै भिन्नता पाउन सकिन्छ । सफल व्यक्तिमा धैर्य गर्ने क्षमता धेरै हुन्छ भने असफल व्यक्तिमा धैर्य गर्ने क्षमता निकै कम हुन्छ जसको कारण उसले असफलता मात्र देख्नुपरेको हुन्छ ।
जुन व्यक्तिमा धैर्यता भन्ने चीज हुँदैन त्यस्तो व्यक्ति अरू व्यक्तिमा बढी आशावादी हुन्छ । यस्तो व्यक्ति आफूले चाहेअनुरूप नै अरू होस् भन्ने अपेक्षा राख्दछ र त्यो पूरा नभएमा धैर्यता गुमाउन पुग्दछ । जसकारण ऊ असफलताको सँघारमा पुग्दछ । किनभने कुनै पनि चीज सफल हुन गाह्रो हुन्छ र गाह्रो काम गर्न धैर्यता भन्ने चीज आवश्यक हुन्छ ।
यदि माकुराले जालोको धागो चुँडियो भनेर फेरि जालो बुन्ने कोसिस नगरेको भए शायद उसले कहिल्यै जालो बुन्न सक्दैनथ्यो होला । माकुराले कोसिस ग¥यो जालोका लागि र काम पनि सफल भयो । साथै ऊ अरू कसैको प्रेरणाको स्रोत पनि बन्यो ।
जीवनको हरेक क्षेत्रमा धैर्यको निकै आवश्यकता छ । हामीमा जन्मेदेखि नै धैर्यता भन्ने चीज हुनुपर्छ । बच्चा जन्मनेबित्तिकै हिँड्ने र बोल्ने हुँदैन । बच्चाहरू विस्तारै हिँड्छन् । हिँड्दा लड्छन्, फेरि उठ्छन् र फेरि हिँड्छन् । यसरी अन्त्यमा राम्ररी हिँड्न सक्छन् । यदि एकपल्ट लड्यो भनेर हिँड्न छोड्यो भने के त्यो बच्चा फेरि हिँड्न सक्ला त ? कदापि सक्दैन । यसका लागि हिम्मत र धैर्यता हुनुपर्छ । हामीमा कुनै पनि चीजका लागि धैर्यता आवश्यक पर्दछ ।
वैज्ञानिकहरू एउटा सानो कुरो थाहा पाउनका लागि वर्षांसम्म मिहिनेत गर्छन् र अन्त्यमा सफल भई आफ्नो नाम विश्वसामु चम्काउन पुग्छन् । कतिपय समयमा एउटा कुरा थाहा पाउनका लागि थुप्रै मिहिनेत गर्नुपर्दछ, जसका लागि धैर्यता भन्ने चीज अति आवश्यक हुन्छ ।
बिजुलीको बल्ब बनाउन एडिसनलाई हजारौँ प्रयोग गर्नुपर्यो र उनलाई हजारौँ गलत तरिकाको पनि ज्ञान भयो । हो, जो मान्छेमा धैर्यता हुन्छ, ऊ असफलतादेखि डराउँदैन र फेरि त्यो काम गर्छ र अन्त्यमा सफल पनि हुन्छ । यदि कोही असफलतादेखि पहिले नै डराएर त्यो काम गरेन भने उसले काममा सफलता प्राप्त गर्न सक्दैन ।
जोसँग धैर्यता हुँदैन उसलाई रीस बढी उठ्छ । उसले समस्यालाई धैर्यतापूर्वक सोच्नुभन्दा पनि छिटो त्यसको प्रतिक्रिया दिन पुग्छ । यदि धैर्यपूर्वक विषयलाई सोच्ने हो भने हामी कठीन परिस्थितिसम्म पुग्नैपर्दैन । सोच्न र सम्झन समय चाहिन्छ अर्थात् धैर्यता हुनुपर्दछ ।
जसमा धैर्यता भन्ने चीज हुँदैन उसले निराशालाई अंगीकार गर्नुपर्ने परिस्थिति आउँछ । निराशा पूर्णतया भावनाको वशमा हुन्छ र यसबाट निस्केको परिणामले कहिले काहीँ भयंकर परिणाम पनि ल्याउन सक्छ । जस्तै– कतिपय सम्बन्ध विच्छेदमा धैर्यता भन्ने चीज नै हुँदैन । त्यसैले परिणाम नकारात्मक हुन जान्छ । झगडा र रीसको झोकमा धेरै सम्बन्ध विच्छेद हुन्छ । कारण खोजी गर्यो भने त्यहाँ धैर्यता भन्ने चीज नै हुँदैन । पछि पछुताउनुपर्ने हुन्छ ।
त्यसैले कुनै पनि सफलतादेखि लिएर पारिवारिक जीवनमा पनि धैर्यता भन्ने कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नयाँ दुलही बिहेपछि दुलाहाको घरमा आफ्नो एउटा पहिचान बनाउन पनि धैर्यता अपनाउनुपर्छ । नत्र परिवार विखण्डित हुन पुग्छ भने कतिपय समयमा नयाँ दुलहीको भविष्य बर्बाद पनि हुन पुग्छ ।
प्रायः हामी संकटका बेलामा आफ्नो धैर्यता गुमाउँछौँ र त्यो बेला धेरै नराम्रो काम गर्न सक्छौं । जस्तै– आपतकालीन समयमा धैर्यता गुमाउँदा धेरै नोक्सान भएको देखेका छौँ । धैर्यता छैन भने मान्छेमा आफ्नो दायित्व पनि बुझ्न सक्दैन । जो व्यक्तिमा हिम्मत हुन्छ उसमा धैर्य भन्ने चीज हुन्छ । त्यस्ता व्यक्तिको जीवनमा सफलता भन्ने चीज पनि हुन्छ । धैर्यवान् व्यक्ति नै जीवनको एउटा लक्ष्यमा पुग्न सफल हुन्छ । अधैर्यताले जीवनलाई दुःखबाहेक अरू केही दिँदैन । त्यसैले हामी सबैले धैर्यतालाई कहिल्यै गुमाउनु हुँदैन ।
प्रतिक्रिया