काम गरेर खान केको लाज ?

samjhana_raiअहिले पनि हाम्रो समाजमा केही काम यस्ता छन् जसलाई पुरुष वा महिलाले गर्ने भनेर हेरिन्छ । सर्वजनिक स्थानमा बसेर जुत्ता बनाउनु वा सिलाउनु पुरुषको मात्र काम हो भनेर हेर्ने सोचाइ आमरूपमा छ । तर, नुवाकोट घर भएकी ३१ वर्षीया सम्झना मिजार राई जुत्ता बनाउने र जुत्ता मर्मतको सबै काम कुशलतापूर्वक गर्छिन् । भूकम्पले प्रभावित उनी यति बेला टंगालमा रहेको भिनाजुको पसल पूर्णरूपले धानेर बसेकी छन् । काम गरेर खान लाज मान्न हुँदैन भन्ने सम्झनालाई आफ्नो पेसामा गर्व छ । सामान्य लेखपढ गर्ने उनी आफ्ना दुई सन्तानलाई राम्रो शिक्षा दिनुपर्छ भनेर सचेत छिन् र आफ्नो काममा प्रतिबद्ध पनि । सौर्य दैनिकले हालै उनीसित संवाद गर्‍यो । सोही संवादमा आधारित यो प्रस्तुति :
काठमाडौंको टंगाल (ढल्कुचोकमा) रहेको घरेलु जुत्ता निर्माण एवं मर्मत पसलमा ३१ वर्षे सम्झना राई जुत्ता बनाउने काममा व्यस्त छिन् । जिउनका लागि उनले धेरै संघर्ष गरिन्– तरकारी पसलदेखि फलफुल बेच्ने, होटल चलाइन्, ज्यामी काम गरिन् । सबै काममा उनले सफलता पाउन सकिनन् । धेरै कामको अनुभव बटुलेर थाकेकी उनी अन्त्यमा जुत्ता बनाउन पुगिन् । बाँच्न आवश्यक जोहो गर्न उनका ती पसलले सकेनन् तापनि जीवन संघर्ष हो, हार्नु हुँदैन भन्ने मान्यता बोकेकी उनले निरन्तर संघर्ष गरिरहिन् ।
काठमाडौंको महँगाइमा उनका अगाडि धेरै समस्या थिए । श्रीमान्को एक्लो कमाइ र दुई सन्तानको पालन पोषण एवं पढाइ सबै पुर्‍याउन उनी केही गर्ने सोचमा लागिरहेको बेला आफन्तले सल्लाह दिए– जुत्ता बनाउने पेसामा राम्रो आम्दानी हुन्छ भनेर । माइतघरमा प्रायः सबैले त्यसैले राम्रो कमाइ गरेको उनले देखेकी थिइन् । आर्कषण बढ्यो । रोजिन्, त्यही जुत्ता बनाउने पेसा । हप्ताको ५० रुपैयाँबाट सुरु भएको उनको यो पेसामा अहिले उनलाई पाँच सयदेखि एक हजारसम्म कमाइ हुन्छ । सुरुका दिन उनलाई पनि सहज थिएन, काम सिक्न अनेक ठाउँ चहार्नुप¥यो । फेरि सिकारुलाई कसले पो दिन्थ्यो र राम्रो दाम । सित्तैमा काम लगाउन पाए हुन्थ्यो भन्ने मानसिकता बोकेका मान्छे धेरै छन् हाम्रो समाजमा । हिम्मत र आँट भएकी उनी आफ्नो कर्ममा प्रतिबद्ध भएर लागिरहिन् र आज सफल भएकी छन् ।
कता गए राम्रो होला, श्रमअनुसारको दाम पाइएला भनेर धेरै ठाउँ धाउन पुगिन् उनी । नाम चलेका ठूला जुत्ता कारखाना कोसेलीदेखि फुटपाथसम्म काम गरेको अनुभव छ सम्झनासँग । गरे जे पनि सकिन्छ भन्ने मान्यता राख्ने उनले एक दिन पनि कतै तालिम लिएकी छैनन् । सुरुका दिनमा आफन्तकहाँ अरूले गरेको हेरेर काम गरिन् । मिहिनेतलाई पहिलो भागमा राख्ने उनले एकपटक देखेको कुरा मस्तिष्कमा गाढेर राख्थिन् । मिहिनेत र उत्सुकतापूर्वक काम गर्नाले उनी अहिले अरूभन्दा काममा कम छैनन् ।
