यात्रा हरेक दृष्टिले मनमा गढेर बस्ने विषय हो– मनोरञ्जन, अनुभूति, अध्यन जस्ता कुराले । तर, कुनै यात्रा अधुरो र अपूरो पनि हुँदो रहेछ । सुदूरपश्चिमको हेर्नैपर्ने तर अनुभूति गर्ने अवसर नपाएको बझाङलाइ स्पर्श गर्ने अवसर यो हप्ता जु¥यो । नेपाली समाजको पुरातन सोचलाई स्वीकार गर्ने हो भने महिलाको असली घर श्रीमान्को घरलाई जनाउँछ । त्यसैको आधारमा घरबारे बेला–बेला जवाफ दिँदा घर कि माइत ? को पुष्ट्याइँ गर्नुपथ्र्यो । त्यसैको आधारमा मैले कहिल्यै केही लगानी नगरेको र कुनै कुराको अनुभूति र अवसर नपाएको मेरो गृहजिल्ला बझाङमा पाइला टेक्ने अवसर पाएँ । घर सदरमुकाममा छैन, गाउँमा जान मसँग समय थिएन । त्यसैले बझाङ जानु नै घर गएको मानेँ मैले, किनकि त्यो मेरो श्रीमान्को गृहजिल्ला हो ।
यात्रा रमणीय थिएन । श्रीमान् आकस्मिक रूपमा अस्पतालमा भर्ना भएकाले हतारमा बिनायोजना तय गरिएको यात्रा थियो । जसरी भए पनि त्यो मेरा लागि नयाँ ठाउँको यात्रा एक प्रकारले अवसर थियो । सुदूरपश्चिमको अन्य केही जिल्ला भ्रमण गर्ने अवसर पाएको थिएँ । तर, आफ्नै जिल्ला जान नसकेकाले जवाफ धेरै दिनुपरेको थियो । जे भए पनि ममा उत्सुकता धेरै थियो । सुनेको थिएँ, खप्तड नगए बझाङ गएको के मान्नु ? खप्तडको मनोरम दृश्यको अवलोकन गर्ने, त्यहाँका ग्रामीण जनताको जीवनशैलीलाई नजिकबाट नियाल्ने र श्रीमान्को थातथलो हेर्ने रहर ममा थियो । तर, यो यात्रामा यी सबै अवसर मेरा लागि सम्भव थिएन । जतिसक्दो चाँडो श्रीमान्लाई त्यहाँबाट उपयुक्त स्थानमा ल्याएर उपचार गर्नु थियो । साइपाल हिमालको फेदी पुग्ने मेरो रहर असहज अवस्थाले जुराएको थियो ।
बिहीबार दिउँसो काठमाडौंबाट धनगढी पुगेँ । सौर्य दैनिकका धनगढी संवाददातासँगको एक घन्टे संवादपछि साढे पाँच बजेको बसका अत्तेरियाबाट बझाङको यात्रा सुरु भयो । अत्तेरियामा बस्ने गणेश भाञ्जाले बिदाइ गरे । बझाङको यात्रा र त्यहाँका बारेमा धेरै सुनेको थिएँ, पारिवारिक कुरा हुदाँ । रातिको यात्रा नौलो ठाउँ भाषामा आउने नौलो शब्दको बुझाइमा समस्या थियो । मध्यनेपालमा जन्मी हुर्केको मेरा लागि सुदूरपश्चिमका धेरै कुरा नौलो थिए । अर्कोतर्फ यति लामो यात्रा एक्लै पहिलो थियो । त्यसैले पनि मनमा धेरै कौतुहलता थिए । कतिबेला चैनपुर पुगौँ भन्ने हतारो थियो । नागबेली साँघुरो बाटो, उकाली, ओलाली र घुम्तीका कारण यात्रा सुस्त गतिमा हुनु सामान्य थियो । अत्तेरियाबाट कर्णाली रिभरको एक नम्बार सिटमा बसेका मेरो साथी डडेल्धुरा साहुँखर्कका प्रसिद्ध खिर बाजेको परिवार थिइन् । सुदूरपश्चिमका स्थानीय जनताले बोल्नेभन्दा फरक बोली र लवजका कारण सबैले सहज अनुमान लगाउँथे, म नयाँ मान्छे हो भनेर ।
बसले अत्तेरियाबाट उत्तर हुइँक्याउँदै लग्यो । फूलबारीबाट पहाडैपहाड हुँदै गएको बसले खानीडाँडामा चिया खान रोक्यो । यात्रामा भेटिएका अनजान धेरैको लवाइ, बोली र व्यवहारले मलाई प्रभावित पारेको थियो । बसका सहचालक भाइ रमाइलो थिए । त्यस्तै बाईस तेईस वर्षका उनको घर बैतडी रहेछ । रातको यात्रा भएकाले मैले उनलाई भनँे, ‘मसँग महिला राख्नु है ।’ बसका धेरै सिट खाली थिए । मेरो छेउमा पचास नाघेकी महिला आइन् । उनीसँग गफ भयो । मैले भनेँ, ‘तीन घन्टाको लागि तपाईं मेरो साथी हुनुभयो ।’ उनी हाँसिन् । सहचालक भाइले भन्यो, ‘मान्छे धेरै नाइ, साहुँखर्कमा यिनी उत्रने हुन् नि तिमी एक्लै बस ।’ उसको बोली र व्यवहार मलाई रमाइलो लाग्यो । जसलाई पनि ऊ तिमी भन्थ्यो । उसले बाटोका बारेमा जानकारी गराउँदै गयो । ‘म्याडम नौली हौ, पहिले आए हौ की नाइ यता ?’ भन्थ्यो । डोटी, डडेल्धुरा, बैतडीको वनपाखाका चिसो हावा खुवाउँदै बिहान सात बजे बझाङको चैनपुर पु¥यायो । बसपार्कमा देवर मेरो स्वागतमा थिएँ, पहिलोपटक गएकाले मलाई ठाउँबारे बताउँदै देवर अघि लागे म पछि–पछि ।
