२२ प्राथमिक विद्यालय गाभिने

ताप्लेजुङ, १० असार । जिल्लाका २२ प्राथमिक विद्यालयलाई अर्को विद्यालयमा गाभिने भएको छ । जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले विद्यार्थी संख्या नपुगेको भन्दै ती विद्यालयलाई अर्काे विद्यालयमा गाभ्ने तयारी गरिएको हो ।

शिक्षा नियमावली अनुसार एक शिक्षक बराबर ४० विद्यार्थी हुनुपर्नेमा सो संख्या अपुग भएका विद्यालयलाई अर्को विद्यालयमा गाभिने तयारी गरिएको जिल्ला शिक्षा कार्यालयका उपसचिव नीलमणि खनालले जानकारी दिए । उपसचिव खनालका अनुसार हिमाली जिल्ला भएका कारण नियमावलीमा तोकिएको संख्याको २० प्रतिशत वा एउटा कक्षा बराबर आठ विद्यार्थी हुनुपर्ने प्रावधान छ ।
नियमावलीमा व्यवस्था भए अनुसार विद्यार्थी संख्या कम भएमा साथै नजिकको विद्यालय आधा घन्टाको दुरीभित्र भएको अवस्थामा विद्यालय मिलान गर्न सकिन्छ । निरीक्षण तथा अनुगमनका क्रममा ४० भन्दा न्यून विद्यार्थी संख्या भएका २२ विद्यालय फेला परेकाले गाभिने प्रक्रिया सुरु गरिएको र प्रक्रिया छिट्टै पूरा हुने पनि खनालले बताए ।
उपसचिव खनालका अनुसार मिलान गर्न लागिएका विद्यालयमा जिल्लाका दुर्गम याम्फुदिन गाविसमा रहेको याम्फुदिन प्राथमिक विद्यालय, याम्फुदिनकै कृष्ण प्राथमिक विद्यालय र गहुँबारी प्राथमिक विद्यालय, थुम्बेदिनको पृथ्वी प्राथमिक विद्यालय, तापेथोकको पाथीभरा प्राथमिक विद्यालय, सुरुम्खिमको खाम्पियोक प्राथमिक विद्यालय, साब्लाखुको लुङ्सुङपौवा प्राथमिक विद्यालय रहेका छन् ।
यस्तै, ताप्लेजुङ नगरपालिकाको याङ्लिजुङ प्राथमिक विद्यालय, पेदाङको भन्जारे प्राथमिक विद्यालय, ओलाङचुङगोलाको याङ्मा प्राथमिक विद्यालय, नाङ्खोल्याङको विश्वज्याति प्राथमिक विद्यालय, नाङ्खोल्याङकै शिव प्राथमिक विद्यालय रहेका छन् । हाङ्पाङको गणेश प्राथमिक विद्यालय, लिम्बुदिनको जनता प्राथमिक विद्यालय र देउराली प्राथमिक विद्यालयमा विद्यार्थीको संख्या न्यून पाइएकाले नजिकको विद्यालयमा मिलान गर्न लागिएको हो ।
ताप्लेजुङमा उच्च माध्यमिक र माध्यमिक ५५, निम्न माध्यमिक ६१ र प्राथमिक विद्यालय दुई सय २१ गरी कुल तीन सय ३७ वटा विद्यालय सञ्चालित छन् । अब २२ विद्यालय मिलान गर्ने प्रक्रिया पूरा भएपछि जिल्लामा तीन सय १५ विद्यालय मात्र रहने भएको छ । शिक्षा कार्यालयका अनुसार विगतमा अधिकांश विद्यालयले फर्जी विद्यार्थीको तथ्यांकसमेत कार्यालयमा पेस गर्ने गरेका थिए ।
पछिल्लो समय विद्यार्थीको अभिलेखीकरण कार्यलाई कडाई गरेपछि विद्यार्थी संख्या नपुगेका विद्यालय फेला परेको जिल्ला शिक्षा अधिकारी पूर्णकुमार दर्जीले बताए ।

प्रतिक्रिया