पौडी खेल संसारको लोकप्रिय खेलमध्ये पर्छ । संयोग नै हो कि अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय रहेका खेलमा नेपालको सन्तोषजनक प्रदर्शन रहन सकेको छैन । फुटबल, एथलेटिक्स, चेस, बास्केटबल, पौडी र जिम्न्यास्टिक जस्ता ठूला महासंघ र धेरै क्षेत्र ओगटेका खेलमा नेपाल निरीह जस्तै छ । अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय खेलमध्ये टेनिसको जुनियर टोलीले यसै वर्षदेखि आफूलाई माथिल्लो उचाइमा पुर्याउन सफल भयो । आठ वर्षअघि सुरु भएको जेटिआई प्रोग्रामका कारण टेनिसको पछिल्लो पुस्ता अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनेको छ । यसका आलावा नेपाली पौडीजगत्मा अहिले एउटी स्टारको उदय भएको जसले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकोस् ।
गरिमा राणा २०५० सालको एसएलसीमा बोर्ड फस्ट भएर चर्चामा रहेकी थिइन् । २२ वर्षपछि तिनै गरिमा राणाकी छोरी गौरिका सिंह नेपाली खेल क्षेत्रमा चर्चामा रहेकी छिन् । आसन्न विश्व च्याम्पियनसिपका लागि भएको छनोट चरणमा ६ स्पर्धामा सहभागी गरिमाले ६ वटैमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । दिन प्रतिदिन उन्नति पथमा लम्केकी गौरिकाको लक्ष्य विश्व च्याम्पियनसिपमा पनि राष्ट्रिय कीर्तिमान कायम गर्ने रहेको छ ।
काठमाडौंको ठमेल गौरिकाको पुख्र्यौली घर हो । चिकित्सकसमेत रहेका बाबु पारस सिंह छात्रवृत्तिमा लन्डन पुगेपछि उतै रहे । पारसको रोजगारी पनि उतै रह्यो । लन्डन पुग्दा गौरिकाको उमेर दुई वर्ष मात्र थियो । लन्डनमै रहँदै जाँदा सानो उमेरमै गौरिका पौडी खेल्न थालेकी थिइन् तर पछिल्लो दुई वर्षयता भने निश्चित योजनासहित नियमित प्रशिक्षणमा व्यस्त छिन् ।
लन्डनमै रहँदा गौरिकाले क्षेत्रीय उमेर समूहमा पदक जितिसकेकी छिन् । संसारका थुप्रै देशका खेलाडी प्रशिक्षण गर्ने क्लबका खेलाडीमाझ गत वर्ष मात्र उनका प्रशिक्षकले राम्रो सल्लाह दिए । केन्या र पाकिस्तानका खेलाडी आफ्नै देशको प्रतिनिधित्व गर्दै पौडी खेल्न थालेपछि प्रशिक्षक रिस गोर्मेलीले पनि गौरिकालाई नेपालमै खेलाउन सल्लाह दिए ।
बेलायतमा बसे पनि त्यहाँको नागरिकता नभएका कारण उनीहरूलाई गौरिकालाई नेपालमा खेलाउन सहज थियो । गत वर्ष नेपाल आएपछि गरिमा परिवारले नेपाली पौडीको अवस्था राम्रोसँग बुझ्यो । फटाफट राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेपछि गौरिका एकाएक छाएकी थिइन् । त्यसपछि गौरिकाको परिवारै बेलायत फर्कियो ।
आसन्न विश्व च्याम्पियनसिपका लागि छनोट हुने भएपछि गरिमा छोरीलाई लिएर फेरि काठमाडौं आइन् । काठमाडौंमा रहँदा नै भूकम्पका कारण छनोट मिति सरेको थियो । बेलायत पुगेकी गरिमा फेरि गौरिकालाई लिएर छनोटका निम्ति काठमाडौं आइन् । अघिल्लोपटकको भन्दा स्पर्धा घटाउँदै यसपटक ६ स्पर्धामा भाग लिएर सबैमा राष्ट्रिय कीर्तिमान कायम गरिन् । दुईवटामा त पुरुषले कायम गरेका कीर्तिमान पनि भंग गरिन् ।
आमा गरिमा छोरी गौरिकाका लागि योजना बुन्दै छिन् । समय अन्तराल र त्यसमा सुधार गर्नुपर्ने कुरामा उनीहरू प्रस्ट छन् । त्यसैले ११ वर्षे छोरीको भविष्यप्रति उनीहरू आशावादी मात्र होइन, विश्वस्त छन् । त्यसो त प्रशिक्षण गर्ने बार्नेट कोथाले क्लबको पनि नियम अलि कडै छ । समयअनुसार समयमा सुधार नभए त्यो क्लबमा रहन मिल्दैन । लगभग रेस्टिकेट जस्तै हो ।
आमा गरिमालाई विश्वास छ, परिपक्व उमेरमा छोरीले लगाउने समय बेलायती टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनका लागि पर्याप्त हुने छ । तर, यो समय दक्षिण एसियाली र एसियाली स्तरका प्रतियोगितामा पदक जित्न कति पर्याप्त हुन्छ त्यसको अनुमान गर्न भ्याएकी छैनन् । तथापि पौडी विज्ञहरूको मत छ, त्यो समय दक्षिण एसियाली स्तरमा स्वर्ण जित्न र एसियाली स्तरमा पदक जित्न काफी हुने छ । गौरिकाकै कारण नेपाली पौडीले कुनै समय राम्रो परिणाम दिनेमा सबै आश्वस्त छन् ।
प्रतिक्रिया