लुगाभरि रगतको टाटा देख्दा पनि हामीलाई प्याड दिँदैनन्

Sushma-Devkota-aटुँडिखेल–काठमाडौं सहरको रहर र बाध्यता१२ वैशाखमा आएको विनाशकारी भूकम्पले काठमाडौंवासीलाई त्राहिमाम बनाएको छ । भूकम्पका कारण कति व्यक्तिले ज्यान गुमाए, कतिका घर लडे र धेरैका चर्किए । शनिबार अर्थात सार्वजनिक बिदाको दिन, सबैजना घरपरिवारसँग बसेर समय व्यथित गरिरहेको बेलामा आएको त्यो महाप्रलयको त्रास अझैँ कायम छ ।

भूकम्पपश्चात् मानिसहरू सुरक्षित ठाउँतर्फ कुद्न थाले । आफूलाई जहाँ सुरक्षित लाग्छ, त्यहीँ गएर बसे । कोही घरको नजिकै खुला चौरमा त्यही दिन पाल टाग्न थाले भने कोही टुँडिखेलसम्म पनि पुगे । त्यही १२ गतेको महाविपतका कारण आजसम्म मानिसहरू टुँडिखेलमा बस्न बाध्य छन् ।

करिब पाँच सय वटा टेन्ट त्यहाँ टाँगिएका छन् र झन्डै पाँच हजार मानिस अहिले पनि टुँडिखेलमा छन् । विपत्मा परेकाको उद्धारपश्चात् विभिन्न दाताहरू र सरकारले राहतको अभियान सुरु गरे ।

करिब अहिलेसम्म सञ्चार माध्यममा राहत वितरण गरेको, सहयोग गरेको समाचारले प्राथमिकता पाइरहेका छन् । तर, कतिपय समाचार भने राहतको नाममा अनियमितता, राहतको दुरुपयोग जस्ता समाचार पनि आइरहेका छन् ।

दाताहरू पीडितसम्म पुगेनन्, जहाँसम्म रोड छ, त्यहाँ ५/७ पटक पनि बाँडियो, कुनैकुनै ठाउँमा राहत पुगेकै छैन । त्यसैगरी राहत पाउनेले पनि पाएनौँ कोही आएन भन्ने अभिव्यक्ति पनि कहिल्यै छोडेनन् यस्तैयस्तै । अहिले गाउँमा कसैसँग त्रिपालको चाङ छ, एक वर्ष सम्मलाई खान पुग्ने चामल छ भने कोही अभै राहतको आशमा बाटो कुरिरहेका छन् ।

हिजो अपराह्नतिर टुँडिखेलपुग्दा देखेका कतिपय गतिविधि मैले चाहेर पनि मानसपटलबाट हटाउन सकेको छैन । फेरि दोस्रोपटक गएँ, थप त्यस्तै गतिविधी देख्दा मैले शनिबार प्रकाशन हुन लागेको रिर्पोटको बाइप्रोडक्टको रूपमा यो कथा तयार नपारी रहन सकिनँ । यस्ता थिए मैले टुँडिखेलमा देखेका र सुनेका गतिविधिहरू, पीडित र दाताका गुनासाहरू ।

म अपराह्न तीन बजेतिर टुँडिखेल पुगेँ । एकछिन त्यहाँ सेल्टर लिएर बस्ने व्यक्तिसँग कुराकानी गर्न थालेँ । कुरा गर्दा गर्दै डेढ घन्टा बितेछ । साढे चार बजे त्यहाँको खाना खाने समय रहेछ । कोही लाइनमा देखिए भने कोही भाँडा खोजेर लाइनमा बस्न कुद्न थाले । लाइनमा बस्नेहरू मध्ये थोरैले मात्र थाल बोकेका थिए ।

बाँकीले कोही स्टिलका बाटा, ताप्के, डेक्ची र हटकेस बोकेर लाइनमा देखिए । यतिसम्मकि भर्खर टुकटुक हिँडन सक्ने बालकले पनि सकिनसकी डेक्ची बोकेर खानाको लाइनमा उभिएको दृश्यले मान्छेको हारालुछ शैलीलाई प्रष्टै झल्काउँथ्यो ।