बझाङको सीमित मान्छे र आफन्तसँग परिचय भए पनि त्यहाँका बारेमा मेरो मनमा सयौँ कौतुहलता थिए । कस्तो होला बझाङ ? त्यहाँको जनता, जीवनशैली कस्तो होला ? समग्र बझाङ बुभ्mन नपाए पनि चैनपुरलाई केही बुभ्mने अवसर पाएँ, दुई दिनमा । बसपार्कबाट बाउलीगड खोलामाथिको झोलुंगे पुल तर्दा काठमाडौंमा भूकम्पले जमिन हल्लाए जस्तै लाग्यो । तराईमा जन्मेको मेरा लागि झोलुंगे पुल सामान्य थिएन । पूर्व–पश्चिम सेती उत्तर–दक्षिण वाउलीगडले घेरेको चैनपुर मैले सोचेभन्दा रमाइलो रहेछ । मर्मत गर्दैका सडकमा छरफस्ट बिजुलीका तार र खाने पानीका पाइप थिए । तर, घरमा बत्ती र खाने पानी छैन । घरैपिच्छे खुलेका उस्तै–उस्तै पसल छेउ–छेउमा काफल बेच्ने महिला केटाकेटी हेर्दा सहजै लाग्थ्यो, यहाँ अनेक वर्गका मान्छे छन् भन्ने । नचिने पनि आफन्त झैँ लाग्ने र व्यवहार गर्ने मान्छे हेर्दा केही दिन यो सेतीको चिसो पानीसँग आत्मीयता गाँसिराख्न पाए हुन्थ्यो भन्ने लागेको थियो । तर, जति सक्यो चाँडो चैनपुर छोड्नु मेरो बाध्यता थियो ।
सेतीमा त्यसै खेर गएको हिउँको चिसो पानीले मन लोभिएको थियो । काठमाडौंमा हुने घन्टौँको लोडसेडिङ र बाल्टिन बोकेर पानी खोज्दै हिँडने महिला देख्दा मलाई सेतीले जिस्क्याए जस्तै लाग्यो । चैनपुरबजार बझाङी जनताको नुनदेखि सुनसम्म किन्ने ठाउँ रहेछ । यार्सा खोज्न जानेले सामान किन्नेदेखि आफ्ना लागि चाहिले सामान त्यही बजारबाट जोहो हुँदो रहेछ । दशक अघिसम्म सदरमुकाममा गाडी नजाने त्यो बजार अहिले गाडी जताततै गुडछन् । चारैतिर पहाडले घेरेको उक्त बजार टापु जस्तै छ । कतिबेला कुन खोलाले बगाउने हो भन्ने त्रास सबैसँग छ । चैनपुरमा धेरै समस्या छन् । सरकारी अस्पताल छ सुविधा छैन, चारैतिर खोलाले फन्को मारेको सदरमुकाम छ खाने पानी छैन, कोठामा ट्युबलाइट छ टुकी बले जस्तै पिल–पिल बल्छ ।
काठमाडौंमा दिनमा चार/पाँचपटक आउने भूकम्पले त्रसित मलाई त्यहाँ पुगेपछि भूकम्पले केही दिनलाई पिछा छोडे जस्तै लागेको थियो । यहाँ जस्तो त्यहाँ न खाट हल्लिन्थे न घरछोडेर भाग्ने टन्टा, सबैको मन ढुक्क भए जस्तो । नौलो मान्छे भेट्नेबित्तिकै प्रश्न गर्थे– कति दिन पालमा बस्नुभयो ? खाना कहाँ खानु भयो ? डर लाग्यो होला हगि ? उनीहरूका लागि भूकम्प र यहाँका जनाताको दैनिकी अनौठो जस्तै थियो । हेर्नुपर्ने र जानुपर्ने धेरै ठाउँलाई पछि आउने वाचा गर्दै फर्कने तर्खर गर्दै थिएँ । श्रीमान् बस्ने घरभेटीको छोरीले धेरै तसाईन्– काठमाडौं जानु हुँदैन माइजू भूकम्प आउँछ । काठमाडौंमा घर भत्किन्छ, मान्छे मर्छन् यहीँ बस्नु । चैनपुरका सबैको माया, आत्मीयता र सद्भावलाई मनमा साँचेर फर्कें । काठमाडौंका महँगाइ र प्रदूषण सबै बिर्सायो सुदूरपश्चिमले । दस रुपैयाँमा अजुलीभरि पाइने टिप्दाटिप्दैको काफल, मनै चिसो हुने सेतीको पानी र बझाङीलाई पुनः भेट्ने वाचा बाँधेर राजधानी फर्किएँ ।
प्रतिक्रिया