बुटवल, १२ असार । दुवै मिर्गौला फेर्नुपर्ने भएका रुपन्देहीको देवदह चरंगेका १३ वर्षीय दीपक आले आफूलाई बचाउन सहयोगको याचना गरेका छन् । सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्ने पूर्णबहादुर र विष्णु आलेका जेठो छोरा दीपकको दुवै मिर्गौला ८० प्रतिशत काम नलाग्ने भएपछि गत चैतबाट उपचार सुरु गरिएको छ ।
दीपकका परिवार यतिबेला छोराको उपचारमा लाग्ने रकम कहाँबाट र कसरी जुटाउने भन्ने गहिरो पीरमा छन् । आफ्नो नाममा कुनै सम्पत्ति नभएको यो गरिब परिवार मिर्गौलाको डायलोसिस गर्दा लाग्ने महँगो रकम जुटाउन नसकेर यतिबेला दिनरात छटपटी हुने गरेको पूर्णबहादुरले बताए ।
उनको उपचारमा महिनाको करिब ४० हजार रुपैयाँ खर्च लाग्ने गरेको छ । हप्तामा दुईपटकका दरले मिर्गौलाको डायलोसिस गरिरहनुपर्ने भएकाले गरिब परिवारका लागि निकै कठिन हुने दीपकको उपचारमा संलग्न सिद्धार्थ सिटी हस्पिटलका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.सुवोधकुमार पाण्डे बताए ।
मिर्गौला फेल भएपछि उपचारमा धाउँदा सीता मावि चरंगेमा सात कक्षामा पढ्दै गरेका दीपकको पढाइ पनि रोकिएको छ । पढाइमा राम्रै रहेका दीपकले पढ्न जान नपाएकोमा भन्दा परिवारको नाजुक आर्थिक हैसियतले आफ्नो उपचारका लागि बुबाआमाले बेहोर्नुपरेको दुःख र पीडा देखेर बढी चिन्तित रहेको बताए । सिद्धार्थ सिटी हस्पिटल बुटवलमा भेटिएका दीपकले उनका बारे बुझ्न खोज्दा भक्कानिएर याचना गर्दै भने, ‘प्लिज मलाई बचाउनुस् म बाँचेर केही गर्न चाहन्छु ।’ दीपकको हाल हप्ताको दुईपटक मिर्गौलाका डायलासिस गराउनुपर्छ ।
बुटवल मैत्रीपथका कुलप्रसाद श्रेष्ठको चरंगेस्थित घरमा आश्रय लिएर बस्दै आएका आले परिवार यतिबेला कोही मनकारीले छोराको उपचारमा आर्थिक सहयोग गरिदिए हुन्थ्यो भन्ने आशमा रहेको पूर्णबहादुरले बताए ।
‘घरजग्गा र श्रीसम्पत्ति भइदिएको भए बेचेर छोराको उपचार गर्ने थियौँ तर सम्पत्ति भन्नु केही छैन’, गला अवरुद्ध गर्दै पूर्णबहादुरले भने, ‘कोही मनकारीले सहयोग गरे छोरो बाँच्ने थियो ।’
दीपकको आर्थिक अवस्था नाजुक देखेर सिद्धार्थ सिटी हस्पिटलले दुई महिनासम्म निःशुल्क उपचार गरिदिएको र हाल ५० प्रतिशत छुट दिएको अस्पतालको बुटवल शाखा प्रबन्धक राजीव केसीले बताए । ‘हामीले कोही दाता÷समाजसेवीबाट सहयोग होला कि भन्ने आश गर्दै दुई महिनासम्म त निःशुल्क गर्यौं’, केसीले भन, ‘उसलाई बचाउन धन पनि भएका मन पनि भएका दाताको खाँचो देखिएको छ ।’
दीपकको उपचारमा सहयोग गर्न चाहनेलाई बैंकमार्पmत रकम जम्मा गर्न तिनाउ विकास बैंकमा १११००००००२१८ नम्बरको खाता खोलिएकाले इच्छुक समाजसेवी दानवीरलाई सहयोग गर्न दीपकको परिवारले अपिल गरेको छ ।
सरकारले आवश्यक प्रक्रिया पूरा गरेर निवेदन दिएमा मिर्गौलाको उपचारका लागि आठ लाख रुपैयाँ दिने व्यवस्था रहे पनि दीपकको परिवारले सो सुविधा लिन प्रक्रिया थालेको छैन । ‘अस्पतालले त सरकारबाट पैसा पाइन्छ भन्थ्यो तर हामीले के के गर्ने हो मेसो नै पाउन्नम्’, दीपककी आमा विष्णुले भनिन्, ‘हामी जस्ता अबुझ र गरिबलाई खै कसले हो हेर्ने ?’
नियमित डायलासिस गर्नसक्ने हो भने दुवै मिर्गौला फेल भएका बिरामी पनि कम्तीमा २५–३० वर्ष बाँच्न सक्ने र स्वस्थ मिर्गौला प्रत्यारोपण गर्नसके त पूरै आयु बाँच्न सकिने मिर्गौला रोग विशेषज्ञ डा.सुवोधकुमार पाण्डे बताउँछन् ।
प्रतिक्रिया