जीवनमा कहिल्यै स्कुल नटेकेकी उनी सामान्य लेखपढ गर्न सक्छिन् । ‘आफूलाई चाहिने लेखपढ गर्छु । धेरै जान्दिनँ, गाउँमा प्रौढकक्षा पढेको हुँ । स्कुल त जानै पाइएन,’ उनले आफ्नो पढाइ अनुभव सुनाइन्, ‘धेरै पढेको भए राम्रो काम गर्थें होला । के गर्नु अहिले पछुताएर भएन ।’
काम गरेर खान लाज मान्नु हुँदैन भन्ने सम्झनाले धेरै ठाउँ चहारिन् । कोसेलीमा काम गर्दा महिला पुरुष बराबरी काम गरेको देख्दा उनमा झनै उत्साह बढ्यो, आखिर मनमा इच्छा भए जे पनि गर्न सकिन्छ भन्ने । सबैतिरबाट थाकेर सुरु गरेको पेसामा अहिले उनी खुसी छिन् । आफूले गरेको अरू कुनै पेसामा सुरक्षा देखिनन् उनले । अरूको कारखानामा काम गर्दा हेपिनुपर्ने आफ्नो अनुकूल काम गर्न नपाइने र मिहिनेतअनुसारको पारिश्रमिक पनि नपाइने उनको भोगाइ छ ।
‘के गरेर जीवन चलाउन सकिन्छ भनेर चिन्तित भइरहेको बेला भाइले भन्यो, दिदी जुत्ता बनाउने काममा धेरै नाफा हुन्छ । अरूको दबाबमा काम गर्नु पनि पर्दैन र जागिरको लागि चाकडी गर्ने झन्जट पनि हुँदैन । उनीहरूकै सुझाव सल्लाहमा काम सुरु गरे । साँच्चै पेसा राम्रो रहेछ । नयाँ कुरा सिक्ने र नयाँ काम गर्ने मेरो सानैदेखिको रहर हो,’ सम्झना भन्छिन् । यति बेला उनका रहर र आवश्यकता सबै पूरा भएका छन् ।
कोसेली जुत्ता कारखानामा काम गर्दा एकजोर जुत्ता बनाएको १५ रुपैयाँ पाउँथिन् उनले । अहिले बच्चाको ५० रुपैयाँ र ठूलो मान्छेको ८० रुपैयाँ पाउँछिन् । दिनमा पन्ध्र जोरसम्म बनाउन भ्याउँछिन् उनी । अन्त काम गर्दा उनले पाउने पारिश्रमिक थोरै थियो । घर धान्नै धौधौ । मिहिनेत धेरै र अरुको दबाब खेप्नुपर्ने तनाव । अहिले सबै कुराबाट उनी मुक्त छिन् । यति बेला उनी अहिले भिनाजुको पसलमा मिलेर काम गर्दै छिन् । उनकै भरमा छोड्छन् उनका भिनाजुले पसल । ‘पसल भिनाजुको भए पनि दुवै जनाको जस्तै भएको छ । उहाँले नभ्याउँदा सबै काम म हेर्छु, कामको आधारमा आम्दानी लिन्छौँ । पहिला बानियाँटारमा बस्थेँ, काम पनि उतै गर्थें, भूकम्पले बस्ने कोठा पनि भत्कियो काम गर्ने ठाउँ पनि । भूकम्पपछि यहाँ आए दिदीभिनाजुलाई पनि सजिलो भएको छ । मलाई पनि रोजगारी,’ उनी भन्छिन् ।