त्यहाँ खाना खुवाउन विभिन्न दाताले मेस चलाउँदा रहेछन् । केही दिनदेखि टुँडिखेलमा आश्रय लिएर बसेका भूकम्पपीडितलाई खुवाउने पालो भारतको पञ्जाबबाट आएका दाताहरूको रहेछ । मैले क्यामेरा भिरेको देखेर उनले पत्रकार नै हो भन्ने ठानेरै सोधे होलान्, तपार्इं पत्रकार हो ? मैले टाउको हल्लाएँ ।

उनले भने केही राहत हुन्छ कि भनेर दालभात वितरण गरिरहेका छौँ तर यहाँ आप्नो भाग खाना कमैले लग्छन्, सबैले ठुल्ठूला भाडा बोकेर आउँछन् । दोहोर्‍याई तेहर्‍याई खानाको लाइनमा बस्छन् । यो बिल्कुल गलत हो, हामीले आआफ्नो तर्फबाट जती सक्छौँ त्यति दिन खोजेका हौँ सहयोग होला भनेर । पीडितको यो तरिकाले नराम्रो लाग्छ । पछि बुझ्दै जाँदा कुरा के रहेछ भने, साढे चार बजे खाएको खानाले बेलुका फेरि भोक लाग्ने हुँदा त्यतिबेला पनि खाने र बेलुका ९/१० बजेतिर खाने गर्दा रहेछन्, र उब्रेको फ्याल्ने गर्दा रहेछन् ।

ती व्यक्तिसँगको केही बेरको कुराकानीपछि पूजा पौडेल नामकी महिला आइपुगिन् । पत्रकार हुनुहुदो रहेछ, हामी मर्कामा छौँ, लेखिदिनु पर्‍यो भन्दै आफैँ कुरा सुरु गरिन् । उनको गुनासो, आफू चिसो भुइँमा सुत्दा बिरामी परेको र औषधि माग्न जाँदा औषधि नदिएको थियो ।

उनीसँगै करिब पाँच जना महिलाको समूह आएर मलाई घेर्‍यो, उनले भटाभट आफ्नो गुनासो सुनाउन थाले । एक जनाले भनिन्, राहत जति सुत्केरी महिलालाई दिइएको छ, एक महिनाको बच्चालाई पनि हर्लिक्सका ठुल्ठूला बट्टा बाँडिन्छ ।

ती बच्चाले हर्लिक्स खान सक्दैनन् तर बच्चा र सुत्केरीका नाममा पाएका ती हर्लिक्सका बट्टा भोलिपल्ट उनिहरूले आफ्नो घर पुर्‍याइसकेका हुन्छन् । यहाँ जति नै टोली आए पनि सुत्केरी टेन्टमै छिर्छन् र उनीहरूलाई नै दिन्छन् । सुत्केरीलाई मासुभातको व्यवस्था पनि गरिएको छ तर उनीहरू पत्रकारलाई दालभातमै चित्त बुझाउँछौ भनेर दुखेसो पोख्छन्, उनले बेलिबिस्तार लगाइन् ।

उनले थपिन, म अस्ती बिरामी भएँ, अनुहार सुन्नियो, रिंगटा लागेर उभिन नसक्ने भएको थिएँ । मलाई देखेर एउटा आर्मीले टेन्टमा बसेर जाँड खाने भनेर जिस्काए । यो के तरिका हो ? त्यो हल्ला टुँडिखेलका आधा टेन्टसम्म पैलियो । मैले जाँड खायो भन्ने । औषधि उपचार त कता हो कता उल्टो नहुँदो बदनामी भयो मेरो । यो कुरा पनि लेखिदिनु पर्‍यो । उनको कुरा सुनेर सहानुभूति र हाँसो दुवै एकैसाथ आयो । लाग्यो के तमासा हो यो टुँडिखेलको ?

