अब सहमति कार्यान्वयन नगर्ने विद्यालयलाई कारबाही

Student-Haruकाठमाडौं, १० असार । विद्यार्थी नपढाएको वैशाख महिनाको आधा शुल्क मिनाहा गर्ने सहमति कार्यान्वयन नभएपछि आन्दोलनरत विद्यार्थी संगठनहरूले निर्णय कार्यान्वयन गराउन आफै अनुगमन सुरू गरेका छन् ।

निजी विद्यालयले सहमति कार्यान्वयन नगरेको गुनासो अभिभावकले गरेपछि विद्यार्थी सङ्गठनहरूले आजदेखि आफैँ अनुगमन सुरू गरेको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।

भूकम्पका कारण वैशाख महिनाभरि विद्यालय बन्द भएपछि सो महिनाको आधा शुल्क मिनाहा गर्ने सहमति भएको थियो । तर सहमति कार्यान्वनय नगरेपछि सहमतिको अनुगमन गर्न थालिएको लामिछानेले बताए ।

शिक्षा विभागका पदाधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीको अनुगमन प्रभावकारी नभएको विद्यार्थी संगठनहरूको आरोप छ ।

‘प्याब्सन र एनप्याब्सनका पदाधिकारीहरूका विद्यालयबाट अनुगमन सुरू गर्नेछौं’, प्रवक्ता लामिछानेले भने ।

सरकारी अनुगमन टोलीले गरेको अनुगमनका क्रममा निजी विद्यालयले विभिन्न बहानामा पूरै शुल्क लिएको पाइएको छ । शुल्क लिएको पाउँदासमेत सरकारी टोलीले उचित कारबाही नगरेको अखिल छैठौँका अध्यक्ष अनिलकिशोर घिमिरेले बताए ।

विद्यालयले यातायात, खाना, होस्टेल खर्च आदिका नाममा अझै पनि विद्यार्थीबाट शुल्क लिएको पाइएको घिमिरेले बताए ।

विद्यालयले आधा महिनाको शुल्क मिनाहाका लागि अभिभावकसँग भूकम्पपीडितको परिचयपत्र खोज्ने गरेका छन् ।

शिक्षा मन्त्रालय, अभिभावक संघ र विद्यार्थी सङ्गठनबीच गएको वैशाख ६ गते शुल्क नबढाउने सहमति भएको थियो । जेठ ३१ गते शिक्षा मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा आधा महिनाको शुल्क मिनाहा गर्ने निर्णय गरेको थियो ।

सहमति विपरीत विद्यालयले शुल्क लिएमा प्रमाणसहित आफूहरूलाई जानकारी दिन पनि विद्यार्थी सङ्गठनहरूले विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेका छन् ।

निजी विद्यालयले सहमति कार्यान्वयन नगरेर विद्यार्थी सङ्गठनहरुलाई अवमूल्यन गरेको ठहर गर्दै बुधबार बसेको विद्यार्थी सङ्गठनहरूको बैठकले आफैँ अनुगमनमा लाग्ने निर्णय गरेको थियो ।

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ मा भर्नाका लागि फाराम शुल्क रु २५ र प्रवेश परीक्षा शुल्क रु एक सयमात्रै तोकेको भए पनि कतिपय उच्च माविले तोकिएभन्दा बढी लिएको पाइएको भन्दै अनुगमन गर्न परिषद्लाई आग्रह गरेको छ ।

अनुगमनका क्रममा दोषी पाइएकालाई तत्काल कारबाही गर्न पनि विद्यार्थी सङ्गठनहरूले माग गरेको प्रवक्ता लामिछानेले जानकारी दिए ।

प्याब्सककै अध्यक्षको विद्यालयले शुल्क असुल्दै
प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीद्वारा सञ्चालित डिल्लीबजार, घट्टेकुलोस्थित सूर्योदय बोर्डिङ स्कुलले सहमति विपरीत अभिभावकसँग शुल्क असुल्दै आएको छ ।

सरकार, विद्यार्थी संगठनसँग स्वयं प्याब्सनका तर्फबाट अध्यक्ष केसीले वैशाख महिनाको आधा मात्रै शुल्क लिने सहमति गरेर आएका थिए । तर उनले सहमतिलाई ‘फरिया’ लगाइदिएका छन् ।

अध्यक्ष केसीले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीमार्फत अभिभावकहरूलाई वैशाख महिनको पुरा शुल्कसहितको विल पठाएका हुन् ।

‘वैशाख महिनाको शुल्क आधा मात्रै लिने सहमति भएको होइन र ?’, भन्ने अभिभावकहरूको जिज्ञासामा सूर्योदय बोर्डिङ स्कुलकी एकाउन्टेनले भनिन्, ‘हामीलाई थाहा छैन । त्यसो हो भने प्रिन्सिपलसँग कुरा गर्नुस् ।’

प्रतिक्रिया