स्वीट्जरल्यान्डका जोसेफ ब्लाटरको नेतृत्वलाई फुटबलको सर्वोच्च संस्था विश्व फुटबल महासंघ (फिफा) ले निरन्तरता दिएको छ । भ्रष्टाचार विवाद, आर्थिक तेजी (इकनोमिक बुम), तेस्रो विश्वको फुटबल दुनियाँमा प्रभावशाली उपस्थिति र फुटबलमा युरोपको फुस्किएको पकड ब्लाटर कार्यकालमा चर्चित प्रसंग बने । यी थुप्रै विवादका बाबजुद शुक्रबार भएको निर्वाचनमा जोर्डनका राजकुमार अली बिन हुसेनले दोस्रो चरणको निर्वाचनमा सहभागिता नजनाएपछि ब्लाटर पाँचौँपटक संसारको सबैभन्दा लोकप्रिय र सबैभन्दा ठूलो खेलसंस्थाको नेृतत्वमा निर्वाचित भए ।
गत शुक्रबार १५ जेठ (२९ मे) मा भएको पहिलो चरणको निर्वाचनमा ब्लाटरले एक सय ३३ र हुसेनले ७३ मत पाएका थिए । फिफा निर्वाचन प्रणालीमा पहिलो चरणमा कुनै पनि प्रत्यासीले दुई तिहाइ मत नपाए दोस्रो चरणमा सामान्य बहुमत पाउने निर्वाचित हुने व्यवस्था छ ।
सन् १९८८ को जुन ८ मा जाओ हाभलेन्जको उत्ताराधिकारीको रूपमा फिफा नेतृत्वको जिम्मेवारी सम्हालेका तत्कालीन महासचिव ब्लाटरको कार्यकालको सबैभन्दा महत्वपूर्ण पाटो भनेको तेस्रो विश्वमा फुटबलको लोकप्रियता हो । युरोप र दक्षिण अमेरिकामा लोकप्रिय फुटबल ब्लाटरको कार्यकालमा तेस्रो विश्वमा प्रभाव जमाउन सफल भयो । ब्लाटर कार्यकालमै विश्वकप फुटबलको सहभागी टोलीको संख्या २४ बाट बढाएर ३२ पु¥याइयो । यसले विश्वकप फुटबलको स्तर घटेको चर्चा चले पनि एसिया र अफ्रिकामा फुटबलप्रतिको आकर्षण बढ्दो रह्यो । ब्लाटरको पाँचौँपटकको जितमा यसको पनि प्रभाव देखियो । एसिया र अफ्रिका अन्तिम समयसम्म ब्लाटरको पक्षमा अडिग रहे ।
फिफाको एक सय ११ वर्षे इतिहासमा सबैभन्दा विवादास्पद निर्वाचनमा जित हात पारेपछि ब्लाटरले भने, ‘म अब सबैको अध्यक्ष हुँ ।’ उता पराजयपछि हुसेनले आफ्ना समर्थकलाई इंगित गर्दै भने, ‘म सबैलाई धन्यवाद दिन चाहन्छु ।’
एसिया र अफ्रिकाका साना राष्ट्रमा बलियो पकड राखेका ब्लाटर भन्छन्, ‘संसारमा कोही पनि पूर्ण हँुदैन । म पनि छैन । तर, हामी मिलेर अघि बढ्दै कमजोरी हटाउँदै जाने छौँ ।’
ब्लाटरले यो अभिव्यक्ति दिए पनि उनको अबको कार्यकाल सबैभन्दा कठिन रहने अनुमान गरिएको छ । जुरिचको होटलमा उपाध्यक्षसहित १४ जनालाई भ्रष्टाचारको अभियोगमा गिरफ्तार गरिएको दुई दिनपछि फिफाको निर्वाचन भएको थियो । ब्लाटरको जितले ८० का दशकका महान् फुटबलर तथा युरापेली फुटबल महासंघका प्रमुख मिचेल प्लाटीनीको साखमा ठूलो धक्का लागेको छ । तथापि युरापेलीहरू लगातार प्लाटीनीको पक्षमा एकमत रहेका छन् । प्लाटीनीले ब्लाटरको आलोचना गर्दै उनले पदत्याग गर्नुको कुनै विकल्प नभएको धारणा राख्दै आएका थिए । ब्लाटरको नेतृत्वमा युरोपेली राष्ट्रहरूले आसन्न विश्वकप फुटबल बहिस्कार गर्ने अनुमानसमेत हुन थालेका छन् । अमेरिकी क्षेत्रबाट म्याकडोनाल्डलगायत कम्पनीलाई फिफाका लागि प्रायोजन नगर्न दबाब सुरु भइसकेका छन् ।
ब्लाटरले भने फिफा सञ्चालनमा नयाँ स्कीम ल्याउने बताएका छन् । तर, युरोपेलीको उनीमाथिको आक्रोश घटेको छैन । ब्रिटीस एफ प्रमुख ग्रेड याढकले आफूहरूले कुनै महत्वपूर्ण प्रतियोगिता बहिस्कार गर्न आवश्यक नरहेको बताउँदै भन्छन्, ‘ब्लाटरले दुई वर्षभन्दा बढी अध्यक्ष चलाउन नै सक्दैनन् । १६ वर्षमा पुनर्निर्माण गर्न नसकेका व्यक्तिले अब सुधार गर्छन् भनेर कसरी पत्याउने ?’
