महाविपत्, क्षमापूजा र धार्मिक प्रार्थना

sangita_dahal२०७२ साल वैशाख १२ गते शनिबार र ऐ २९ गते मंगलबार गएको भूकम्पले सामान्य जनजीवनलगायत सिंगो राष्ट्र प्रभावित भएको छ । भूकम्प, बाढी, पहिरो, हुरीबतास, हिमपातजस्ता प्राकृतिक विपत्तिका कारण विज्ञान तथा भौगर्भिक शास्त्रका ज्ञाताहरूले बताउन सक्छन्, बताएका छन् । तर, त्यस्ता घटना कुन बेला घटित हुन्छ भनेर बताउन भने सक्दैनन् । प्रकृतिको यो नै रोचक पक्ष हो । हुन त हुरीबतास, बाढी, पहिरोजस्तो प्राकृतिक प्रकोप आउन सक्ने प्राकृतिक अनुमान कहिलेकाहीँ गर्ने अवस्था भए पनि भूकम्पको हकमा भने त्यस्तो सम्भावना कहिल्यै पनि हुँदैन ।

गएको भूकम्पले पु¥याएको मानवीय र भौतिक क्षति कहालीलाग्दो छ । मध्यकालीन सभ्यताको प्रतिविम्बको रूपमा रहेका ऐतिहासिक धरोहर क्षणभरमा नष्ट भए । त्यस्तै ऐतिहासिक महत्व भएका धरहरा, वसन्तपुर दरबारलगायत थुप्रै सम्पदा विनाश भए । लिच्छवीकालीन राजा मानदेव, अंशुवर्माले निर्माण गरेका क्रमशः मानगृह, कैलाशकुट भवनको वर्णन इतिहासमा भए पनि त्यसको भग्नावेशष कहीँकतै नभए जस्तै ऐतिहासिक संरचना दन्त्यकथाको अवस्थामा एक निमेशमा पुगे । ‘नेपालमा जति मानिस छन् त्यति नै मूर्ति छन्, जति घर छन् त्यति नै मन्दिर छन्’ भन्ने लोकोक्ति मल्लकालीन ललितकलाका कारण चलेको थियो । इतिहासको सम्मान गर्न नजान्ने कृतघ्न पुस्ताले पृथ्वीनारायण, भानुभक्तलगयात सालिक ढालेको थियो । त्यसैको बदला कतै प्रकृतिले लिएको त होइन ? भन्ने पनि लाग्छ ।
भूकम्पका कम्पन आउने क्रम जारी रहँदा मानवीय त्रास बढेको छ । त्यसमा पनि सामाजिक सञ्जालमा प्रवाहित भएको भन्दै फैलिएको अफवाहले अझ मानवीय त्रासको बढोत्तरी भएको पनि छ । मानवीय कानुन मानिसले निर्माण गर्छ । बदल्न सक्छ । मेट्न सक्छ । अझ शक्ति हातमा भएकाले त कानुन हातमा लिएर कानुनलाई कठपुतलीसरह नचाउन सक्छ । मानिसले जस्तै प्रकृतिले आफ्नो स्वाभाविक गति र नियमलाई अलिकति मात्र फेरबदल गर्दिने हो भने मानिस जति निरीह र असहाय अरू कोही पनि बन्दैन ।
त्यसैले हिन्दू दर्शनले मानिसलाई प्रकृति अनुकूल जीवन बिताउन ऋतु चर्चाको कुरा गरेको छ । अष्टांगयोगको मार्गदर्शन निर्धारण गरेको छ ।
