गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि गएका पराकम्पनले तथा वैशाख २९ मा दोलखा सुनखानीमा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पले गौरीशंकर हिमशृंखलामा रहेको डेढ दशकदेखि उच्चजोखिममा रहेको च्छोरोल्पा हिमताल पुनः चर्चामा छ । यसपटकको चर्चाको कारण भूकम्प र पराकम्पपछि यो हिमताल कुनै पनि समयमा फुट्ने त्रास बढेको छ । स्थानीय बासिन्दाहरू यही त्रासबीच समय काट्दै बस्ने गरेका छन् ।
सिँगटी क्षेत्रका स्थानीयवासी नारायण खड्का भन्छन्, ‘सिँगटी त भुइँचालोले सखाप बनायो । फेरि अर्को भय छ, भूकम्पपछाडि कतिखेर च्छोरोल्पा हिमताल फुट्ने हो ? यही त्रासमा जिउनुपर्छ ।’ खड्काले अगाडि भने, ‘दिनमा काम छैन, रातमा निद्रा छैन । कतिखेर फुट्ने हो यो हिमताल, टुंगो छैन । एउटा कालबाट त बाँचियो अब अर्को काल आउला जस्तो छ ।’ नजिकैको बस्तीका स्थानीय बासिन्दा रमेश घिमिरे भन्छन्, ‘दिउँसो च्छोरोल्पा हिमताल फुट्यो भने त पनि बाँचिएला भागेर तर के गर्नु ? राति निद्रा छैन । बालबच्चा छन् । ताल फुट्यो भने त के बाँचिएला खोई ? सरकारले समयमै ध्यान दिएको पनि छैन ।’
तल्लो भिरकोट गाउँमा बस्ने कमला माझीेको पीडा र सन्त्रास पनि उस्तै छ । भन्छिन्, ‘च्छोरोल्पा हिमताल फुट्छ भन्दै कति दिन त्रासमा बस्ने ? यही भन्दै सुरक्षित ठाउँमा सरियो । सरकारले केही गर्दैन । अनि आफूले नै जे गर्न सकिन्छ, त्यही गर्नुको विकल्प छैन ।’
भूकम्पसँगै च्छोरोल्पा हिमतालभन्दा केही तल रहेको दोलखाको बगर खोला, लामा बगर भासिएको छ र माथितिर रहेको पहाड खस्न लागेकाले त्यस क्षेत्रमा जोखिम बढेको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
स्थानीय पासाङफुटी शेर्पाले पटक–पटकको भूकम्पको धक्काले यसअघि नै पनि विस्फोटको खतरामा रहेको च्छोरोल्पामा थप असर पुगेको बत्ताए । भूकम्पले च्छोरोल्पा ताल विस्फोट हुनसक्ने सम्भावनाबाट स्थानीय बासिन्दा त्रसित बनेको जनाउँँदै पासाङफुटीले भने, ‘च्छोरोल्पामुिन रहेको बगर अहिले खोलामा परिणत भइसकेको छ ।’
‘अहिले तालमा हिउँ भएकाले असर त्यति देखिएको छैन तर, मनसुन सरु भएसँगै तालमा पानीको मात्रा बढ्न जान्छ । यसले गर्दा असार पहिलो साताबाट च्छोरोल्पामा भूकम्पको असर देखिन सक्छ,’ शेर्पाले भने । च्छोरोल्पा हिमतालमा माथितर्फ रहेको पहाड खस्न लगेको अवस्थामा छ, हिमतालको छेउको जमिन भासिँदै गएको छ । तालको छेउका चट्टानहरू समेत भूकम्पले कमजोर बनाएकाले हिमताल विस्फोट हुने भयले तामाकोसी नदी किनारामा बस्ने धेरैजसो स्थानीय सुरक्षित स्थानमा सर्न लागेका छन् ।
भूकम्पभन्दा पहिलादेखि नै तालको दायाँबाट निरन्तर माटो खसिरहने गरेको थियो । पछि, गर्मीसँगै दिनानुदिन हिउँ पग्लेर तालको लम्बाई र चौडाई बढ्दै गएका कारण पनि ताल फुट्ने खतरा बढेको थियो । तर, फेरि भूकम्पले गर्दा हिमताल भएको त्यो स्थान उच्च जोखिममा पुगेकोे बेदिङका स्थानीयवासीको भनाइ छ ।