फेरि २५ वर्ष जतिकी अर्की युवतीले मलाई आफ्नो गुनासो मिडियामा ल्याइदिनुपर्‍यो भन्दै व्यथा बिसाइन्, यहाँ पेन्टी र प्याड पनि बाँडिन्छ । त्यो सबै सुत्केरीलाई दिन्छन् । हामी महिनावारी हुन्छौँ, पेन्टी र प्याड किन्ने पैसा छैन् । एक जोर लगाएको लुगा वैशाख १२ गतेबाट फेर्न पाएको छैन् ।

महिनावारीहुँदा प्याड माग्न गयो भने दिन मिल्दैन भन्छन् हामीलाई । यत्रो टुँडिखेलमा विनाप्याड महिनावारी भएको बेलामा कसरी हिँड्ने ? लुगाभरि रगतको टाटा देख्दा पनि हामीलाई प्याड दिँदैनन् । बरु, दुनियाँलाई हाम्रो लुगा देखेर हास्ने मौका मिलेको छ ।

यत्तिकैमा एउटा दुई वर्षको बच्चा एक थाल भात बोकेर हामी भए छेउ आइपुग्यो । तलमाथि टिसर्ट तर तल केही पनि नलगाएको बच्चाले भात र सिँगान सँगै खाँदै थियो । मैले छेउमा उभिएकी महिलालाई यो बच्चाको आमा खोई भनेर सोधेको त्यहाँ बसेका अरू तीन जना महिलासँगै जवाफ दिन तयार भए ।

त्यो बच्चाकी आमा बिहानबाटै बच्चा छोडेर गएकी रहिछन् । भूकम्पले डेरामा बस्दै आएको घर भत्किएपछि ती महिला टुँडिखेलमा बस्न आएकी रहिछन् । हिजोआज उनको दिनचर्या टुँडिखेलको शिविरमै बस्न आएका अन्य केटाहरूसँग घुम्न जाने रहेछ ।

दिनदिनै फरक साथी बनाउँदै घुम्न निस्कने गरेकी उनीलाई टुँडिखेल सर्दा बच्चालाई निर्धक्क छोडेर जहाँसुकै जान सजिलो भएछ । फराकिलो र घेरबार गरिएको टुँडिखेलमा बच्चा हराउने डर कम भएकाले साँझतिर टेन्टमा फर्केपछि बच्चा खोज्न हिँडछिन रे !

खाना थाप्ने र बाँड्ने क्रम अभै सकिएको थिएन, क्यामेरा वरिपरि आफ्ना तस्बिर र गुनासो कैद गराउन तँछाडमछाड थियो उनिहरूलाई ।

म त्यहाँ काभ्रेकी शारदा पौडेल नामकी १४ वर्षिया बालिकालाई भेटन गएको थिएँ । यसभन्दा अगाडिको भेटमा उनको कथाले मन छोएर दोस्रोपटक टुँडिखेल पुगेको थिए । उनी पहिले बसेको टेन्टबाट नयाँ टेन्टमा सरेकाले उनलाई पहिल्याउन नसक्दा मैले आर्मीहरूलाई उनको नाम माइकिङ गरेर बोलाइदिन भनेको थिएँ ।

माइकिङ गरेपछि उनी आइन् र हटकेसमा खाना थापेर मलाई पर्खिन थालिन् । म मान्छेहरूको गुनासोलाई वास्ता नगरी उठ्न सकिनँ । झट्ट उठेर जाँदा यी मानवीय समवेदनामाथि खिल्ली उडाउनु हो जस्तो लाग्यो मलाई । पत्रकारले हाम्रो गुनासो बाहिर ल्याइदेलान् भनेर आश गरेका पीडितलाई नसुनी हिँड्नु उनीहरूको नजरमा पत्रकारमाथि विश्वास घट्नु पनि हो ।

उसो त एकै छिन अगाडि त्यही नेर एक जना वृद्धले पत्रकार भन्नासाथ काम छैन यी पत्रकारको । हाम्रो फोटो बिकाएर भात खान्छन् भनेर आक्रोश पोखेका थिए । बूढा मान्छेसँग तर्कविर्तक गर्नुभन्दा मैले फिस्स हाँसेर टारिदिए ।

थालभरी भात बोकेर एकजना अधवैंसे पुरुष मेरो छेउमा उभिन आए । उनले रवाफिलो पारामा भने, म तेक्वान्दोको पूर्वखेलाडी हँ । नाम सोध्दा उनले कुरा मोडे । मैले प्रश्न गरेँ, तपार्इंको घर भत्किएको छ कि चर्किएको मात्र हो ? उनले हाँस्दै भने, केही भएको छैन् ।

घरमा बस्नुभन्दा टुँडिखेलमा बस्न रमाइलो लागेर आएको । राहतको भात खायो बस्यो । कतिसम्म लाज पचेको मान्छे रै’छन तिनी, मैले फोटो खिच्न खोज्दा उनले भने, ‘तपार्इं पत्रकार, सायद थाहा होला फोटो खिच्न मान्छेको अनुमति लिनुपर्छ । म फोटो खिच्न चाहन्नँ । यतिका कुरा जान्ने मान्छे, फोकटमा भात खान र राहत पाउन टुँडिखेल बसेका रहेछन् ।’

एक जना आर्मी अफिसर मसँग कुरा गर्न आए । कुन मिडियाबाट हो ? कसरी हिँडिरहनु भएको छ ? भूकम्पको बेला सुरक्षाकर्मी र पत्रकारलाई त हो दुःख हुने । आदि विषयमा कुरा गरे । उनले पनि गुनासो थपे । हामीले मात्र व्यवस्थापन गरेर हुँदैन । व्यक्ति स्वयंले बुझ्ने कुरा हो ।

आफ्नो भाग खाना लगेर खानुपर्ने हो, यहाँ त बढी लाने, खाएको खाने, नखाएको फाल्ने भइरहेको छ । यसो नगर्नु भन्यो भने, कुन बेला मिडिया आउला र आर्मी पुलिसले हामीलाई आफ्नो भाग खान पनि दिएन भनेर कुरा लगाउला भनेर कुरेर बस्छन् । कुरा काटे जस्तो हुन्छ, टुँडिखेलको राहतमा हामीले समानता गर्न खोजे पनि पीडितले नै दुरुपयोग गरिरहेका छन् ।

उनले थपे यी छेउमा भात खाँदै गरेका वृद्धका छोराले यहाँ राहतमा पाएको सामान घर ओसार्ने गरेका छन् । राहतमा आएका बिस्कुट, चाउचाउ आदि घर लग्दा रहेछन् । अस्ति मच्छडले टोक्छ भनेर झूल बाँड्यौ, हिजो टेन्टमा झूल हेर्न जाँदा झूल रहेनछ ।

यी बालाई सोधेको, छोराले कोठामा लिएर गयो भने, ती आर्मी अफिसरले तिनका छोराको फोटो खिचेर लैजानु भनेर खोज्न थाले । छोरा फेला परेनन् ।

ती वृद्धलाई खाना थप्नुहुन्छ बा भनेर सोध्दै एक आर्मीका जवान आइपुगे । पत्रकार भनेर होला उनले पनि आफ्नो गुनासो पोखी हाले । आपत् छ हामीलाई पनि, भर्खर प्राधिकरणको आगो निभाएर आयौँ ।

भुँइचालोले घर भत्कँदा आमाको ढाड भाँचिएर छाउनी हस्पिटलमा राखेको छु । भेटन जान पनि पाउँदिनँ । तपार्इंको नम्बर दिनु मलाई पनि, हाम्रा पनि समस्या धेरै छन्, पत्रकारले अरूका समस्या लेख्छन्, हाम्रा कसैले लेख्दैनन् ।

यी एकपछि अर्को गुनासो सुनेपछि, म शारदालाई लिएर उनको टेन्टतिर लागेँ । उनको टेन्टमा अर्को रमाइलो दृष्य देखियो । चाइना सरकारले राहत स्वरूप दिएको त्यो टेन्टमा २० जना बस्दा रहेछन् । म पुग्दा शारदाका घरबेटी बा घोप्टो परेर सुतेर एउटा कपीमा केके लेखेर बसेका रहेछन् ।

म पुगेपछि ७५ वर्ष जतिका ती वृद्ध लरबराएको बोलीमा को हो भन्दै उठे । शारदाले पत्रकार दिदी भनेर चिनाइन् । उनले मलाई भित्र बोलाएर भने ‘ल मेरो समस्या सरकारसम्म पुर्‍याइदिनुपर्‍यो’ भनेर छेउमा बस्न भने ।

उनको छेउमा बस्दा थाहा भयो, उनले रक्सी पिएका रहेछन् । गन्ध मेरो नाकमा आएर मडारियो । ल सोध्नु म भन्छु समस्या भन्दै पलेटी कसेर बसे । तपार्इंले किन रक्सी खानु भएको भनेर सोध्न मन लागेन ।

