सूर्योदयमा विद्यार्थी नेताहरूद्वारा ‘छड्के’

Student-&-Pabson-Kcकाठमाडौं, १० असार । नपढाएको वैशाख महिनाको शुल्क पचास प्रतिशत मात्रै लिने सहमति विपरीत पूरा महिनाको शुल्क लिएको डिल्लीबजारको सूर्योदय बोर्डिङ स्कुलमा विद्यार्थी संगठनका नेताहरूले छड्के हानेका छन् ।

दलबलसहित आज पुगेका विद्यार्थी संगठनका नेताहरूले स्कुलका प्रिन्सिपलसँग सहमति विपरीत अभिभावकहरूसँग शुल्क असुलेका विषयमा जानकारी लिएका थिए ।

नेविसंघका प्रवक्ता यूपी लामिछानेका अनुसार विद्यालयका प्रिन्सिपल लक्ष्यबहादुर केसीले वैशाख महिनाको शुल्क पूर्व सहमतिअनुसार पचास प्रतिशत मात्रै लिने प्रतिवद्धता जनाएका छन् ।

स्मरण रहोस् निजी विद्यालय सञ्चालकहरूको संगठन प्याब्सनका अध्यक्षसमेत रहेका केसीले आफ्नै विद्यालय सूर्योदयमा सहमति विपरीत अभिभावकहरूसँग वैशाख महिनाको पूरा शुल्क असुलेका छन् ।

अध्यक्ष स्वयंले आफैले सरकार र विद्यार्थी संगठनहरूसँग गरेको सहमति उल्लंघन गरेपछि अन्य निजी विद्यालयका सञ्चालकहरूको अवस्था के होला ?

‘आगामी सोमबारसम्म सबै विद्यालयहरूलाई परिपत्र गरेर वैशाख महिनाको शुल्क पचासप्रतिशत मात्रै लिन निर्देशन दिने आश्वासन पाएका छौं’, प्रवक्ता लामिछानेले भने, ‘सहमति कार्यान्वयन नभए हामीले आन्दोलन गर्ने चेतावनी उहाँलाई दिएका छौं ।’

प्रतिक्रिया