आधिभौतिक, आधिदैविक र आध्यात्मिक तीन किसिमका ताप अर्थात् दुःख मानिसमा आउने उद्घोष पनि गरेको छ । अतिवृष्टि, अनावृष्टि, आँधी, पहिरो, बाढी, भुँइचालोजस्ता प्राकृतिक विपत्लाई आधिदैविक दुःखको रूपमा परिभाषित गरेको छ । परा र अपरा प्रकृतिको कुरा मात्र होइन, शरीर र शारीरिक कुरा हिन्दू दर्शनमा नै पाइन्छ । त्रितापबाट बच्नका लागि पुराणमा वर्णित कथाका माध्यामबाट मानिसलाई संयमित र अनशासित जीवन बिताउन निर्देश गरेको पाइन्छ । श्रीमद्भागवत पुराणमा आउने राजा परीक्षित र कलिसम्वादको प्रसंग स्मरणीय छ । राजा परीक्षितसँग कलिले आफूले बस्न केही ठाउँ पाउने आग्रह गर्छ । जसमा सुन, घरलगायत आदि कुरा पर्छन् ।
कलिको माग पूरा गरेका परीक्षितले लगाएको श्रीपेचमा भएको सुनमा कलि बसेको हुनाले उनमा पनि कलिको प्रभाव पर्छ । त्यसैले, ध्यानमा बसेका ऋषिको शरीरमा मरेको सर्प बेरिदिन पुग्छन् । पछि ऋषि पुत्र आएर त्यो दृश्य देखेपछि श्राप दिन्छन् । जसले मेरो बाउको शरीरमा मरेको सर्प फ्याक्यो, त्यसको सात दिनभित्रमा तक्षक नागले डसेर मृत्यु होस् भन्छन् । आफ्नो बाँकी जीवनको सात दिनको सुधारमा लाग्ने नै अन्ततः राजा परीक्षित श्रीमद्भागवतको श्रवण गर्न पुग्छन् । यो कथा स्वयंले धेरै कुरालाई इंगित गर्छ । भागवतको यो प्रसंगले जहाँ अहंकार छ, त्यहाँ विनाश छ भन्ने कुराको बोध मात्र होइन, आइतबारदेखि शनिबारसम्म सात बारभित्र नै मानिसको मृत्यु पनि छ भनेर अर्थपूर्ण रूपले बोध गराउने कोसिस पनि गरेको छ । त्यस्तै, घरमा कलि बस्ने भन्ने कुराको अथर्ग अहिलेको ठूला भवनको अवस्थाले गराएको छ ।
हिन्दू दर्शनले धर्मको कुरा मात्र नगरेर जीवन पद्धतिको चर्चा पनि गर्छ । जीवन जिउने कला पनि सिकाउँछ । यसै दर्शनमा धर्म र कानुनलाई एकअर्काको पर्यायवाचीका रूपमा लिइएको छ । जहाँ धर्मको पालना हुँदैन अर्थात् कानुनको अवज्ञा गरिन्छ भने मूल्य कठोर हुने चेतावनी पनि दिइएको छ ।
त्यसैले, खप्तड स्वामीले आफ्नो धर्मविज्ञान नामक पुस्तकको पहिलो खण्डमा सामूहिक अधार्मिक आचरणले पार्ने प्रभावबारे उल्लेख गरेका पनि छन् ।
स्वामीले महर्षि चरकको हवाला दिँदै लेखका छन्, ‘अधर्म र असत कर्मको मूल जरो प्रज्ञापराध नै हो । जुन बेला देश, नगर र निगमका प्रमुख अधिकारीहरू धर्मको उल्लंघन गरेर प्रजासँग अधर्मको व्यवहार गर्छन् । त्यस स्थितिमा तिनीहरूका आश्रित र आशामुखी तल्लो तहका कर्मचारी र कामदारहरू, जनपदका बासिन्धाहरू तथा व्यापारीहरू अधर्म फैलाउँछन् । त्यस अधर्मले धर्मलाई जबर्जस्ती छोप्छ ।’
जब मानिसमा धर्म लोप हुन्छ र उनीहरूमा अधर्मको प्रधानता कायम हुन आउँछ, तब उनीहरूका अनेकौँ रक्षक आधिभौतिक तथा आध्यात्मिक देवताहरू उनीहरूलाई त्यागिदिन्छन् । ऋतुहरूको स्वभाव बदलिन्छ । यथा काल वर्षा हुँदैन अथवा पानी नै पर्दैन या विकृत वर्षा भएर बाढी आउँछ । अझ अगाडि स्वामीले लेखका छन्– वायु विकृत भएर चल्छ, पृथ्वी विपन्न हुन्छ । पानी सुक्छ । औषधिहरू आफ्नो स्वभाव छाडेर विरुद्ध गुण भएका हुन्छन् ।
