श्रीमतीले आश्रम छाड्न नमानेपछि …

baba-zकाठमाडौं, १४ जेठ । ललितपुर बागडोलमा कोठा भाडामा लिई आश्रम सञ्चालन गर्दै आएका सूर्यबहादुर राणा आफूलाई ब्रह्मचारी बताउँछन् । लगभग पाँच दशक जीवन भोगेका उनी आफूले बाल्यकालमै सन्न्यास ग्रहण गरेर ब्रह्मचारी भएको बताउँछन् ।

आफूलाई स्वयं बाबाका रूपमा प्रस्तुत गर्ने राणाले घरेबटीको परिवार नै तहसनहस पार्न खाजेपछि प्रहरी फन्दामा परेका छन् ।

श्रीमतीले राणाकै सुरमा लागेर पारपाचुके गर्ने र सन्न्यास धारण गर्ने अडान लिएपछि यो प्रकरण प्रहरीसम्म पुगेको हो ।

दुई वर्षअघि मासिक २५ हजार रुपैयाँमा भाडामा कोठा लिएर आश्रम सञ्चालन गरिरहेका राणाकहाँ घरबेटीकी श्रीमती नियमित ध्यान गर्न आउन थालेको तीन महिना भएको छ ।

१२ वैशाखमा गएको भूकम्पपछि भने घटनाले अर्कै मोड लियो । घरबेटी बस्ने गरेको अपार्टमेन्टमा क्षति पुगेपछि घरबेटीका श्रीमान् श्रमतीकै नाममा रहेको पुरानोे घर (आश्रमका लागि भाडामा दिएको) मा आवतजावत बढ्यो ।

एक महिना बितेपछि त घरबेटीको सम्बन्धमा यसले दरार नै उत्पन्न गरायो । उक्त घर श्रीमतीको नाममा छ ।

बाबा भनिने राणाको प्रभावमा परी श्रीमतीले पारपाचुके गर्ने तथा सन्न्यासी भएर हिँड्ने कुरा गर्न थालेपछि यो प्रकरण प्रहरीसम्म पुगेको हो । यिनीहरूका ६ वर्षीय छोरासमेत आमासँगै बस्ने र सन्न्यासी हुने अड्डी कस्छन् ।

राणाले १० महिनाको भाडासमेत तिरेका छैनन् । राणा भने सबै भाडा घरबेटीकी श्रीमतीलाई बुझाउने गरेको बताउँछन् । १० महिनाअघिसम्म भाडा लिँदा श्रीमान्ले हस्ताक्षर गरेर भाडा लिने गरेका थिए ।

बाबाको रूपमा बस्ने राणाले चेलीका रूपमा तीन किशोरी पनि साथमा राखेका छन् । ती तीनमध्ये एक किशोरीलाई पनि प्रहरीले छानबिनका लागि बोलाएको छ ।

राणा भने श्रीमती घरमा दुःखी भएका कारण आश्रममा बस्न चाहेकाले आफ्नो कुनै दोष नभएको बताउँछन् ।

टोलवासीले समाएर सानेपा प्रहरीचौकीमा बुझाइएका राणा बेलुका सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ललितपुर लगिएको छ । घर मालिक्नीलाई राणाले टुनामुना लगाएको हुनसक्ने अनुमानको आधारमा आफन्तले झारफुक गर्न लगेका छन् ।

प्रतिक्रिया