जति आकर्षक त्यति आलोचित

मीरा खनाल, प्रिन्सिपल  अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्स

मीरा खनाल, प्रिन्सिपल
अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्स

काठमाडौं, ८ असार । नर्सहरूको पेसा जति आकर्षक छ, त्यति नै आलोचित पनि । नर्सिङ पढ्नका लागि पछिल्लो समय नेपालमा तँछाडमछाड नै हुने गरेको छ । अझ नर्सहरूको बिरलै आउने गरेका ‘प्रेमकथा’को झन् आलोचना हुने गरेका छन् ।

अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्सेजकी प्रिन्सिपल मीरा खनालले यदाकदा चर्चामा आउने नर्सको ‘प्रेमकथा’प्रति जानकार छिन् । उनी नर्सहरूको व्यक्तिगत प्रेमसम्बन्ध डाक्टर, बिरामी र बिरामी कुरुवाहरूसँग जोडिएर आउने विषय शोभनीय नभएको बताउँछिन् ।

हरेक नर्सहरूले आफ्नो कार्यक्षेत्रभित्र राख्ने सबै सम्बन्धहरू चिकित्सकीयसम्बन्ध मात्र हुनुपर्ने उनको तर्क छ । त्यति मात्रै नभई नर्सहरूको प्रेमसम्बन्ध सेवामा मात्रै केन्द्रित हुनुपर्ने उनको भनाइ पनि छ ।

‘महिनौँ, वर्षौँसम्म आफूले सेवा गरेको बिरामी छुट्टिँदा नर्सहरूमा एक प्रकारको शून्यताको महसुस अवश्य हुन्छ,’ उनी भन्छिन्, ‘ती सम्बन्धहरूमा केवल चिकित्सकीय प्रेममात्र हुनुपर्छ अन्यथा सम्बन्धित नर्सले आफ्नो सम्बन्धको व्यवस्थापन गर्न नसकेको मानिन्छ ।’

नर्सहरूका सम्बन्धहरू जब चिकित्सकीयसम्बन्धबाट व्यक्तिगत प्रेम प्रकरणमा झर्छन् तब नर्सले आफ्नो पेसागत मर्यादाको ख्याल नगरेको बुझ्नुपर्ने उनको भनाइ छ ।

नर्सको क्षेत्र हस्पिटल मात्र होइन

नर्स भन्नासाथ हामीलाई उसको कार्यक्षेत्र हस्पिटल हो भन्ने लाग्छ । तर, नर्स खनालकै भनाइमा यो अपुरो बुझाइ हो । आजभोलि आपतकालीन स्वास्थ्य समस्यालाई ध्यानमा राखेर एयरलाइन्सहरूले एयरहोस्टेजको रूपमा नर्सहरूलाई नै पहिलो प्राथमिकता दिने गरेको खनाल बताँउछिन् ।

महिनौँ, वर्षौँसम्म आफूले सेवा गरेको बिरामी छुट्टिँदा नर्सहरूमा एक प्रकारको शून्यताको महसुस अवश्य हुन्छ, ती सम्बन्धमा केवल चिकित्सकीय प्रेम मात्र हुनुपर्छ अन्यथा सम्बन्धित नर्सले आफ्नो सम्बन्धको व्यवस्थापन गर्न नसकेको मानिन्छ

–मीरा खनाल, प्रिन्सिपल
अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्स

त्यस्तै, उद्योगमा औद्योगिक नर्स, विद्यालयमा स्कुल नर्स, समाजमा सामुदायिक नर्स भनेर विभिन्न क्षेत्रहरूमा नर्सलाई रोजगारीको अवसर भएको उनको तर्क छ ।
खनालले बूढानीलकण्ठ जस्ता केही विद्यालयहरूले ‘स्कुल नर्स’ भनेर विद्यालयमै नर्सलाई रोजगारी दिइरहेको जानकारीसमेत दिइन् ।
नेपालका नर्सहरू बेरोजगार
रोजगारीको अवसरभन्दा बढी नर्सहरू उत्पादन भएका कारण हाल नेपालमा नर्सहरू बेरोजगार बस्नुपरेको अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्सेजकी सञ्चालक विद्या श्रेष्ठको भनाइ छ । ‘त्यही भएर बिदेसिनका लागि समेत अनुभव आवश्यक भएकाले कतिपय नर्सहरू बेतलब स्वयंसेवा गरिरहेका छन्,’ उनी भन्छिन्, ‘हस्पिटलको चाहनाभन्दा पनि सम्बन्धित नर्सकै आवश्यकताले तलबविनै स्वयंसेवा गर्नुपर्ने बाध्यता छ ।’
कतिपय हस्पिटल सञ्चालकहरूले विनातलब नर्सहरूको श्रमशोषण गर्ने गरेको आरोपसमेत लाग्ने गरेको छ । सरकारी कोटाहरू अत्यन्त कम भएका कारणले पनि नर्सहरू बेरोजगार बन्नुपरेको यस क्षेत्रमा संलग्नहरू नै बताउँछन् ।

प्रतिक्रिया