कुपोषणका कारण देशकै भविष्य खतरामा

Dhiraj-Karkiवैशाख १२, १३ र २९ गते गएको भूकम्प र त्यसपछिका पटक–पटक गरी गइरहेका परकम्पले धेरैलाई प्रभावित पारिरहेको छ । विशेषगरी मध्यनेपालका १४ भन्दा बढी जिल्ला यसबाट धेरै प्रभावित भएका छन् । भूकम्पबाट सबैलाई प्रभाव त पारेकै छ, त्यसमा पनि महिला, बालबालिका, अपांग तथा वृद्धवृद्धाहरू यस्ता विपत्तिका बेला अझै बढी पीडित छन् । भोलिको देश बनाउने बालबालिकाहरूको स्वास्थ्य पोषणको स्थिति बिग्रिन गई कुपोषणको खतरा यस्तो समयमा हुन्छ ।
सम्भावित बालकुपोषणको खतरा न्यूनीकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले प्रभावित जिल्लाहरूमा अभियान पनि चलाइरहेका छन् । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले युनिसेफ र विभिन्न गैरसरकारी संस्थाहरूको सहकार्यमा विभिन्न जिल्लामा शीघ्र कुपोषण न्यूनीकरणका लागि काम गरिरहेको छ । त्यसै अभियानअन्तर्गत नेपाली प्राविधिक समूह एनट्यागका तर्फबाट धादिङ जिल्लामा सञ्चालित समुदायमा आधारित शीघ्र कुपोषण व्यवस्थापन कार्यक्रमका जिल्ला संयोजक पोषणविद् धिरज कार्कीसँग बाल कुपोषण न्यूनीकरणका विविध पक्षका विषयमा गरिएको कुराकानी :
भूकम्पका कारण बालबालिका के–कति प्रभावित भएको पाउनुभयो ?
यतिबेला हामी सबै अकल्पनीय भूकम्पीय विपत्तिको सिकार भएका छौँ । यसले के बालबालिका, के वृद्धवृद्धा, के वयष्क सबैलाई प्रभाव पारेकै छ । तर, बालअवस्था जीवनको अत्यन्तै सम्बेदनशील अवस्था भएको हुनाले बालबालिकाहरू यस्तो विपत्तिका बेला अरूभन्दा बढी प्रभावित हुन्छन् । हामीकहाँ पनि बालकालिकाहरू भूकम्पपछि खानपान, सरसफाइ आदिमा ध्यान दिन नसक्दा स्वास्थ्य समस्यामा पर्न थालिसकेको पनि भेटियो । आज बालबालिका कुपोषित भए भोलिको देशै कुपोषित हुन्छ । अहिले हामी उनीहरूको अवस्था बुझ्ने क्रममै छौँ । आजसम्मको तथ्यांक हेर्दा केही बालबालिका कुपोषित भइसकेको र धेरैजसो कुपोषित हुने जोखिममा रहेको देखिन्छ ।
कुपोषण न्यूनीकरणका लागि तपाईंहरूको अभियानमा के–के गर्दै हुनुहुन्छ ?
हामी अहिले धादिङ जिल्लामा समुदायमा आधारित शीघ्र कुपोषण व्यवस्थापन कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यो नेपाल सरकार र युनिसेफको कार्यक्रम हो । यसलाई एनट्यागले कार्यान्वयनमा सहजीकरण गरिरहेको छ । यस कार्यक्रमअन्तर्गत हामी बालबालिकाको पोषण अवस्थाका बारेमा जाँच गर्ने, कुपोषित, कुपोषणको खतरामा रहेका वा स्वस्थ बालबालिकाहरूलाई छुट्टाछुट्टै उपचार पद्धतिमार्फत उपचार पनि गरिरहेका छौँ । साथै स्वास्थ्य स्वयंसेविका तथा स्थानीयस्तरमा कार्यरत स्वास्थ्यकर्मीमार्फत घर–घरमा बालबालिकाको हेरचाहका लागि अपनाउनुपर्ने सावधानीबारे चेतना फैलाइरहेका छौँ । स्तनपानको महत्व र स्थानीयस्तरमै पाइने खानेकुराहरूलाई पोषिलो तथा सन्तुलित बनाएर खान सकिने तरिका आदिका बारेमा चेतना पैलाइरहेका छौँ ।
सम्भावित खतराबाट बच्न के–कस्ता सावधानी अपनाउन सकिन्छ ?
यस्तो बेलामा सरसफाइ, खानपान र बस्ने वातावरणमा ध्यान दिन नसक्दा समस्या निम्तिन सक्छ । त्यसका लागि पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने, खानेकुराहरू स्वच्छ छ भन्ने यकिन गरेर मात्र सन्तुलित मात्रामा खाने, आपू बसेको वरिपरिको वातावरण सधैँ सफा राख्ने, चिसो, घाम तथा पानीबाट आपू पनि बच्ने र अरूलाई पनि बचाउन सहयोग गर्ने, भिडभाडमा सकेसम्म नजाने वा जानैपरे पनि मास्क वा रुमालले नाकमुख छोपेर मात्र जाने, गर्भवती महिला, बालबालिका, अशक्त र वृद्धवृद्धालाई परिवारका अन्य सदस्यले सहयोग गर्ने गर्नुपर्दछ ।
घरमै के–कसरी पोषिला र सन्तुलित खानेकुरा बनाउन सकिन्छ ?
हामीले आपूसँगै भएका खानेकुरा मिलाएर खान सक्यौँ भने धेरै रोगबाट बच्न सकिन्छ । आपूसँग भएका गेडागुडी, दाल, चामल आदिलाई मिलाएर खान सकिन्छ । यस्तो बेलामा चामल, दाल आदि मिलाएको खिचडी उपयोगी हुनसक्छ । उपलब्ध भएसम्म हरिया तरकारी तथा फलपूलहरू सफासँग पखालेर खानुपर्दछ । ६ महिनासम्मका बच्चालाई अनिवार्य रूपमा आमाको दूध मात्र खुवाउने र त्यसपछाडि कम्तीमा दुई वर्षसम्म आमाको दूधका साथसाथै पुरक पोषिला खानेकुरा खुवाउनुपर्दछ । त्यस्ता पोषिला खाना बनाउन आपूmसँग भएको अन्न दुई भाग र गेडागुडी एक भाग बेग्ला बेग्लै भुटी पीठो बनाएर सागपात, दूध वा माछामासुसँग मिलाएर खुवाउन सकिन्छ । सबै उमेरका मानिसले गेडागुडी खाँदा सकेसम्म एक रात पानीमा भिजाएर खादा राम्रो हुन्छ । उपलब्ध भएसम्म हप्तामा दुई/तीनपटक माछा मासु वा अन्डा उपभोग गर्नुपर्दछ । दीर्घरोगीहरूले आफ्नो स्वास्थ्य अवस्थाअनुसार खानेकुराको योजना बनाउनुपर्दछ ।
कुपोषण न्यूनीकरणका लागि अबको योजना के छ ?
हामी अहिले यही समुदायमा आधारित शीघ्र कुपोषण व्यवस्थापन कार्यक्रमकै उद्देश्यअनुरूप काम गरिरहेका छौँ । भविष्यमा पनि देशव्यापी रूपमा कुपोषण न्यूनीकरणको अभियानमा विभिन्न तरिकाले संलग्न भइरहने छाँ । त्यसका लागि सचेतना, जीविकोपार्जन, सरसफाइ खानपान व्यवस्थापन आदिमा सहयोग जस्ता कार्यक्रमका मोडल हुन सक्छन् ।

प्रतिक्रिया