सम्झनाका श्रीमान् सुटकेस बनाउने काम गर्छन् । दुवै जनाको कामाइले दुई सन्तानको पढाइलेखाइ राम्रै गरी चलेको छ । आफूले पढ्न नपाएकोमा उनलाई दुःख छ । छोराछोरी पढ्ने अवसरबाट वञ्चित नहुन भन्नेमा दुवै दम्पत्ती सचेत छन् । आफूहरूले बढी मिहिनेत गरेर भए पनि उनीहरूलाई उच्च शिक्षा दिनुपर्छ भनेर काममा मिहिनेत गर्छन् । आफ्नो काम र कमाइमा दुवै सन्तुष्ट छन् ।
काममा सम्झनालाई गर्व र सन्तुष्टि दुवै छ । महिलाले जुत्ता बनाउने काम गर्नेभन्दा विश्वास नगर्नेहरू पनि छन् समाजमा । उनले भोगेकी छन्, ‘पसलमा आउनेहरू सुरुमा ‘खै, जुत्ता बनाउने मान्छे छैन ?’ भन्दै खोज्छन् । के काम छ भन्नु न भन्दा बनाउने मान्छे खै भनेर दोहो¥याउँछन् । कोही दाइ छैन भन्छन् ।’ नियमित आउनेलाई थाहा छ, उनले पनि काम गर्छिन् भन्नेमा । अरूले के भन्छन् भनेर पछि लाग्ने बानी छैन उनको । ग्राहकलाई आर्कषित गर्ने र सेवा दिनमा मात्र जान्छ उनको ध्यान । आमरूपमा महिलाले जुत्ताको काम गरेको नदेख्नेहरूले सुरुमा विश्वास गर्न गाह्रो मान्नु सामान्य ठान्छिन् सम्झना । ठूला जुत्ता कारखानामा काम गर्ने महिला पुरुष बराबर हुने उनको भनाइ छ ।
आफ्नो व्यावसायिक जीवनमा उनले अनेक प्रकारका ग्राहक देखेकी छिन् । कोही ‘ओहो ! महिलाले पनि यस्तो काम गरेको, राम्ररी गर्नू’ भनेर उत्साह दिन्छन् । कोही महिलाले कसरी गर्छन् भनेर शंका गर्छन् । केही यस्ता ग्राहक आउँछन् महिलालाई के जुत्तामा पालिस लगाउनु भन्दै आफैँ जुत्तामा पालिस गर्छन् र पैसा दिएर जान्छन् । सबैको भावना र व्यवहारको उनी कदर गर्छिन् । मान्छेको आ–आफ्नो विचार हो । कसैको व्यवहारप्रति उनको गुनासो छैन ।
सम्झना पार्टीमा लगाउने जुत्ता, स्कुले विद्यार्थीको जुत्तादेखि स्पोर्ट्स सुजसम्म बनाउने कलामा पोख्छिन् । अरूको तुलनामा स्कुल जुत्ता बढी बिक्ने गरेको उनले बताइन् । आफूहरूले बनाउने जुत्ता कारखानामा बनाइनेभन्दा बलियो हुने उनको दाबी छ, ‘हामी हातले बनाउँछौँ । बजारमा पाइने भन्दा यो बढी टिकाउ हुन्छ । त्यसैले स्कुलको जुत्ताको माग बढी छ । माग भए जति बनाउन भ्याइँदैन ।’
उनी काममा फुर्सद नहुने र आफ्नो सिप जीवनभर काम लाग्ने भएकाले ढुक्क छिन् । चोेरेर खानु हुँदैन, काम गरेर खान केको लाज ? आफ्नो कामप्रति उनले गर्वभाव पोखिन् । श्रम गरेर खाने हो । जहाँ बढी आम्दानी हुन्छ, त्यही काम गर्ने हो । कसले के भन्ला भन्नेमा मलाई सरोकार छैन । लगानी गर्ने वातावरण बने आफैँ पसल खोल्ने योजना बनाएकी छिन् सम्झनाले । ‘भविष्य सुरक्षित हुने र सम्मानले काम गर्न मैले योबाहेक अरू कुनै काम देखिनँ । श्रमलाई सबैले सम्मानपूर्वक हेर्नुपर्छ,’ उनको धारणा छ । आफ्नै पसल भए कसैको कुनै दबाब नहुने र सधैँलाई ढुक्क हुने उनको भनाइ छ ।
– चमिना भट्टराई

प्रतिक्रिया