संसारको खुसीलाई एक निमेषमै ध्वस्त पारिएका ती क्षणहरूबाट म पनि अछुतो रहिनँ । सायद कमै होलान । आज आएर सोच्दै छु । सोच्ने शब्दसम्म पनि बाँकी रहेन । डर र कहालीलाग्दो प्राकृतिक प्रकोपले दोष लगाएको छु– प्रकृतिलाई आफू बच्नुमा, जिउनमा र ती हजारौँ मनहरूको अन्त्य गर्नुमा पनि अनि जीवन मरणको दोसाँधमा उभिएका हजारौँ मनलाई । हुन त जन्मेपछि मर्नु अवश्य छ । नयाँ पुराना लाभ हुने उत्पत्ति हुने एउटा नियम नै रहेछ संसारको । हजारौँ क्षणमै रुने कराउने, खुसी हुने, आत्तिने, मात्तिने यस्ता क्रियाकलापहरू हेर्दा लाग्छ, विनानिर्देशन कुनै एउटा फिल्म चलिरहेको छ र यसको ‘एक्सन, कट’ भन्ने ठाँउ नै छैन । त्यसको दायरामा म पनि त छु । अनि कुन चाहिँ प्राणी अछुतो छ होला र ?
मैले पीडाका यात्राहरूलाई समाचार बनाई शब्दमा लेख्न सकिनँ । हुन त मैले केही गर्न सकेकै छुइन, न त खुसीकै समाचार पनि लेख्न सकेँ । आजको दिनसम्म आफूलाई धिक्कार गर्न आफैँ त पछि परिनँ भने अरूले के पो भन्लान् । हो जे भनून्, मैले आज विवशतासाथ स्विकार्नु पर्छ । पहिला मेरा हजुरबुबाले भन्नुहुन्थ्यो भूकम्पका कथाहरू । मैले सोध्थेँ, ‘हजुरबुबा ! त्यत्रो घर भत्किँदासम्म पनि तपार्इंले आफ्नो सामानसमेत आमा झिक्न सक्नु भएन ?’ मैले सोधेको यो प्रश्नको उत्तरमा उहाँको आँखाबाट आँसु बगेको देखेर म भने हजुरबुबा रुनुभयो भन्दै गिज्याइरहन्थेँ । घन्टौँघन्टासम्म आज त्यो दिनको याद आलो भएर आएको छ । यो भूकम्पले मेरो बाल्यकाल स्मरण गराउन आएको आभाष यतिबेला महसुस गरिरहेको छु ।
यसरी हजुरबुबाले १९९० मा आएको भूकम्पमा आमा गुमाउनुभएको त्यो दिन पनि सायद यस्तै दिनहरू हुनुपथ्र्यो । संसारमा कसले भन्न सक्ला, अबका दिनमा के होला ? समय घडी भए त ब्याट्री झिकेर राख्थे हुँला । यस्तो हेर्न चाहन्थेँ हुँला । तर, मेलै सोचेको सबै भ्रम भन्दा फरक नपर्ने पो रहेछ । आज आएर याद भयो, अस्ती मेरो हजुरबुबाले सुनाएको कथाभन्दा पनि ठूलो कथा त मैले कसलाई सुनाउने हो ? हजुरबुबाका त नाति थिए, मेरो कसले सुन्ला ? फेरि मैले पनि कसैलाई सुनाउँला । ती सुनाउनै नसक्ने आवाजहरू सुन्ला कसले ? मलाई आज आएर आफू नै लाचार भएको महसुस भइरहेको छ किनकि मैले ती आवाजहरू सुनाउने एउटा मात्र कसैको निर्देशन पाएको थिएँ । उनिहरूको पीडाका दिनहरूलाई मैले आफ्नो समाचार शब्दमा लेख्नुपर्ने थियो तर सकिनँ । त्यो दिन म आफूले लेखेको समाचार पनि त पठाउन पाइनँ । त्यसदिन मैले यी पीडाका मनहरूको समाचार लेख्न त के उनीहरूको पक्षमा सोच्नसमेत समय पाइनँभन्दा फरक नपर्ला ।
अब मलाई केही गर्नु छैन । हार खाएको शब्दमा कसैले बोलेका यस्ता अनगिन्ती शब्द छताछुल्ल छन् । जम्मा गर्ने सामथ्र्य कसैमा देखिँदैन । स्वागत गरेपछि उसैले बिदाइ गर्ने नियम रहेछ तर स्वागत गर्नेले बेइज्जत गर्दा कसको चित्त बुझ्छ र ? चित्त बुझ्ने ठाँउहरू भए पनि अरूलाई हेर्नुपर्ने रहेछ तर आँखा किन यति कमलो भएको होला कि हेर्ने बित्तिकै अचानक अविरल आँसुका धाराहरू बहन्छन् ? हो, म गलत यसकारण छु– मैले यथार्थलाई ती समाचारका भाषाहरूमा प्रस्तुत गर्न सकिनँ ।
सत्य कुराहरूलाई काल्पनिक भाषामा प्रस्तुत गर्न कठिन हुन्छ । तर, सत्यको नजिक आफैँ रहँदा पनि झन ठूलो दुर्दशा पर्न आएको छ । पहिला आफू बच्नतिर ध्यान केन्द्रित हुने रहेछ । आपूm भाग्दा मैले केही सोचिनँ, म बाहेक कयौँहरू यस संसारमा छन् । उनीहरूको भविष्य के पो भए होला ?
मानिस जत्ती शक्तिशाली छ भनिन्छ तर त्यो भन्दा शक्तिशाली प्रकृति नै छ भन्ने कुरा प्रमाणित भएको छ । पीडापछि मलम लगाउने बहानामा गरेका राहतरूपी राजनीतिक गतिविधि नौटंकी हो भने वास्तविक पीडितको नाम जोडेर आफ्नो दुनो सोझ्याउनेहरूको पनि भिड उस्तै छ । राहत कसलाई कति केको आवश्यकताको पहिचान हुनुपर्ने, त्यो भएन बरु बासको सट्टा एक प्याकेट चाउचाउ दिनेहरूले चर्चाको पछाडि नलागेको भन्ने आधार के छ ? तीन बक्सा चाउचाउ, सात बोरा चामल र नुन लिएर पाँच जनालाई वितरण गरेर सबैले पाए भन्नु अकर्मण्यता हो ।
हुन त नेपाली संस्कृतिमा भन्ने चलन छ, माग्नेलाई तातो भात रे ! त्यस्तै बन्दै छन् राहतका गतिविधिहरू । हुन त कसैलाई चित्त नबुझ्ने रैछ– डाडु ,पन्यूँ आफ्नो हातमा हुनै पर्ने नेपाली समाजको चारित्रिक विशेषता नै हो भन्दा फरक नपर्ला । तर, मैले जे भने पनि म आफूले आफ्नो ठाँउबाट केही गर्न नसकेकै हो । दोष र लान्छना लगाउँदै पन्छिन सक्दिनँ । त्यसैले त म यहाँहरू समक्ष खुला रूपमै क्षमा चाहन्छु किनभने मैले एक मुठी राहत बाँडेर एक ट्रक प्रचार खोज्ने प्रवृत्तिसमेत अनेकका समाचारलाई शब्दमा पोख्नै सकिनँ !
प्रतिक्रिया