विश्व फुटबलका चर्चित स्टारहरूले ब्लाटरको जित फुटबलको हार भएको प्रतिक्रिया दिएका छन् । पोर्चुगलका स्टार तथा पूर्व फिफा वर्ष खेलाडी लुइस फीगोले सन् २०१५ को फिफा कंग्रेसमा फुटबलले नै हारेको प्रतिक्रिया दिएका छन् । सुरुमा अध्यक्षको प्रत्यासी रहेका फीगोले हुसेनको समर्थनमा उम्मेदवारी फिर्ता लिएका थिए । उनले निर्वाचन सम्पन्न भएको दिनलाई विश्व फुटबलको कालो दिनको रूपमा व्याख्या गरेका छन् । इंग्लिस फुटबलका लिजेन्ड गेरी लिनेकरले सदस्य राष्ट्रहरूले फिफा छाड्दै वैकल्पिक बाटो रोज्नु उपयुक्त हुने प्रतिक्रिया दिएका छन् । ।
प्लाटीनीले भने परिवर्तनको पक्षमा एकमत रहेका युरोपेली राष्ट्रलाई धन्यवाद ज्ञापन गरेका छन् । यसैगरी, पराजित हुसेनले परिवर्तन एउटा घटना नभई प्रक्रिया भएकाले आफूले पाएको मतले परिवर्तनको प्रक्रिया सुरु भएको प्रतिक्रिया दिए । ८० का दशकका अर्का चर्चित खेलाडी डिएगो म्यारोडोना पनि निर्वाचन अघि नै ब्लाटरको विरुद्धमा आक्रामक रहेका थिए ।
मतदानअघि ब्लाटरले सन् २०१८ को विश्वकप आयोजनाको अवसर बेलायत तथा २०२२ को आयोजना अवसर अमेरिकाले नपाएका कारण आफूविरुद्ध ध्रवीकरण भएको प्रतिक्रिया दिएका थिए । ब्लाटरले अमेरिका र इंग्ल्यान्डले सन् २०१० मै दुई विश्वकप आयोजनाको एकैपटक घोषणा हुनुपर्ने माग गरेको दाबी गरे । प्यालेस्टाइनी समर्थकले इजरायललाई अन्तिम समयमा मताधिकार दिइएकोमा विरोध गर्नु निर्वाचनको अर्को एउटा चर्चित प्रसंग बनेको थियो ।
निर्वाचनअघि नै बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले ब्लाटरले उम्मेदवारी फिर्ता लिनुपर्ने धारणा व्यक्त गरेका थिए । उनले भने, ‘आफ्नो कार्यकालमा भ्रष्टाचार प्रकरण यहाँसम्म पुगेपछि पदत्याग गर्नुको कुनै विकलप छैन ।’ क्यामरनले ब्लाटरले पद त्यागेपछि फिफा पुनर्निर्माणको प्रक्रियामा अघि बढ्ने र यसले अर्को विश्वकपसम्ममा सबै ठीक हुने बताएका थिए ।
बेलायती फुटबल संघका प्रमुख जर्ज डायल प्लाटीनीको हरेक निर्णयलाई स्वीकार गर्नुपर्ने बताउँछन् । अमेरिकाको भ्रष्टाचार छानबिन आयोगले एचएसबीसी र बार्सीलिज जस्ता ठूला बैंकलाई पनि शंकाको घेरामा राखेपछि फिफाको आर्थिक प्रकरणले अझ ठूलो रूप लिने प्रस्ट भएको छ ।
ब्लाटरको फुटबल यात्रा
स्वीस नागरिक जोसेप ब्लाटर फिफाका आठौँ अध्यक्ष हुन् । उनी पहिलोपटक ८ जुन १९९८ मा फिफा अध्यक्ष भएका थिए । उनले सन् १९७४ देखि फिफा अध्यक्ष रहेका जाओ हाभलेन्जलाई प्रतिस्थापन गरेका थिए । उनले सन् २००२, २००७, २०११ र २०१५ को साधारण सभापछि अहिले पाँचौँपटक जित हात पारेका हुन् । अध्यक्ष हुनुअघि उनी सन् १९८१ देखि फिफामा महासचिव थीए ।
व्यवस्थापन र अर्थशास्त्रमा स्नात्तकोत्तर ब्लाटर सुरुमा स्वीस आइसहक्की महासचिवको रूपमा खेलकुदको दुनियाँमा प्रवेश गरेका थिए । उनी लोन्जिनाका स्पोर्टिङ तथा लेमिनाका निर्देशक थिए । उनी सन् १९७२ तथा १९७६ को ओलम्पिक खेलकुद आयोजनामा सक्रिय थिए । सन् १९७५ देखि १९८१ सम्म उनी प्राविधिक निर्देशकको रूपमा फिफामा कार्यरत थिए ।
उनको कार्यकाल भ्रष्टाचार प्रकरणले नै चर्चामा रह्यो । संसारका थुप्रै देशका राष्ट्रिय फुटबल निकाय भ्रष्टाचारको आहालमा डुबे । सन् २०२२ को विश्वकप आयोजनाको अवसर कतारले पाएपछि तेस्रो विश्वमा उनको लोकप्रियता बढ्यो भने युरोपेलीका माझ उनी अलोकप्रिय भए । उनका थुप्रै अभिव्यक्ति विवादमा रहे । दक्षिण अफ्रिकीका आदर्श पुरुष नेल्सन मन्डेलाको स्मृतिमा गरिएको मौनधारण कार्यक्रम एक मिनेट नबित्दै बीचैमा रोकिएपछि उनलाई व्यहोरा नभएको व्यक्तिको रूपमा चित्रित गरिन थालिएको थियो । सन् २०१२ मा महिला विश्वकप फुटबलको दौरान उनले सार्वजनिक रूपमा विरोधको सामना गर्नुपरेको थियो ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया