बाल्यकालमा गाईबस्तु चराउन वन जाँदा रुखका पात होस् या साना बाँसका मुरली–बाँसुरी बजाउने उनको बानी नै थियो । वयस्क उमेरमा भलै पात बजाउन छोडे पनि बाँसुरी भने उनको साथमा सधैँ रहिरह्यो जुन अहिले पनि कायमै छ । उसबेला गाउँका बुढापाकाले बजाएको बाँसुरीको धुन सुनेर मख्ख पर्ने उनी अहिले त्यसै विषयमा डिग्री गरेर बाँसुरी शिक्षालाई विस्तार गर्ने अभियानमा जुटिरहेका छन् ।
उनी अर्थात दुर्गाप्रसाद खतिवडा जो इलामको शान्तिपुर गाविसमा जन्मिई इलामकै कर्फोकमा माध्यमिक शिक्षा लिएर भारतको वनारस हिन्दु विश्वविद्यालयबाट शास्त्रीय संगीतअन्तर्गत बाँसुरीमा स्नातकोत्तर गरी अहिले यसै विषयको ज्ञान बाँडिरहेका छन् । पण्डित बाबु स्वर्गीय पदमलाल खतिवडाका माइला सन्तान दुर्गालाई उनका पिताले पण्डित नै बनाउन चाहेका थिए । तर, पिताको त्यो चाहना उनले पूरा गर्न सकेनन् । ‘गाउँको प्राकृतिक वातावरण र त्यसबाट निस्कने संगीतमा म सानैदेखि रमाउँथे, घाँस काट्न जाँदा रुखको पात बजाउँथे,’ उनी फ्ल्यासब्याकमा फर्किए, ‘मेरो ध्यान संगीतभन्दा अन्यत्र कतै गएन, रेडियोमा संगीतका धुन सुन्न कहिल्यै छुटाइनँ, बुबाले कराउनु हुँदा पनि रेडियो सानो पारेर कानमा ल्याएर सुन्थेँ ।’ गाउँमा रहेका एक जना राई बाजेले बाँसुरी बजाउन थालेपछि उनको ध्यान बाँसुरीतिर तानिएको रहेछ ।
शास्त्रीय संगीतबारे अनभिज्ञ भए पनि उनलाई बाँसुरी बजाउने हुटहुटीले कहिल्यै छोडेन । ०५० सालदेखि गितार, हार्मोनियमलगायतका शास्त्रीय बाजा बजाउन थालेका उनी त्यही वर्ष संगीत सिक्न भारतको मुम्बई पुगे । ‘तर, त्यहाँ संगीतको सिकाइको शुरुआत सोचे जस्तो भएन, मेहनत गरी संगीत सिक्न गए पनि त्यो पूरा भएन,’ उनले सम्झिए, ‘त्यसपछि त्यहाँबाट म नयाँदिल्ली आएँ, जहाँ आएपछि मात्र मेरो सपना पूरा भयो ।’ उनले नयाँदिल्लीमा निजी तवरमा पण्डित विदुर मल्लिकसँग ६ वर्ष र पण्डित नथिसिंहजी महाराजसँग दुई वर्ष शास्त्रीय संगीत सिके ।
गुरुहरूसँग शास्त्रीय संगीत सिके । उनले संगीतको पढाइचाहिँ ०५१ मा लखनउको भारतखण्डे संगीत विश्वविद्यालयबाट सुरु गरे । जुन विश्वविद्यालयबाट उनले संगीतमा आई म्युज र बी म्युज गरे । एम म्युजचाहिँ वनारस हिन्दु विश्वविद्यालयबाट पूरा गरे । यो सँगसँगै उनले उत्तर प्रदेश विश्वविद्यालयबाट आइएस्सीको कक्षालाई पनि निरन्तरता दिए । सुरुमा गायनको कक्षा लिए पनि संगीतको प्रथमा, मध्यमा हुँदै विरासदसम्म गरेपछि उनले अन्ततः बाँसुरीलाई नै साथी रोजे । सन् २००३ मा उनले संगीत संकायमा वनारस हिन्दु विश्वविद्यालयबाट एक नम्बरमा नाम नै निकाले । उनले पढाइबाहेक सन् २००० मा भएको अल इन्डिया युथ फेस्टिबलमा बाँसुरीतर्पm सर्वोत्कृष्ट बनेपछि तत्कालीन भारतीय राष्ट्रपति डा.एपिजे अब्दुल कलामबाट मेडल नै पाए भने सोही विश्वविद्यालयले आयोजना गरेको अन्तर संकाय संगीत कन्सर्टमा इन्स्ट्रुमेन्टल फ्ल्युटमा पनि उत्कृष्ट बने ।
अल इन्डिया युथ फेस्टिबल हुँदा उनको जीवनमा भएको एउटा घटना उनको दिमागमा ताजा स्मृति बनेर बसेको छ । ‘मुख्य प्रतियोगितामा छनौट हुनका लागि आयोजकले राज्य राज्य स्तरमा अडिसन जस्तो कार्यक्रम राख्थे, जसले राम्रो प्रस्तुति दिन्छ ऊ नै राष्ट्रियस्तरको प्रतियोगितालाई छनौट हुन्थ्यो,’ दुर्गाले भने, ‘विभिन्न राज्यबाट आएका प्रतिनिधिसहित मलाई लखनउको एक होटलमा राखिएको थियो, हलभित्र कार्यक्रम भइरहे पनि हामीचाहिँ कोठामा तयारी गरिरहेका हुन्थ्यौँ, मैले झोलामा विशेष सुरक्षाका साथ बाँसुरी राखेको थिएँ । बाथरुम गएर बाहिर निस्कदा मेरो पालो आएपछि झोला बोकेर स्टेजमा गएँ । निर्णायक र सयौँ दर्शकको अगाडि पुगेर झोला खोल्दा बाँसुरी हराएको थाहा पाएपछि मैले सबै ठाउँमा खोजेँ तर भेटिनँ । मलाई अन्य साथीहरूको बाँसुरीमा बजाउन भनिए पनि मेरो हातमा त्यो मिलेन ।’ आफ्नो प्रस्तुतिलाई ध्यानमा राख्दै निर्णायकले तीन दिनको म्याद दिएपछि उनले लखनउको सबै बजारमा नयाँ बाँसुरी खोजेछन् । ‘कतै नपाएपछि म राती नै बनारस पुगेँ । त्यहाँ बाँसुरी बनाउनेलाई अर्डर दिई बाँसुरी लिएर बिहानै लखनउ पुगी कार्यक्रममा बजाएँ ।’ उनले सम्झिए ।
दुर्गा बाँसुरी र नेपालको शास्त्रीय संगीत विषय पढाउनकै लागि नर्वेको अग्डेर युनिभर्सिटी, स्वीडेनको गोथेनवर्ग युनिभर्सिटी पुगिसकेका छन् भने डेनमार्क, जर्मनीमा पनि नेपाली शास्त्रीय संगीतको चर्चा गरिसकेका छन् । ‘म बाहिर जाँदा खास गरी पूर्वीय शास्त्रीय संगीतका विषयमा विद्यार्थीहरूलाई ज्ञान दिन्छु,’ उनी भन्छन्, ‘पूर्वीय शास्त्रीय संगीत र खासगरी नेपालको मौलिक लोक संगीतप्रति विदेशमा ठूलो चासो छ ।’
शास्त्रीय संगीतकै लागि बाँसुरी बजाएर जीविकोपार्जन गर्न नसकिने उनको बुझाइ छ । ‘शास्त्रीय संगीतसँगै अन्य संगीतका क्षेत्रमा रहेर काम गर्दा चाहिँ जीविकोपार्जनमा समस्या हुँदैन,’ उनको दाबी छ, ‘तर मैले एउटा लेभल बनाइसकेकाले म अन्य जस्तो धेरै ठाउँ जान सक्दिनँ ।’ दुर्गा हाल नेपाल म्युजिक सेन्टर, सिर्जना कलेज अफ फाइन आर्टसलगायतका संस्थामा शास्त्रीय संगीतसँगै बाँसुरीका विषयमा अध्यापन गराउँछन् । आप्नै प्रयासमा उच्च माध्यमिक शिक्षा परिषद्अन्तर्गतका प्लस टु कलेजको शैक्षिक पाठ्यक्रममा संगीतको विषयमा पढाइभइरहेको र त्रिविअन्तर्गतको स्नातक तहका लागि पनि पढाइको प्रक्रिया भइरहेको उनको दाबी छ । उनी पशुपति बाग्मती गंगासन्ध्या आरतीको संस्थापकमध्येका एक हुन् ।
आपूm बाँसुरी बजाउने भए पनि भगवान् कृष्णले बाँसुरी बजाएर गोपिनीलाई पट्याए जस्तो कुनै पनि युवतीलाई चाहिँ पट्याउन भ्याएनछन् । ‘मेरो बाँसुरीवादनबाट प्रभावित भएर युवतीहरू आकर्षित त थिए तर मैले आपैmले रोजेको युवती विवाह गरेँ ।’उनले हाँस्दै भने । आप्mनो बाँसुरीका विशेषतः महिला फ्यानलाई गाला, नारी, हातमा अटोग्राफ दिएको सम्झना दुर्गासँग ताजै छ ।
बाँसुरीको प्राध्यापक भए पनि उनले आपैले इन्स्टिच्यूट खोलेर कक्षाचाहिँ चलाएका छैनन् । ‘म संख्याभन्दा पनि गुणस्तरमा ध्यान दिने भएकाले त्यतातिर लागिन् ।’ उनी भन्छन् । लोक भाकादेखि आधुनिक हुँदै पाश्र्व संगीतसम्म बाँसुरीको प्रयोग हुने भएकाले यसबाटै जीविकोपार्जन गर्न सकिने उनको बुझाइ छ ।
बाँसुरीवादनसम्बन्धी किताब लेखिरहेका दुर्गाले ‘सन्तुष्टि’ र ‘शुभ सन्ध्या’ नामका दुई शास्त्रीय संगीतसम्बन्धी एल्बम श्रोतामाझ ल्याइसकेका छन् भने नर्वे र नेपाली शास्त्रीय संगीतको मिश्रण रहेको एक एल्बम पनि बजारमा आइसकेको छ । उनले करिब आठ वटा सर्ट मुभीमा बाँसुरीको धुन दिइसकेका छन् । उनले अध्यापन गराएका विद्यार्थीहरू उमेश पण्डित, विष्णु विक, रोशन पतुवार बाँसुरीवादनमै व्यावसायिक बनिसकेका छन् भने सन्तोष परियारचाहिँ हाल जापानमा छन् ।
प्रतिक्रिया