हाँस्दै भने, ‘ल बा तपार्इंको समस्या भन्नु ।’ ‘मेरो दुईतले घर चर्कियो, म बूढो मान्छे यो टेन्टमा आएर बसेको छु । सरकारले मेरो व्यवस्था गर्नुपर्छ । पिर परेर रक्सी खान थालेको छु । मलाई रातभर निद्रा लाग्दैन । अब, वृद्धाश्रममा जाने व्यवस्था मिलाइदिनु’ मलाई उनले आधा अंग्रेजी र आधा नेपालीमा व्यथा बिसाए ।

त्यतिकैमा उनकी करिब ७० वर्षकी टेन्ट भित्र छिरिन् । उनले परिचय गराए, यिनी मेरी मिसेस हुन्, के गर्नु–गर्नुको अन्योलमा मैले नमस्ते आमा भनेँ । यति भन्नासाथ आमा बालाई कराउन थालिन् ।

भातको लाइन बस्न जानू । रातभरी भोक लाग्छ । यहाँ पकाउने कुरा छैन् । बा फेरि बम्किए, चाहिँदैन मलाई भात सात, एक घन्टा लाइनमा बस्न सक्दिनँ म । घर भत्किन लागेको छ, मन भत्किसक्यो अब भोकै मर्ने हो म ।

बाले फेरी गुनासो थपे जहाँ गए पनि मलाई सास्ती । अब यी भएभरका भाडामा बस्नेलाई लिएर यहाँ बसेपछि मलाई पैसा कहाँबाट आउँछ ? अझ भएन, यी सबैजनासँग म घरबेटीलाई यहाँ एकै ठाउँमा सुताइदिएका छन् । यो भन्दै गर्दा उनी बीचबीचमा वरिपरि झुम्मिन आउने केटाकेटीलाई लौरोले प्याटपुट्ट पनि पारिरहेका थिए ।

टेन्टमा कुरा गर्ने वातावरण नभएपछि म शारदालाई लिएर बाहिर आउन खोजेँ । बा फेरी कराए, पत्रकार आएर हाम्रो पीडा नसुन्ने ? मेरो कुरा सकिएकै छैन् । उनले अघि लेखेको कागत च्यातेर दिँदै भने, ल यसमा मेरो घरको क्षति विवरण छ । मैले हाँस्दै भने, भोलि आउँछु बा । बल्ल पो थाहा भयो म टेन्ट छिर्दै गर्दा उनले त्यत्रो मिहेनत गरेर के लेखिरहेका छन् ।

शारदासँग कुरा गर्दै म विद्युत् प्राधिकरण अगाडिको पुलसम्म आए र शारदालाई फर्कन आग्रह गरेँ र आफू घरतर्फ लागेँ ।

यी दृष्यबाट थाहा हुन्छ टुँडिखेलमा आश्रय लिएर बसेका भूकम्पपीडितका समस्याका भिन्नभिन्न रूप । कसैलाई टुँडिखेल सकस भएको छ भने कतिलाई रमाइलो गर्ने ठाउँ । राहतको दुरुपयोग आँखैअगाडि छर्लंग देख्न पाइयो, टुँडिखेलमा दुई घन्टा बिताउँदा । यी सबै कुराबाट स्पष्ट के हुन्छ भने राहतमा अनियमितता वितरक र पीडित दुवैले गरिरहेका छन् ।

अघिल्लोपटक म टुँडिखेलजाँदा सुत्केरीहरूको टेन्टमा पुगेको थिएँ । सुत्केरीहरूले गुनासो गरेका थिए, हामीलाई शौचालय, पानी, खानेकुरा आदिमा समस्या भएको छ । तर, आज अर्का पीडितहरूले सुत्केरीलाई मात्र राहत सामग्री पुगेको गुनासो गरे ।

टुँडिखेलमा सञ्चारकर्मीहरू पुग्दा, सञ्चारकर्मीहरूलाई पीडितहरूले कसैले पनि पाएका छौँ, खाएका छौँ भन्दैनन् । पाइएन, यो भयो उ भयो मात्र भनिरहेका छन् । कति त नपाएका पीडित पनि होलान् तर पाउनेले पनि झूटो बोलिदिँदा सत्यतथ्यको खोजीमा जुटेका सञ्चारकर्मी पनि अन्योलमा पर्ने वातावरण टुँडिखेलमा छ ।

प्रतिक्रिया