ताल फुट्नबाट जोगाउन बनाइएको संरचनाको रेखदेख तथा तालको अवस्थाबारे जानकारी गराउन राखिएका सुरक्षाकर्मी नियमित रूपमा त्यहाँ नबस्नुले जोखिम बढेको स्थानीय बासिन्दाको भनाइ छ ।
हिमतालको रेखदेख गर्दै आएका सुरक्षाकर्मी भूकम्प गएसँगै नियमित रूपमा नबस्दा झन् त्रासमा परेको बेदिङका स्थानीय फुटी शेर्पाले जानकारी दिएकी छन् । ‘भूकम्पसँगै तालको रेखदेख गर्न र सुरक्षाका लागि निर्माण गरिएको संरचनासमेत क्षति पुगेको छ,’ शेर्पाले भनिन् ।
जल तथा मौसम विज्ञान विभागले करिब डेढ दशकअघि गरेको अध्ययनअनुसार यो ताल तीन किलोमिटर लामो, एक सय ३५ मिटर गहिरो र पाँच सयदेखि ६ सय मिटर चौडाईमा रहेको छ । त्यहाँ नौ करोड घनमिटर पानी रहेको अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले नेदरल्याल्ड्स सरकारको साझेदारीमा तालको पानीको सतह तीन मिटर घटाएको थियो । यति गर्दा पनि ताल फुट्न सक्ने खतरा भने यथावतै छ ।
जल तथा मौसम विज्ञान विभाग र एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले विभिन्न समयमा गरे गराएका अध्ययनले समेत जुनसुकै समयमा यो ताल फुट्न सक्ने खतरामा रहेको देखाएका छन् । यसरी यो ताल फुट्न सक्ने खतरा अग्रस्थानमा रहँदारहँदै पनि हालसम्म सरकारी तवरबाट यसलाई संरक्षण गर्न र फुटिहालेमा बच्ने उपायसम्बन्धी केही सोचेको पाइँदैन ।
इसिमोडको एक अध्ययनले च्छोरोल्पा हिमताल फुटेमा दोलखा र रामेछाप जिल्लाका तामाकोसी किनार आसपासका १० हजार घरपरिवार प्रभावित हुने भनेको छ । प्रभावित हुनेमा दोलखाको बेदिङ, सिमीगाउँ, गोगर, जगत, भोर्ले, सिँगटी, रातमाटे, बुस्ती भिरकोट र रामेछापको मिल्ती, खिम्तीलगायतका स्थान छन् । उक्त अध्ययनले हिमताल फुटेमा खिम्ती जलविद्युत् आयोजना, अपरतामाकोसी जलविद्युत् आयोजना, सिप्रिङ खोला जल विद्युत् आयोजनासमेत क्षति पु¥याउने भनेको छ ।
हिमताल फुटेमा मानवीय क्षति कम गर्नका लागि नेदरल्यान्ड्स सरकारले करिब दश वर्षअघि जडान गरेको करोडौँ मूल्य पर्ने साइरनहरू पनि चोरी भएका छन् भने केही काम नलाग्ने अवस्थामा पुगेका छन् । नेदरल्यान्ड्स सरकारले दोलखाको बेदिङ, सिमीगाउँ, गोगर, जगत, भोर्ले, सिँगटी, रातमाटे, बुस्ती भिरकोट र रामेछापको मिल्ती, खिम्तीलगायतका स्थानमा साइरन जडान गरेको थियो । एक दसकअगाडि नै च्छोरोल्पा हिमताल फुट्न सक्ने खतरा बढिरहेको अवस्थामा नेदरल्यान्ड्सको सहयोगमा नेपाल सरकारले त्यस्ता साइरन जडान गरेको थियो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ब्युरो अफ क्राइसिस प्रिभेन्सनले युरोपियन कमिसनको पहलमा पर्वतीय क्षेत्रमा जलवायुजन्य जोखिम न्यूनीकरण क्षेत्रीय परियोजना सञ्चालन गरेको थियो । परियोजना सञ्चालन गरे पनि खासै प्रभाव भने पर्न नसकेको स्थानीयवासीहरूको भनाइ छ ।
भूकम्पसँगै युयनडिपीकै सहयोगमा अग्रिम सूचना प्रणाली जडान गरे पनि भूकम्पले त्यसलाई पनि क्षतिगस्त बनाएको छ । हाल च्छोरोल्पालगायतका स्थानमा कुनै पनि मोबाइल सेवा सञ्चालनमा छैनन् । नेपाल सरकारले यो कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि नेपाल टेलिकमसँग सहकार्य गरी तत्काल त्यस क्षेत्रमा मोबाइल सेवा सञ्चालन गर्नुपर्ने बेदिङका लाक्पा सेर्पाको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागका जलविज्ञ विनोद पराजुलीका अनुसार च्छोरोल्पा हिमताल भूकम्पसँगै फुट्ने त्रास रहे पनि कहिले कसरी फुट्ने भन्ने सम्बन्धमा कोही विज्ञ नरहेको बत्ताए । भूकम्पले च्छोरोल्पा हिमताल रहेको चट्टान क्र्याक भएको र केही पहिरोसमेत गएकाले भूकम्पका धक्का निरन्तर गएकाले यो ताल फुट्न सक्ने पराजुलीले बताए ।
अब निकट भविष्यमै जल तथा मौसम विज्ञान विभाग, एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड), हिमाल हाइड्रोपावर र युएनडिपीको संयुक्त टोली बनाएर अध्ययन गरिने पराजुलीले बत्ताए । (दोलखाबाट फर्केर)
च्छोरोल्पामा नया प्रविधिको उपकरण जडान
च्छोरोल्पा हिमताल भूकम्पपछाडि फुट्न सक्ने स्थानीयवासीको त्रासबीच त्यो क्षेत्रमा नयाँ प्रविधिको उपकरण जडान गरिएकोे जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भूकम्पका धक्काहरू दोलखा र आसपासमा निरन्तर गएसँगै च्छोरोल्पा हिमतालमा विज्ञहरूले जानकारी दिनेबित्तिकै हिमतालको स्थितिबारे जानकारी दिने विकसित प्रणाली जडान गरिएको हो ।
हिमतालबारे जानकारी गराउने उपकरणमध्ये वैशाख २९ को भूकम्पले बेदिङ र सिँगटी क्षेत्रको सूचना प्रणाली बिगारेपछि जेठ २ मै तत्काल नयाँ खालको विकसित उपकरण जडान गरिएको हो । युएनडिपी, जलवायु तथा मौसम विज्ञान विभाग र हिमाल पावर लिमिटेड मिलेर उक्त यन्त्र जडान गरिएको हो । एउटा उपकरण जडान गरिसकिएको र उपयुक्त मौसम हेरेर अर्को जडान गरिने तयारीमा रहेको विभागले जनाएको छ ।यो प्रणालीले हिमतालबाट बगेको पानीको मात्रा निश्चित आकारभन्दा माथि पुगेपछि या कुनै किसिमले ताल फुटेमा समेत निर्धारण गरिएका मोबाइल नम्बरहरूमा सूचना पठाउनेछ । खतराको सूचना आउनासाथ पावरहाउसनजिक राखिएको साइरन आफैँ बज्नेछ । अब राखिने ‘रियल टाइम वार्निङ सिस्टम’ ले एसएमएसद्वारा सरोकारवालालाई हरेक दिन च्छोरोल्पा क्षेत्रको गतिविधिको सूचना दिनेछ । यसका लागि तत्काल त्यस क्षेत्रमा मोबाइल सेवाको पहुँच पु¥याउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले दोलखाको बुस्ती भीरकोटमा एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) को सहयोगमा तत्काल सूचना दिने प्रणाली रियल टाइम डाटा सिस्टम राख्न लागेको जलविज्ञ विनोद पराजुलीले जानकारी दिए ।
– सञ्जीव दाहाल
प्रतिक्रिया