धन र शक्तिको मद बढेपछि अरूको अनादर हुने गर्छ । त्यसपछि अपहेलितको श्रापले यदुवंशीसरह एकैपटक जरोसहित नष्ट हुने कुरा पनि पुस्तकमा स्वामीले लेखको पाइन्छ । आज नौ महिनादेखि बबुरा नन्दप्रसाद अधिकारीको शव दाहसंस्कार नगरिकन शिक्षण अस्पतालको शवगृहमा लडिरहेको छ । शवलाई बासी राख्नु हुँदैन । प्रेतात्मा जाग्छ । त्यसैले बाँचेकालाई पिर्छ भन्ने सामाजिक मान्यता थियो । यो कति सत्यतानिकट छ । त्यो त थाहा छैन । तर, शव जलाउने संस्कार पद्धतिको सम्बन्धमा सन्तदर्शन नामक आफ्नो पुस्तकमा अरुण स्वामीले ‘मानिसको शरीर मृत्युपश्चात् जलाइन्छ । जलाएपछि शरीरको बायोप्लाज्मा बिस्तारै आकाशमा लोप हुँदै जान्छ । साधारण मनुष्य आफ्नो शरीरको मोहमा परेमा उसको मृत्युपश्चात्को यात्रामा बाधा आउँछ भनी शरीर जलाइने चलन चलेको हो’ भनेर लेखका पनि छन् ।
ईश्वर मान्ने वा नमान्ने अधात्मवादी र भौतिकवादीको अन्त्यहीन विवाद छ । तर, ईश्वरमाथि विश्वास राख्ने हिन्दू बाहुल्य भएको देश नेपालका आराध्य देव पशुपतिनाथको आदर वा अनादर के भएको छ ? भक्तले भगवान्लाई चढाउन भनी लगेका पूजा सामग्री डोकामा हाल्दा भक्तको मन विह्वल हुन्छ नै । त्यसका साथै पशुपतिको विम्ब डोको हुँदैन । यस कुरालाई सरोकारवालाले गम्भीरतापूर्वक लिनुपर्छ किनकि शिवजीको उग्रतालाई थाम्ने सामथ्र्य कसैमा हुँदैन भनेर धर्मशास्त्रले भनेको छ ।
कुलायनको कुरा पनि आउँछ । एकअर्काको कुलायन कसैले हस्तक्षेप नगर्ने हाम्रो सामाजिक परम्परा थियो । त्यसमा ह्रास आएको छ । न्याय पाइन्छ भन्ने विश्वास पनि मानिसमा हराउँदै गएको छ । देशका अभिभावकहरू निष्पक्ष हुनुपर्नेमा तेरोमेरोमा लागेको आमगुनासो निक्कै पुरानो भइसकेको छ । त्यसैले, अहिलेको प्राकृतिक विपत् प्रकृतिले दिएको ठूलो शिक्षा हो । यसलाई ग्रहण गरेर सबैले मानसिक प्रायश्चित गर्नुपर्छ जस्तो लाग्छ । त्यसैले, पूजाअर्चना, होम, यज्ञादि जनस्तरमा भइराखेका पनि छन् । ‘प्रकृति मानिसका लागि चिन्तनको विषय हो’ भन्ने पाइलट बाबाले ‘मानव विज्ञान जहाँ समाप्त हुन्छ, त्यहीबाट अध्यात्म विज्ञानको प्रारम्भ हुन्छ’ भनेका पनि छन् । राष्ट्रिय विपत्पछि जे जति धार्मिक रूपमा क्षमा प्रार्थना भइसकेका छन्, त्यसलाई यसै अर्थमा बुझ्नुपर्छ जस्तो लाग्छ ।

प्रतिक्रिया